शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मित्रवियोगमा रोएको मन


  • राजेन्द्रप्रसाद अर्याल, म्याडिसन, अमेरिका
  • शनिबार, बैशाख ३०, २०८०
  • 1.0K
    SHARES

मित्रवियोगमा रोएको मन

~ राजेन्द्रप्रसाद अर्याल

स्वर्गिय नारायणप्रसाद पाण्डे मेरा साथी मात्र होईन एउटा असल मित्र हुनुहुन्थ्यो। मित्रताको संवन्ध लाभ र हानीको संबन्ध होइन । मित्र हुन भावना मिल्नु पर्छ । निश्वार्थ भावना, सहयोगी चिन्तनसमेत जव एक आपसमा घुलन हुन्छ तव मित्रता झ्याङ्गिन पुग्छ । साथित्व क्षणिक हुन सक्छ भने मित्रता दिगो । भनिन्छ- विश्वासपात्र मित्र जीवनको औषधि हो। नारायण र मैले पाँच दशक भन्दा वढी मित्रताको फूल फुलायौँ । हाम्रो मित्रतारूपी भावना अत्यन्तै वलियो र कसिलो थियो । तर अफसोच यो पवित्र मित्रता उपर नियतिले इर्ष्या र डाह गरेर नै होला सायद नारायणजीलाई मबाट सदाका लागि अल्पायुमा नै लुटेर लग्यो । अभिन्नबाट हामी भिन्न भयौं । समयले गला रेटेर मात्र गएन मित्रताको फुल समेत फुटाई गयो। अनायासै मित्रतारुपि चङ्गाको धागो चुडन पुग्यो ।

सन् २००९ बाट अमेरिका प्रवेश गर्नु भएका नारायण पाण्डे टेक्सस राज्यको डालस सहरमा बस्दै आउनु भएको थियो । यही २०२३ मार्च महिनाको १७ तारिक विहान घरबाट काम विशेषले निस्किनु भएका नारायणको आँफैले हाँकेको कार दुर्घटनामा पर्यो । सख्त घाइते भएकाले अस्पताल पुर्याईनु भयो । परिवारलाई वेलुकामात्र खवर मिल्यो । चिन्ताजनक अवस्था भएवाट भ्याण्टिलेटरमा राख्ने र झिक्ने क्रम चलिरह्यो । लामो समयको उपचार हुँदा पनि खासै प्रगती नभएका सूचनाहरू परिवारवाट प्राप्त गरिरहेको दारूण परिस्थितिको मूल्याङ्कन गर्दा नारायणजीको धमिलो जिन्दगिको पुर्वाभाष हुन्थ्यो । सास छउन्जेल आशको मलिनो दियो मात्र बलेको थियो मेरो मनमा ।

अफसोच त्यै दियो पनि मे ३, २०२३ मा झ्याप्पै निभ्यो । आधुनिक विज्ञानले अति नै ठूलो पर्खाल लगाउन खोजे पनि मृत्यूको ढोका थुन्न सकेन । हामी सारा शुभचिन्तकहरूका कामनाको ओखतीले पनि छोएन। नारायणजी स्वर्गको बगैँचाको फूल हुन पुग्नु भएको खवर आयो । यो समाचारले दुम्सिको काँडा बनि मेरो छाती घोच्न पुग्यो । हृदयवाट पिडाका ज्वारभाटा उठे । यसरी एउटा अत्यन्तै असल मित्रमरणको वेदनामा छटपटाइरहेको छु म ।

हुन त मृत्यु जीवनको विपरित हुँदै होइन । यो त एउटा हिस्सा हो । भाग हो। मृत्यु सत्य हो भन्ने जान्दा जान्दै पनि धारण गर्न चाहँदैन मान्छे । जीवनको सबैभन्दा ठुलो भय नै मृत्यु हो ।
जन्मदेखि नै छायासरी पछि लागेको हुन्छ मृत्यु। मृत्यु र जीवनको रस्साकस्सी निरन्तर चलिरहन्छ । आमने सामने भै रहन्छ । प्रत्येक पल मृत्युसँग पौँठेजोरी खेल्दै र छल्दै वाँचेको हुन्छ मान्छे । अल्प उमेर र स्वस्थ शरीरका कारण यो खेल नारायणजीको जीवनमा अझ लामो जाने कुरामा हामी आशावादी मात्र हैन विश्वस्त थियौँ । विडम्बना ! त्यसो हुन सकेन । जीवनरूपी घाम सॉझतिर ढल्कन नपाउँदै दिउँसै अस्ताउन पुग्यो। बादल विनाको झरी ब्यहोर्न बाध्य भयौँ। रोग विनाको उहाँको मृत्यु पत्याउन कठीन मै रहेछ हामीलाई ।

गोरखा जिल्लाको अश्राङ गाउँमा बाबु वालकृष्ण पाण्डे र आमा जानुका पाण्डेको कोखवाट वि.सं. २०१२ भाद्र ५ गते जन्मनु भएको थियो नारायण। पाँच भाइ छोरा र दुइ बहिनी छोरीहरूमध्ये जेठो सन्तान नारायणको न्वारानको नाम राा प्रसाद हो । गाउँकै विद्यालय नवजागृति चण्डीवाट प्रारम्भिक शिक्षा लिनु भएको नारायणले कक्षा चारदेखि गोरखा सदरमुकामस्थित शाक्ति हाइस्कूलबाट अध्ययन गरी २०२९ सालमा एसएलसी पास गर्नु भयो । पृथ्वीनारायण क्याम्पस पोखरावाट २०३५/३६ तिर शिक्षा शास्त्रतर्फ भूगोल मूल विषयमा स्नातक उत्तीर्ण हुनु भयो।

यो लेख लेख्ने क्रममा घरिघरी नारायणजीको असल चिन्तन, व्यवहार र सत्कर्मको मुस्लो मेरो मनमा उठिरहेका छन् । नारायणजीले सरल र सफल जीवन वाँचेर जानु भयो। केही अल्पभावी स्वभावमा नारायण सिमलको भुवा समान नरम हुनुहुन्थ्यो । अत्यन्त इमान्दार, सज्जन र सत्यवादी हुनुहुन्थ्यो । नारायणले चर्को स्वर कहिल्यै गर्नु भएन । कुनै विषयवस्तु उपरको आफ्नो विमतीलाई भद्रतापूर्वक राख्न सक्ने गुण थियो । सबैसंग मिलेर वस्न सक्ने नारायणमा प्रतिशोधको भावना थिएन र त कसैलाई पनि सिस्नाको मुढाले हान्नु भएन ।

असल मान्छे सबैतिर पुजिनु स्वभाविकै हो। हुँदाहुँदा मृत्युलाई समेत असल मान्छे नै चाहिँदो रहेछ । असल र सज्जनहरू धेरैलाई हाम्रो माझबाट अल्पायुमा नै चुडेर वा थुतेर लगेका थुप्रै दृष्टान्तहरुमा नारायणजी पनि थपिनु भयो। समय यतिसंम निर्दयी र क्रुर हुँदो रहेछ कि पाँच महिना पहिले पिताजीको कृया गरी नेपालबाट फर्किएका नारायण स्वयं चितामा सुत्न पर्यो । परिवार, आफन्त र शुभचिन्तकहरुलाई यो वज्र सहनुको विकल्प रहेन ।

शिक्षा सेवामा नारायणजीको महत्त्वपूर्ण योगदान रहेको छ। जुम्ला जिल्लाको विकट वस्तीमा लगायत गोरखाको अध्राङ, नामजुङ, गोहोरेका विद्यालयहरूमा शिक्षण गर्नु भयो । गोरखा क्यामासमा समेत अध्यापन गराएको अनुभव छ उहाँसंग । त्यस्तै शिक्षण संस्था स्थापनामा पनि स्व.नारायणजीको कृयाशिलता प्रशंसनीय छ। गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको संस्थापकहरूमध्ये एक हुनुहुन्छ । दुई कार्यकाल सन्चालक समितिको सदस्य भएर पनि काम गर्नु भयो। त्यही क्याम्पसमा आफ्ना पुज्य हजुरबा र हजुरआमा महाप्रसाद / हरिमाया पाण्डेको नाममा रू. दुई लाखको छात्रबृत्ती कोष स्थापना गर्नु भएको छ। अनि वागलुङमा सिटिइभिटी अन्तर्गतको अनमि र सिएमए विध्यालय पनि उहाँसमेतको लगानी र कृयाशिलतामा स्थापना भएको थियो।

नारायण माथि उठने लालचामा जतिसुकै तल पनि झर्न चाहनु हुँदैन थियो । पद र पैसालाई पृष्ठभूमिमा राखेर कहिल्यै व्यवहार गर्नु भएन । सिष्टममा हिडन मन पराउने नारायणले वेलाइनबाट स्वार्थको टपरी थाप्नु भएन। आफ्नै पिठ्यूमा धाप मार्दै क्याबात भन्नु भएन । बोली र व्यवहारमा एकरुपता थियो । मनको कालो मैलो सुकिलो पहिरनमा लुकाउनु भएन। सर्पले काँचुली फाले झैँ घमण्डलाई फाल्नु भएथ्यो । ठुलाठुला सपनाको व्यापार कहिल्यै गर्नुभएन। भुई मान्छे भएर हिड्नु हुन्थ्यो । इमान्दारिता र निष्ठाका दुर्लभ प्रतिनिधि हुनुहुन्थ्यो। यसरी नारायणले समाजमा विशेष र छुट्टै किसिमले आफ्नो परिचयको मौलो गाडन सफल हुनु भयो। असल चिन्तन र व्यवहारका कारण सबैको प्रिय वन्नु भयो । त्यसैले नारायणको मृत्युको समाचारले सवैलाई शोकमा डुवायो । मन कमलो बनायो । परेलीका डिल रसाउन पुगे । यो नै नारायणको जीवनको प्राप्ति थियो ।

देशमा बी. सं. २०४६ मा बहुदल भित्रियो । त्यस समयमा नारायण गोरखामा हुनुहुन्थ्यो । गोरखामा माले पार्टीको जनाधार खासै थिएन । नारायणको इमान्दारिता र सच्चरित्रताको कारणले पनि पार्टीलाई हेर्ने दृष्टिकोणमा सकारात्मकता थपियो । यो पङ्तिकारको सल्लाहमा नै नारायणजी २०५२/५३ तिर काठमाडौँ स्थानान्तर हुनु भयो। एमालेको संपर्क मञ्च हुँदै संपर्क विभागको सदस्य वन्नु भयो । असल र सज्जन नारायणजीलाई तत्कालीन मन्त्री गोपाल शाक्यले निजी सचिव समेत बनाए। यसरी कोही कसैको टेको र भर्याङ वेगर आफ्नै बल बुतामा अगाडी बढेको व्यक्ति हुनुहुन्थ्यो नारायण।

साथीभाई र मित्रहरुमा भरोषा राख्नु हुन्थ्यो र दिलको अग्रभागमा सजाउनु हुन्थ्यो। हुरुक्कै हुने स्वभाव थियो।जीवनमा जे जति ब्यवसाय गर्नु भयो त्यो प्रायः साथीभाइहरुसँगको सहकार्यमा गर्नु भयो। गोरखामा औषधि व्यवसाय, गैडाकोटमा मिल, वाग्लुङमा सिएमए र अनमि संचालन, काठमाडौमा यो पङ्तिकारसंगको सहकार्य सबैसबै संयुक्त रूपमा गर्नु भयो । गोरखामा प्रकाशित भएको श्री एकता पत्रिका उहाँ सहितको साथिहरूको लगानीमा प्रकाशित हुन्थ्यो। कोही कसैसंग मन मुटाव भएन । “साझी कि बाझी” भन्ने उखानलाई उल्ट्याई दिनु भयो। सबैसंगको संबन्ध झन मजबुत हुन पुग्यो।

आज म एउटा असल मित्रको मधु स्मृतिमा डुबिरहेको छु । नारायणको संझना मेरो मनमित्र शालिक बनी बसेको छ। हाम्रो लामो उठबसमा स्कूल तहमा सँगै पढ्यौ, गोरखा र काठमाडौमा एउटा असल छिमेकी भै बस्यौँ, सामाजिक संघ संस्थाहरूमा काम गर्यौँ। संस्थाहरू स्थापना भए, व्यवसाय चलायौ। परिस्थितिले भकुण्ड्याएर हामी दुवैलाई १२/१३ वर्ष पहिलेबाट अमेरिका ल्याई पुर्यायो । बसाइको दुरताले चाहे जति भेटघाट हुन नसके पनि नियमित संपर्कमा थियौं। यो परदेशमा हाम्रो मित्रताले अझै फैलिन पाएको थियो । चिम्टाका दुइ खुट्टि बनेर मात्र हैन एउटै गमलाका दुइ थुङ्गा फूल भएर वस्यौँ । हाम्रो गहिरो र स्नेहपूर्ण संवन्ध देखेर स्वजनहरू अचम्मित हुन्थे । एउटै सिक्काका दुइ पाटा त हुन् नै त्यसमाथि नङ र मासु भै मिलेका छन् भन्थे ।

नारायण र म कुनै साइनो संवन्धमा थिएनौँ । थियौँ त केवल असल मित्रको रूपमा मात्रै ? वास्तवमा मित्रताभित्रको लगाव साइनोभित्रको यो र ऊ भन्दा गरिमामय र उच्च हुँदोरहेछ । त्यही गरिमामय मित्रताको फूलवारीमा फक्रिएको सर्वथा सुगन्धित फूल थियौं हामी।

अरुको त के कुरा ? आफ्नै छाया पनि स्वार्थी देखिन्छ जीवनमा । अँध्यारोमा छायाले पनि साथ छाड्छ । तर नारायणले मसँगको व्यवहारमा त्यस्तो कहिल्यै गर्नु भएन । साथ कहिल्यै छाडनु भएन । हामीले आपसी मनको खुत्रुकेमा इमान्दारिताको सिक्का थप्दै लग्यौँ। आपसी भरोषाको धरहरा मात्र उभ्याएनौँ विश्वासको घण्टाघरर निर्माण गर्यौँ। यदाकदा देखिने फोहर र कसिङ्गरहरूलाई प्रेमिल कुचोले बढार्थ्यौँ र त एकले मिश्री चपाउँदा अर्कोलाई गुलियो अनुभव हुन्थ्यो । जीवनको यति धेरै प्यारो मित्र आज गुमाउनु पर्दा म विह्वल हुन पुगेको छु । स्तब्ध र मर्माहत भएको छु । संझना दुखेपछि आँखा सुत्दो रहेनछ । निद्रा भाग्दो रहेछ।पिडाले घरिघरी कण्ठ सुष्क हुन जान्छ । मन वेदनाको झरिले रुझ्न पुगेको छ ।

हुन त मनोरथ पूर्ण गरेर मात्र जीवन विसर्जन गर्न पाउने शौभाग्य कस्लाई पो मिल्छ र ? तर पनि सन्तानलगायतका मामलामा नारायणजीले सन्तोष नै देख्नु भयो । उहाँका तीन सन्तान। दुई छोरीहरू परिवारसहित अमेरिकामा नै छन् । माइली छोरीलाई राजदुतावासले तुरुन्तै भिसा दिनाले बावु भेटन सपरिवार अमेरिका आई पुगेकी छन् । सबैले प्राविधिक विषयमा उच्च अध्ययन गरेका छन् र विशिष्ट पेशामा संलग्न छन् । अत्यन्तै कर्तव्यनिष्ठ रहेछन् – बावुको उपचार र स्याहार संभारमा कुनै कसर बाकी राखेनन्। संवेदनशील भएर उपचारको लामो प्रकृयाको सामना गरिरहे । धन्यबाद छ तिमीहरूलाई।

टेक्सस राज्यको डालस सहरको दाह संस्कार गृह, ह्युज फेमिली ट्रिब्यूट सेण्टर। दाहसंस्कार कर्मको लागि ठुलो सङ्ख्यामा उपस्थित जनसमुदाय। सृङ्गारपटार गरिएको नारायणजीको मृतदेह भएको कफिन सभाहलको अग्रभागमा राखिएको छ । शब्द श्रध्दान्जली र पुष्पार्पणको काम उपस्थितहरूवाट संपन्न भयो। पत्नी श्यामकुमारी पाण्डेले हातमा पुष्पमाला लिई छोरीहरू सहित प्राण प्याराको लासलाई परिक्रमा गर्ने क्रममा भावबिह्वल हुँदै अन्तिम दर्शन गरेको दृष्य करुणामय र वेदनामय थियो।

पत्नीहरू दुर्गा देवी र श्याम कुमारी एकातिर पति वियोगको रनाहमा छटपटाई रहनु भएको छ भने अर्कोतिर विधवा शब्दको नमिठो र रुखो अर्थभित्र लपेटिन पुग्नुभयो । प्यारी छोरीहरूले उज्यालो र भद्र मोहडाको बाबु जसलाई पाएर जिन्दगी सुरक्षित र संरक्षित ठानेका थिए । आज त्यही शरीर बोकेको कफिनलाई अलाप र बिलाप गर्दै सवदाह कक्षतर्फ धकल्न दिवस थिए । अनि एउटै लाम्टो चुसेको कान्छो भाइ जो आयरल्याण्डबाट यही कर्मको लागि आएका थिए। उनले वेदनाले छटपटिदै र हात कमाउँदै आफ्नो अविभावकलाई खरानी बनाउने प्रयोजनार्थ स्वचालित सवदाह मेसिनको वटम दवाए। लासयुक्त कफिन विस्तारै एउटा प्वालभित्र पस्यो अनि त्यसको ढोका बन्द भयो । उपस्थित जनसमुदायले मालिनो मुहार सहित मुटु गाँठोपारे।नारायणजीको परमधाम यात्रा सहज, सरल र निर्विवाद होस् भन्ने कामना पनि गरे। यसरी मेरा अन्नय मित्र खरानीमा परिणत हुनु भयो। यस किसिमको भिडियो भोलिपल्ट हेर्दा मेरो हृदय चिरियो । मित्रवियोगको घटनाले छातीमा सुल रोपियो ।

संसारवाट केही प्रियजनहरूले चटक्कै छाडेर जाँदाको अत्यन्तै पिडाबोध मलाई धेरै नै भएको छ । आज त्यो लाइनमा एउटा
अति प्रिय मित्र थपिन पुग्नु भयो। त्यसैले यो भिडमा पनि एक्लो अनुभव गरिरहेको छु ।

नारायणजीको दीनहिन र कमजोरहरूप्रति विशेष अनुराग थियो । राजनितिप्रति वितृष्णा जागेको कुरा गर्थ्यौ हामी। देशको स्थितीबाट चिन्तित हुनुहुन्थ्यो नारायणजी। उहाँको अनुभवले भन्थ्यो- देशको उज्यालाको गीत गाउने नेता नै भएनन्। भरोषा र विश्वास टुटेर नै त होला – देश घिच्न ढुकेर बसेका छन् भन्नु हुन्थ्यो। हुन पनि हो- गीध्दहरू जतिसुकै माथि उँडे पनि के फरक भयो र ? दृष्टि सिनुमा केन्द्रित भएपछि ।

आज नारायणजीको मृत्युको दश दिन। शक्ति हाई स्कूल बिद्यार्थ समुहको तर्फबाट र विशेषत: यो पङ्तिकारको कृयाशीलतामा जुम प्रविधिको माध्ययमबाट बृहत् श्रध्दान्जली सभा संपन्न भयो। देश बिदेशबाट शुभचिन्तकहरू जम्मा हुनु भएको थियो। नेपालमा नारायणजी संलग्न विद्यालयहरुले शोक सभाहरू संपन्न गरेका खवर मिलेको छ। भोली गोरखा सहकारीले काठमाडौँमा र पर्सी द्रब्य शाह बहुमुखी क्याम्पसले गोरखामा गरिने सभाको सूचना पनि पाएको छु। जे होस् नारायणजीको सामाजिक र शैक्षिक देनको उच्च मुल्याङ्कन भएको देखिन्छ।

एउटा सामान्य मान्छेको जीवनमा विशेष ठूलो घटना के नै पो हुन्छ र ? यति हुँदाहुँदै पनि मेरा मित्र नारायणको सामान्य जीवनबाट पनि हाम्रो समाजले सिक्न पर्ने धेरै कुराहरू छन् । नारायणका व्यवहार, आचरण, मान्यता र भावनाहरू उज्यालो बोकी हिडने आशाका संवाहक थिए। नारायण पाण्डे भन्ने नाम इमान्दारिता, विनयशीलता र शालीनताको विम्ब बनेको छ । उहाँको व्यवहारले मात्र हैन अनुहारमा झल्कने धिरता र भद्रताबाट पनि संपूर्ण नारायणको परिचय दिन्थ्यो ।

यो लेख स्व.नारायणजीको आकस्मिक अवसानको घटनाले सृजना गरेको शोक गाथा त हो नै, मित्रवियोगको रनाहको प्रतिफल अनि नारायणजीले हिडेको वाटोको संक्षिप्त वर्णन पनि हो ।मेरो मनको पर्दामा मेरा प्रिय मित्र एउटा सुन्दर चित्र बनेर रहिरहनेछन् । यिनै शब्दहरूबाट भावपूर्ण हार्दिक श्रद्धाञ्जली मित्र ।

– राजेन्द्रप्रसाद अर्याल
गोरखा बजार
हाल-: म्याडिसन, अमेरिका।
मे १२, २०२३

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }