बिहिबार, बैशाख २७, २०८१

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

पेस भएका प्रतिवेदन समूहगत छलफल गरी आजै पास गरिने


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ९, २०८१
  • 22
    SHARES

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकमा आज प्रतिवेदनहरुमाथि समूहगत छलफल गरिँदै छ । बैठकमा पेश भएका ६ वटै प्रतिवेदन आजै पारित गर्ने तयारी छ । बैठक आज सम्पन्न गर्ने कार्यसूची एमालेको छ ।

परिषद्को पहिलो बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदन पेश भएको थियो । अध्यक्ष र महासचिवको प्रतिवेदनमा पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत् एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

एमाले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो ।

एमालेले तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएकाले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणाममुखी र सफल तुल्याउँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।

यसैगरी भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता एमालेले तय गरेको छ ।

यस्तै प्राविधिक शिक्षाको विस्तार र लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधीनताका आधारमा सुदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । आज समूहगत छलफल र पारित हुनेछ ।

एमालेको परिषद् बैठकमा २ हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्ताबेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।

यस्तै परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }