काठमाडौंःस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्य चिकित्सक प्रा डा भगवान् कोइराला सदस्य छन् ।
यसै गरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधि लाईसमेत समितिको सदस्य तोकिएको छ ।
समितिलाई विद्यमान स्वास्थ्य बिमाको कानुनी अवस्था, सेवा प्रवाहलगायतका विषयका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ । यसै गरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एक द्वार प्रणालीबाट प्रवाह हुने गरी स्वास्थ्य बिमा कार्यक्रममार्फत लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ । समितिले स्वास्थ्य बिमा कार्यक्रममा सबै नेपाली नागरिकको आबद्धता बनाउन सम्भाव्य उपाय बारेसमेत सुझाव दिने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको जेनेभास्थित रणनीति र सहयोग एकाइको महानिर्देशक रहिसकेका आचार्यसँग सङ्गठनमा विभिन्न भूमिकामा तीन दशक बढी काम गरिसकेको अनुभव छ । उनी हालै मात्र नेपालका तर्फबाट विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा उम्मेदवार रहिसकेका छन् । जनस्वास्थ्य सुधारका लागि विभिन्न देशहरूलाई सुझाव प्रदान गरिसकेका आचार्यको अनुभव देशको स्वास्थ्य बिमा सुधारका लागि उपयोग गर्ने अपेक्षा गरिएको मन्त्री पौडेलले बताए ।
स्वास्थ्य बिमामा सुधार गरेर आम नागरिकको पहुँचमा ल्याउने बनाउने हाम्रो प्रमुख उद्देश्य हो, मन्त्री पौडेलले भने, स्वास्थ्य बिमामा सबै नागरिकलाई जोड्ने गरी समस्या समाधानसहितको सुझावलाई कार्यान्वयनमा लैजानेछौँ ।
मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बिमाको रकम ५ लाखसम्म पुर्याउने घोषणा गरेका थिए । मन्त्री पौडेलले बिमा सुधारका स्रोत थप्न सकिने अवधारणा प्रस्तुत गरेका थिए । सोहीअनुसार विज्ञहरूको सुझाव लिन भन्दै मन्त्री पौडेलले समिति गठन गरेका हुन् ।
आइतबार समितिको पहिलो बैठक बसेको छ । आफूहरूले स्वास्थ्य बिमाका अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरूबारे अध्ययन गरेर सुझाव दिने संयोजक आचार्यले बताए ।
