काठमाडौं- काठमाडाैं उपत्यकामा २ सातायता डेंगी संक्रमण उकालो लागेको छ। यो क्रम अझै केही साता चल्ने चिकित्सकले बताएका छन्। डेंगी संक्रमण तीव्र बन्दै जाँदा उपत्यकाका प्रमुख अस्पतालहरूमा बिरामी बढ्दै गएका छन्।
निजामती कर्मचारी अस्पताल बानेश्वरका अनुसार त्यहाँ डेंगीका ३५ जना बिरामी भर्ना छन्। त्यस्तै डेंगी संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नौजना र वीर अस्पतालमा २० जना भर्ना भएका छन्।
स्वास्थ्य सिकायत लिएर आउनेमा दैनिक एक दर्जन भन्दा बढीमा डेंगी संक्रमण देखिने गरेको शुक्रराज ट्रकिपल तथा सरुवा रोग अस्पतालले जनाएको छ। पहिला अन्य जिल्लाबाट आउने संक्रमित बढी भए पनि दुई सातायता उपत्यकाकै बढी संक्रमित भएको अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन्।
अस्पतालका अनुसार भर्ना भएका बिरामीमध्ये केहीको आइसियुमा उपचार भइरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत माघयता मुलुकमा १३ सय ८० जनामा डेंगी संक्रमण पुष्टि भएको छ। पछिल्लो दुई सातामा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। कुल संक्रमितमध्ये २० जनाको मृत्यु भइसकेको छ।
उपत्यकामा विगतमा डेंगी सक्रमण भएका स्थानहरूमै यसपटक पनि संक्रमण बढी देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखा प्रमुख डा. शेरबहादुर पुनले बताए।
विगतमा जस्तै यसपटक पनि कालीमाटी, कलंकी, डल्लु, कपनलगायत क्षेत्रबाट डेंगी संक्रमित अस्पताल पुगेका छन्। धेरै बिरामीले निजी अस्पतालमा उपचार गराउने भएकाले यकिन तथ्यांक आउन नसकेको पुनले बताए।
उनी भन्छन्, ‘विगत वर्षहरूमा जस्तै अहिले पनि यिनै टोलहरूबाट बिरामी उपचारका लागि आएको देखिन्छ’, उनले भने। यसको अर्थ एडिस लामखुट्टेको बासस्थानका रहेका काठमाडौंमा ती क्षेत्र डेंगी संक्रमणका लागि उर्वर देखिएको उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
