शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बिदाइ (घाउ आँफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शुक्रबार, अशोज २१, २०७९
  • 587
    SHARES

बिदाइ

मेरो बुझाइमा बिदाइ नयाँ थालनी हो, एउटा यात्रा वा वृत्तिबाट अर्कोतर्फको प्रस्थान विन्दु हो । बिदाइ यात्राको अन्त्य होइन, हुनु पनि हुँदैन । यसलाई स्तब्धतामा सोचिनु हुँदैन । बिदाइले स्तब्धता दिने हो भने बिदाइ नआएकै बेस ।

बिदाइ आकस्मिकता होइन, नियमित प्रक्रिया हो । बिदाइ नहुँदो हो त आरम्भ नै हुने थिएन । समयले पल पल व्यक्ति÷घटनाका रूपमा हामीलाई बिदाइ गर्छ । समय आफै बिदाइको क्रम हो । पछिल्लो पलले अगिल्लोलाई धकेलेर बिदाइ गर्छ । त्यो अघिल्लो अर्को पलमा फेरि पछिल्लो बन्छ र यो क्रम निरन्तर छ । पलहरूको समूह घडी, घण्टा, दिन, महिना, वर्ष, जुग सबै ठूलो–सानो बिदाइमा रहन्छन् । यी सबै समयमा आयतन हुन्, हामीले बुझ्नलाई नाम दिएको हो, जो नियमित यात्रा वा बिदाइका सिलसिला हुन् । त्यसैले बिदाइ नियमितता हो, बिदाइ नियात्रा हो, बिदाइ नियति पनि हो । समय छ त बिदाइ छ, समयलाई कसले समाउन÷छेक्न सकेको छ र बिदाइ नहुनु ?

बिदाइ ठूला वा साना हुन्छन् । लामो यात्राको बिदाइ पनि ठूलै हुन्छ, छोटो नियात्राको सानो । यसरी लिइनु पनि हुन्न, बिदाइ ठूलो वा सानो हुन्न । बरु बिदाइको क्षेत्र र प्रभाव चाँहि सानो वा ठूलो होला । अर्थ र अनुभूतिका आयतनहरू लामा वा छोटा होलान् । लामो नियात्राका धेरै अनुभूति, त्यसका आवेग र साम्वेगिक सम्बन्धका कारण बिदाइले व्यक्तिलाई भावावेगमा पु¥याउने गर्दछ । बिदाइका क्षणहरू भावुक हुन्छन् र बिदाइपछिको यात्रालाई पनि भावातिरेकमा पु¥याइदिन्छन् । बिदाइले व्यक्तिलाई टक्क रोक्दैन, फेरि अर्को यात्रातर्फ धकेलिहाल्छ र ती भावुक क्षणहरू विस्तारै धूमिल हुने विस्मृतितर्फ लाग्छन् । यो यात्राको भनौं वा बिदाइको विशिष्ट प्रवृत्ति हो । मैले लिएका दर्जनौं औपचारिक बिदाइको निचोड हो यो ।

जीवनका दैनिकीजस्तै घटनाहरू मनभरि बह जमाउने बिदाइ हुन्छन् । सम्झनाको खात पल्टाउँदै गएँ । सम्झनसक्ने जति सम्झे, सायद दुई–ढाई वर्षको थिएँ होला । विवाहपछि दिदीलाई बिदाइ गर्दा डाकै छाडेर रोएँ । जन्ती फूलपाती भन्ज्याङ् पुगिञ्जेल पर्खाल चढेर हेरेर रोएँ । जापानमा कान्छो भाइसँग आकिहावारामा यात्रा बाँडिदा मनमनै रोएँ । उसलाई थाह नदिएर रोएँ । भाइ देव अमेरिका जाँदा विमानस्थलको बिदाइमा गगल्चिएर रोएँ । शुभम र सुव्रतलाई शिक्षाका लागि अमेरिका पठाउँदा देखिने गरी रोएँ । शशिकाका र युवदाजुले कमजोर नबन्न सम्झाउनु भो । कानपुरबाट बसाइँ सर्दा आँसु पोख्न नसक्ने गरी रोएँ, कानपुरदेखि बनेपासम्म रोएँ । प्रमोशन भएर अफिस सर्दा बिदाइ गर्नेसँग रोएँ । यस्ता धेरै बिदाइहरू मनले स्वीकृति दिएका बिदाइ थिए । तैपनि बिदाइ भावुक हुन्छ । बिदाइमा मन गाँठो पर्छ र देखिएर वा नदेखिएर मन रुन्छ । मन छ कि छैन, तैपनि मन रुन्छ । मन नभएको पाषाण पनि मानिस हुन्छ र ?

बिदाइ यसकारण पनि दुःखी हुन्छ कि बिदाइले सहयात्रीसँग अलग्याउने गर्छ । लामो वृत्तिबाट हुने बिदाइमा धेरै सहयात्रीहरूसँग छुट्टिनु पर्ने विवशता हुन्छ । सहयात्रा छुट्नुको अनुभूति निकै दुःखद हुन्छ । यात्रामा साथ दिने सहयात्री छुटेर अर्को यात्रा र सहयात्री तय गर्नुले बिदाइलाई भावुक बनाउँछ । तर बिदाइ विशिष्ट नै रहन्छ ।

यात्राका सहभागीहरू सबै सहयात्री हँुदैनन्, हार्दिकता साँट्दैनन् । यात्रामा अवरोध पु¥याउँने, यात्राका अवसर आफै लिने र जोखिमहरू अरूतिर पन्छ्याउने प्रवृत्तिका सहभागी धेरै हुन्छन् । उनीहरूका अवरोध र त्यसका प्रभावले पनि यात्रीलाई छुट्टै संवेग र शक्ति दिन्छ । सहयात्रामा लखेट्ने, तगारो तेस्र्याएर अवसर लिनेहरूबाट पनि यात्री शिक्षा र सन्देश लिन्छ, शक्ति र साहस बटुल्छ । कति साथीले त यात्रामा जानाजान बेवास्ता पनि गरे । जोसँग जे, जति र जस्तो छ त्यही अरूलाई दिने हो वा नदिन लुकाउने हो । दुवै सन्दर्भ यात्रीका लागि सन्देश र शिक्षा हुन्, अवसर र अनुभूति हुन् । त्यसैले यात्राभरि अवरोध र ईष्र्या गर्ने पनि सहयात्री नै हुन् । उनीहरूप्रति बिदाइमा र पछि पनि अनुदार हुनुहुँदैन । ईष्र्यालु र अवरोधीलाई विश्वास गर्नु पनि आफैप्रतिको विश्वास हो, आफ्नै कर्मप्रतिको विश्वासिलो बन्नु हो । विश्वासको ऊर्जामा सिर्जनाको शक्ति हुन्छ भन्ने ठानँे र कर्मले विश्वास बढाउन लागेँ । लाग्यो, विश्वासकै जगमा विश्व निर्माण हुने हो । म विश्वासमा संधै उदार हुनुपर्छ र मायाको मनले सबैलाई आफैतिर खिच्नु पर्छ ।

वृत्ति यात्रामा सुखद–दुःखद अनुभव हुने नै भए । यात्रामा धेरै लखेटिएँ, खेदिएँ, धकेलिएँ पनि तर अरूलाई लखेट्नु, धकेल्नु र खेद्नु हुन्न भन्ने चेतले सबैलाई सहयात्री सम्झेँ । बदला सोचको साँटो सिर्जना र कर्ममा यात्राका कठिनतम मार्गहरूमा हिड्ने प्रयास गरेँ । र, सोचेँ समर्पणमा सतत रहन सके यात्रामा स्वतः शुभशक्ति पाइन्छ, ईष्र्या र आरिसहरू शुभकामना र आशीर्वादमा बदलिन्छन् । अवरोध गर्नेहरूमा सत्सोच हुँदो हो त शुभशक्ति उनीहरूतिरै फर्कने थिए । यात्रा कति रमाइलो हुने थियो । आखिर सहयात्रा त सङ्घर्ष र साहसको पनि सहकार्य हो नि । हामीहरूमध्ये धेरैले यो यात्रासत्य कहिले बुझ्ने हौंला ?

बिदाइलाई एकपटक सङ्गीतको झङ्कारसँग तुलना गरेँ । सङ्गीतको स्थायी सकिएपछि अन्तरा आउँछ । भनौं, स्थायी बिदा भएपछि अन्तरा आउने हो । स्थायीले नै अन्तराको सङ्केत गरिसकेको हुन्छ । अन्तराचाँहि स्थायीको पृष्ठभूमिमा हुन्छ । स्थायी नभए अन्तरा हुँदैन । यात्रा नभए बिदाइ नै हुँदैन, बिदाइ नभए अन्तरारूपी अर्को यात्रा आरम्भ नै हुँदैन । अन्तरा पनि सकिएपछि गायन सकिन्छ तर सकाइपछि पनि सङ्गीतका मधुर स्वरहरू परिवेशको स्पर्शमा रुमलिएर रहन्छन्, रगमगिएर बस्छन् र लामो अन्तरालपछि विस्मृतिमा बिलाँउछन्् । तर व्यक्त÷अव्यक्त प्रभावहरू श्र्रोतामनसम्म गहिरिएर रहन्छन् । बिदाइ यस्तै प्रभाव हो, स्मृति हो, विस्मृतितर्फ दौडिने स्मृति र कुनै दिन सकिने जीवन हो ।

कर्मको लामो यात्रामा संस्था र व्यक्ति नछुटिने गरी मितेरी लगाउँछन् । अन्ततः व्यक्ति नै संस्था बन्छ । व्यक्तिको क्षमता, काम, उपलब्धि, अनुभव र अनुभूतिहरू संस्थामा समाहित हुन्छन् । त्यस अवस्थामा बिदाइ निकै कष्टकर हुन्छ । संस्थाका लागि पनि, व्यक्तिका लागि पनि । व्यक्तिका लागि पनि वृत्तिका लागि पनि । व्यक्तिले संस्थाप्रति न्याय गरेको छ र व्यक्तिले वृत्तिलाई न्याय गरेको छ भने बिदाइ झनै विदारक बन्छ । संस्था र वृत्ति बोल्न नसक्लान्, बिदाइमा यिनीहरू झनै भावुक हुन्छन् । वृत्तिको काम व्यक्तिको समर्पणले लिने हो, व्यक्तिलाई वृत्तिले पहिचान दिने हो । त्यसैले व्यक्तिले वृत्ति र वृत्तिले व्यक्तिलाई बिदाइ गर्दाको क्षण पीडामय हुन्छ, त्यतिखेर पूरै परिवेश अश्रुत हुन्छ, चराचर, वनस्पति, जीवनिर्जीव आफ्नै भाषामा भक्कानिएका हुन्छन्, आकाश पनि उराठिलो हुन्छ, हावाका मधुर झोक्काहरू टक्क अडिन्छन् र सबै रुन्छन् । भाषामा देखिने रुवाइ त यसको सानो आयतन मात्र हो, भावको रुवाइ निकै चोटिलो हुन्छ ।

भनिएला, वृत्तिबाट व्यक्ति बिदाइ (निवृत्त) हुँदैन । प्राध्यापक खगेन्द्र लुइटेलका भनाइमा प्राध्यापक पूर्व हुँदैन, प्राध्यापक बनेपछि सँधै प्राध्यापक हो । डा. राम उप्रेतीका भनाइ पनि त्यस्तै छन्–डाक्टर कहिल्यै निवृत्त हुँदैन । सही हो, संस्थासँगको औपचारिक सम्बन्ध र अन्तरक्रियाको मञ्चमात्र बिदाइले फेरिदिएको हो । सेवाका तरिका फेरिने मात्र हुन् । वास्तवमा व्यक्ति र वृत्ति आजन्म सँगै रहन्छन्् । उहाँहरूको भनाइ वास्तविक त हुँदै हो, त्योभन्दा बढी वृत्तिप्रतिको न्याय र ममत्व पनि हो । संस्थाले पनि यसरी नै माया र ममत्व दिएमा भने बिदाइ मृत्युभन्दा पीडादायी हुन्छ । मृत्युको पीडा मृत्यु हुनेले अनुभव गर्न नसके पनि बिदाइ अनुभूतिमा हुन्छ । त्यसैले होला कतिपयले भन्ने गरेका छन्, बिदाइ एक मृत्यु हो । लामो वृत्ति अवलम्बन गर्नेहरू त्यसैले पटकपटक मर्ने गर्छन् । कतिपय अनुभूतिहरू निकै भावविरही हुन्छन् र जीवनपर्यन्त प्रभाव छाडिरहन्छन् ।

छोटा छोटा वृत्ति यात्रामा पात्र र परिवेशसँगको साम्वेगिक सम्बन्ध गाढा नबन्न सक्छ, बिदाइ त्यति भावुक हुँदैन । कोही साथीहरू लगातार वृत्ति, कार्यस्थल र पेशा परिवर्तन गरिन्छन् । उनीहरू पनि बिदाइलाई दैनिकीको सामान्यतामा लिँदा हुन् । तर यतिचाँहि भन्न सक्छु, उनीहरू वृत्ति र यात्रा दुवैलाई न्याय गर्न सकिरहेका छैनन् । आफैलाई कर्ममा बाँध्न सकिरहेका छैनन् । त्यसैले उनीहरू ओहोदा नहुँदासाथ निवृत्त हुन पुग्छन्् ।

कर्म वृत्तिमा धेरै साथी सँगातीलाई बिदाइ गरेँ । तीन दशक जागिरमा बिताएका शेखर खनाल दाइ बिदाइमा गगल्चिदै भन्न पुगे–‘हे कान्छा ठट्टैमा यो जीवन जान लाग्यो…..।’ यो गीत थिएन, मनको स्पन्दन थियो । वृत्तिमा जीवन बिताउनेहरू जीवन र जवानीलाई यसरी नै बिदाइ गरेर आफै बिदाइ लिन्छन् । त्यस घटनापछि साथीहरूको बिदाइलाई रसिलो बनाउन प्रयास गर्दै रहेँ । तर ती देखावटी थिए, बिदाइ बिदाइ नै हो र त्यो विदारक नै हुन्छ । ओठ र अङ्गले रमाइलो गर्न खोजे पनि मनले सहमति कहाँ दिन्छ ?

नियात्राहरू सरल र सिलसिलामा हुँदैनन्, यात्राहरू अनुभव, अनुभूति र तिनले गर्ने परिस्कारमा सँगालिदै, लय मिलाउँदै जाने गर्छन् । संस्थासँगको लामो सहवासमा यात्राले आफ्नै सिलसिला मिलाएको हुन्छ । संस्था र व्यक्ति एकअर्कासँगको लयवद्धताले व्यक्ति संस्थामा नै समाहित हुन्छ । त्यस अवस्थामा बिदाइ एउटा लय टुट्नु हो, सितारको तार चुडिनु हो । चुडिसकेपछि एकछिन त सितारले झङ्कार दिइरहन्छ, त्यसपछि परिवेशको विह्वलता मात्र शेष रहने हो । छोरी अन्माएको जग्गेजस्तै । तर परिवेश पीडाप्रद भए पनि यो नयाँ शुरुवात र नयाँ लयको सन्धान हो । नयाँ लय कायम गर्न समय लागे पनि त्यो अझै सुरिलो र मीठो हुनसक्छ । यही अपेक्षा प्रत्येक बिदाइले गर्नुपर्छ ।

यात्रामा व्यक्ति अनाहक यातनाको शिकार बन्नसक्छ । नेतृत्व पीडक भएपछि, सहयात्रीहरू अनुचर भएपछि कर्मशीलहरू लखेटिन्छन्, अनुचरहरू पोसिन्छन् । लखेटिएर अर्को कार्यस्थलमा पुगेकाहरू त्यहाँ पनि रमाउँछन् । कर्मले संस्थालाई आफ्नै बनाउँछन् र समर्पणले मुटुमा राख्छन् । समर्पण र सिर्जनालाई समयले बाँध्न सक्दैन । संघर्ष र पसिनामा रमाउँन बानी परेकाहरू कठोर कामलाई पनि हत्ते गर्छन् । मस्तिष्कबाट मात्र होइन, मनदेखिनै समर्पित हुन्छन् र वृत्ति र संस्थाको पहिचान उचो राख्छन् । त्यसैले कर्मका पुजारी (कर्मचारी) हरू बिदाइलाई हृदयको तार टुटेसरी अकमक्क शून्य उभिन्छन्, ‘वाइ’ भन्छन् ।

वृत्तिभित्र रहँदा गर्नैपर्ने जुन गर्न सकिएनन्, तिनले मलाई जीवनभरि कोक्याइरहने छ । आफ्नै प्रयास र अग्रसरतामा राष्ट्रसेवाका असल थालनी गरिएका कामहरू पूरा भएनन्, संघर्षका जर्जर बाटोभरि रक्ताम्मे पाइला चाल्दा पनि कतिपय कामले पूर्णता पाएनन्, केही पूरा भए पनि संस्थागत भै प्रणालीमा लय गास्न सकिरहेका छैनन् । तिनले पनि बिझाउने छन् । असल शुरुवात मात्र प्रणाली निर्माणको काम होइन, ती संस्थाका अङ्ग अवयवमा लयवद्ध नभै, अझ तिनले उपलव्धि नदिई विश्वास आर्जन गर्न सक्दैनन् । यसो नभई असलमा ती संस्थाको सम्पत्ति बन्न सक्दैनन् । बिदाइमा तिनप्रति जानाजान बेवास्ता कसरी गरू ?

जे होस् बिदाइ अवस्यम्भावी थियो र थाहै नपाई आइपुग्यो । दशकौंपछिको बिदाइबाट झल्याँस्स हुँदा बालसखाहरू विरानो भैसकेछन्, सानोमा सङ्घर्ष सिकाउने रोशी रोएर सुकिसकेछ । मलाई काखभरि खेलाउने मेरै जन्मभूमिका पाखापखेरा विरानो अनि उजाड भएछन् । वनका बडेबडे वृक्षहरू सुकेर नयाँ पुस्ताका बुङ्चे पोथ्रा बनेछन् । मसँग पानी घट्ट, कपर्दी र डण्डीबियो खेल्ने साथीहरू धेरै त जीवनबाटै बिदा भैसकेछन्, जो बाँकी छन् उनीहरू पनि कुन्नि किन हो, हार्दिक देखिदैनन् ।

खेतका गरा बालुवा र गिटी खानी बनेर वनपाखालाई धुलाम्मे पार्दै रहेछन् । बारीका पाटा कुन्नि कसले पो हो टुक्राटुक्रामा प्लटिङ गरेछ । अम्बा, आँप, कटहर र तित्रीका रूखहरू कहिले हो पहिल्यै काटिएछन् । हामी जाने पानीघट्ट रक्सीको भट्टी पो बनेछ । गाउँले आमावुवा, काकाकाकीले धर्ती छाडेको पनि जुग भएछ । परिवेश सबै नौलो, बिरानो र विरक्त । पहिले त्यसले मलाई बिदा गर्न मानेको थिएन, अहिले स्वागत गर्न मानेको छैन । तैपनि जवर्दस्त नयाँ थालनीमा नयाँ मिठास र माधुर्यले अर्को यात्रा गर्नु नै छ । अर्को बिदाइ पर्खनु नै छ ।

गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }