सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्याग्दीमा बाढीले पुल बगाएपछि आवतजावत बन्द


  • माउन्टेन खबर
  • बुधबार, साउन १८, २०७९
  • 323
    SHARES

१८ साउन, काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ । शिवरात्रि र भारवाङ बस्तीको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो ।

विसं २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल (साँघु) बनाइएको थियो । भारवाङको जन्मभूमि युवा क्लबका अध्यक्ष प्रवीन जुग्जालीले अस्थायी पुल पनि बगाएपछि आवतजावत बन्द भएको जानकारी दिनुभयो । “भारवाङगाउँ सडक र पैदलमार्गबाट सम्पर्कविच्छेद हुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “खोला तर्न नसकिने भएकाले वडा र पालिकाको केन्द्र, विद्यार्थीलाई विद्यालय जान आउने बाटो बन्द भएको हो ।”

धवलागिरि गाउँपालिकाको कल्लेनी, छहरी, बाँसबोट, खाम्ला, खारा, खिवाङ, मुदी, बगर, चेचुङ, नाउराका बासिन्दा दरवाङ हँुदै जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न यही बाटो प्रयोग गर्छन् । म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङबाट भारवाङ हँुदै धवलागिरिको वडा नं ६ र ४ का नौवटा बस्तीमा यही बाटो भएर खाद्यान्न ढुवानी हुने गर्दथ्यो ।

भारवाङका १५, कल्लेनी, छहरी र बाँसबोटका ४० घरधुरी पुल नहुँदा प्रत्यक्ष समस्यामा परेका छन् । सबैभन्दा ठूलो समस्या विद्यालय जाने बालबालिकालाई पर्ने देखिएको छ । बर्खे बिदा सकिएपछि उर्लँदो भेल पार गरेर बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने चिन्ता भारवाङवासीलाई परेको छ ।

मराङखोला म्याग्दी नदीको सहायक नदी हो । बाढी आएकाले यहाँ जङ्घार तरेर वारपार गर्न सकिने अवस्था छैन । भारवाङका करिब २० बालबालिका नौमानेको शिव आधारभूत र बिमको किसानी माविमा पढ्छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मराङखोलामा बाढीको सतह नघट्दासम्म आवतजावतको व्यवस्था मिलाउन सकिने उपाय नभएको बताउनुभयो ।

“खोला ठूलो भएकाले तत्काल केही गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “भारवाङका बालबालिकालाई बिम र नौमानेमा राखेर विद्यालय पढ्ने व्यवस्था मिलाउने सोचेका छौँ ।” खोला वारपार गर्न नसकिने हुँदा धारापानी र मराङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)