बुजाे
उमेर झण्डै सत्तरीकी बृद्घा लौरोको साहारामा कुप्रो परेको शरीर लिएर सुन्दरपुरको उकालो चढदैगर्दा बीरमानले सोध्यो–“आमा एक्लै एक्लै कहाँ सम्म ? म केही सहयोग गरु ?” बृद्घाले बीरमानको अनुहारै नहेरी भनिन–“यतै कतै एकातिर !”
उमेर पाको भएपनि उरन्ठेउलो जवाफ सुनेपछि बीरमानले गम्भिरहुँदै भन्यो–“यति लामो जीवनमा बिभिन्न अवस्था र ब्यवस्था सामना गरेकी आमाले सही र सीधाकुरा बताउँदा पनि हुन्थ्योहोला नि !” बृद्घाले जवाफमा भनिन–“ तिमीले ठिकै भन्यौहोला तर सत्य सुन्ने कान कस्को छ र ? यो देशमा पहिला पहिला बोल्न र लेख्न प्रतिबन्ध थियो त्यतिबेला मुखमा बुजाे थियो । अहिले मुख र लेख्नेहात खुल्ला छ तर सुन्ने कान र हेर्ने आँखामा बुजा ठाेकिएका छन् । जति नै उफ्रिएर आकास छोएपनि सुन्नेवालाको कान र आँखामा बिर्काेलागेपछि बोल्नुको के अर्थ । जतिसुकै नाम,थर र अनुहार फेरिए पनि कुरो एउटै त हो नि ! कहिले कालेराम कहिले भालेराम । सधै उस्तै भएकोले भनेकी म पनि एकातिर जाँदै छुँ ।”
बृद्घाको जवाफ सुनेर बीरमानले भन्यो–“आमा मैले हजुरको कुरो बुझिन नि !” बृद्घाले बीरमानको मुहारमा हेरी फिस्स हाँस्दै भनिन–“नभोग्दै तिमी कहाँ बुझ्छौ र ? जव बुझ्छौ तव सम्हाल्ने समय हुनेछैन । बुझ्नेछौ केवल आफैले मात्र !” यति भनेर बृद्घा उकालो तर्फ पाईला चालिन ।
बीरमानले सान्त्वना स्वरुप अनुरोध गर्दै भन्यो–“आमा कहाँ जाँदै हुनुहुन्छ ? यति त भन्नुस ।” बृद्घाले उसको अनुहारै नहेरि भनिन–“तिमीसंग सुन्ने कान खुल्ला छ र ?” “छ नि आमा सुन्ने कानमात्र होईन सहयोग गर्ने हातपनि छ”–उस्ले तात्तातै भन्यो । बृद्घाले भनिन –“त्यसो भए सुन , म मर्न जाँदै छुँ ! के मलाई सहयोग गर्न सक्छौ ? बीरमानकाे मुखमा बुजाेलाग्याे ।
-गाेपीराम भण्डारी