काठमाडाैं। पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन नौ महिनादेखि थन्क्याएर राखेको छ। स्वास्थ्य मन्त्रालयको अनुदानमा गत वर्ष पुसमै ल्याइएको मेसिन अहिलेसम्म सञ्चालनमा नल्याएको हो।
उक्त मेसिन थन्क्याउँदा घाउ सेक्नुपर्ने क्यान्सरका बिरामीलाई अस्पतालले भरतपुर र भक्तपुर रेफर गर्दै आएको छ । क्यान्सरको घाउको बाहिरी सेकाइमा प्रयोग हुने मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा रेफर गरिँदै आएको अस्पतालका निर्देशक डा. नीरज भट्टराईले बताए । उनका अनुसार हरेक महिना घाउ सेकाउनुपर्ने २० बिरामीलाई अन्यत्र रेफर गरिँदै आएको छ ।
‘अप्रेसन गरेर सेकाइ गर्न नपर्ने बिरामीलाई यहीँ अप्रेसन गर्छाैँ । अप्रेसनलगत्तै सेकाइ गर्नुपर्ने देखियो भने भरतपुर र भक्तपुर क्यान्सर अस्पतालमा पठाउँछौँ,’ उनले भने । चिकित्सकहरूका अनुसार क्यान्सरका बिरामीको घाउ अप्रेसनअघि र पछि सेकाउनुपर्छ ।
लेक्टा कम्पनीको लिन्याक मेसिन नेपालस्थित मेडिसोलुसन प्रालिले आयात गरेको हो । कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ अस्पताल निर्देशक डा. भट्टराईले टेन्डरका वेला आयतकर्ताले बुझाएको एसएस कोडअनुसार मेसिन उपलब्ध नगरेपछि जडान नभएको बताए । ‘सम्झौतामा उल्लेख भएको देश र स्पेसिफिकेसन कोडमा फरक देखिएपछि मेसिन जडान गर्ने कुरै भएन,’ उनले भने ।
भट्टराईका अनुसार मेसिन खरिदबापतको कुल २७ करोडमध्ये ६० प्रतिशत भुक्तानी भइसकेको छ। थप भुक्तानी रोकिएको छ । सम्झौता भएपछि १० प्रतिशत, भन्सारमा आएपछि ५० प्रतिशत, अस्पतालमा पुगेपछि २० प्रतिशत र मेसिन सञ्चालनमा आएपछि २० प्रतिशत रकम दिने सम्झौतामा उल्लेख छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
