३ भदौ, काठमाडौं । तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी रु तीन करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो । टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । ढिलासुस्ती भइरहेको कामलाई निरन्तर निगरानी तथा खबरदारी गरेसँगै टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्रामस्थल बनिसकेको नगरप्रमुख श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “दुई वर्ष अगाडि नै सक्नुपर्ने काममा निरन्तर ताकेता गरेपछि अहिले दुबो रोपण कार्य सकिने क्रममा छ, यसले तानसेनको थप सुन्दरता थप्नेछ ।” विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य सङ्घको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो । अहिले यहाँ ७४ मिटर चौडाइ र एक सय नौ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ ।
