टोकियो, जापान – नेपालको सूचना प्रविधि कम्पनी इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन-आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशन (ASOCIO) को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको हो ।
इन्फोडेभलपर्सका संस्थापक तथा मार्केटिङ, इनोभेसन तथा स्टार्टेजी निर्देशक उमेश रघुवंशीलाइ अवार्ड हस्तान्तरण गर्दै सम्मानित गरिएको हो । नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा इन्फोडिवेलपर्सको उल्लेखनीय योगदानको कदर गर्दै विशेष गरी गभर्नमेन्ट टु बिजनेस (जीटूबी) र गभर्नमेन्ट टु सिटिजन (जीटूसी) अन्तरक्रियामा सुधार ल्याउनका लागि कम्पनीले गरेको योगदानको लागि प्रदान गरिएको हो।
एसोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधिका संस्थाहरूको अन्तर्राष्ट्रिय महासङ्घ हो। संस्थाले हरेक वर्ष उत्कृष्ट कार्य गर्ने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान गर्ने गरेको छ । यो पुरस्कार एसोसियो डिजिटल सम्मेलनमा प्रदान गरिएको हो ।
सम्मेलनमा एसिया-प्यासिफिक क्षेत्रका डिजिटल प्रविधिका उद्योगको नेतृत्वहरू, नव प्रवर्तकहरू र विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलन डिजिटल क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूको सम्मान गर्ने मञ्चको रूपमा स्थापित छ ।
इन्फोडिवेलपर्सको पहिचान नेपालमा सार्वजनिक क्षेत्रको डिजिलाइजेसन गर्ने प्रणालीहरूको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले उन्नत फिनटेक र आईसीटी समाधानहरूले सरकारी प्रणालीसँग एकीकरण गरेर सार्वजनिक सेवाहरूमा दक्षता, पारदर्शिता र पहुँचमा सुधार ल्याउँदै आइएको छ ।
डिजिटल गभर्नमेन्ट अवार्ड प्राप्त गर्नु इन्फोडिवेलपर्सको नवप्रवर्तन र उत्कृष्टतामा प्रतिबद्धताको नतिजाको रूपमा लिएको कम्पनीले जनाएको छ । कम्पनीको टोलीको समर्पण, जोस र विशेषज्ञताले काम गरेको प्रमाण हो, जसले नेपालका सरकारी क्षेत्रहरूमा अत्याधुनिक प्रविधि समाधानहरू ल्याउन निरन्तर प्रयास जारी रहने इन्फोडेभलपर्सले जनाएको छ ।
“हामी एसोसियोबाट यो सम्मान प्राप्त गरेर गर्वित छौँ,” निर्देशक रघुवंशीले भने,”यो हाम्रो सम्पूर्ण टोलीको कठोर परिश्रम र दृष्टिकोणको प्रतिबिम्ब हो। यस पुरस्कारले नेपालका कम्पनीहरूको वैश्विक डिजिटल पारिस्थितिकी तन्त्रमा बढ्दो भूमिका देखाउँछ। हामी नेपाल सरकारको डिजिटल रूपान्तरणको यात्रामा अझ प्रभावकारी परियोजनाहरूमा सहकार्य गर्न तत्पर छौँ।”
इन्फोडिवेलपर्सले क्यान महासङ्घ नेपाललाई धन्यवाद दिएको छ । क्यान महासङ्घका उपाध्यक्ष समेत रहेका रघुवंशीले संस्थाको सहयोगले नेपालका सफ्टवेयर कम्पनीहरूको विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निभाएको रघुवंशीले बताए ।
इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड सन् २००२ मा स्थापित, एक प्रमुख फिनटेक र आईसीटी समाधान प्रदायक कम्पनी हो जसले अत्याधुनिक वित्तीय प्रविधि, सफ्टवेयर विकास र आइटी परामर्श सेवामा विशेषज्ञता राख्ने गर्दछ ।
कम्पनीले बैङ्क तथा वित्तीय संस्थाहरू, सरकारी तथा सरकारी क्षेत्रलाई कम्पनीले सेवा प्रदान गर्दै आइरहेको छ । कोर बैङ्किङ प्रणाली, मोबाइल बैङ्किङ प्रणाली, एआई-चालित स्वचालन उपकरणहरू र ग्राहक सेवा र सञ्चालन कार्यक्षमता सुधार गर्न अनुकूलित सफ्टवेयर समाधानहरूमा केन्द्रित रहेको छ।
इन्फोडेभलपर्समा २०० भन्दा बढी सूचना प्रविधिका जनशक्ति कार्यरत छन्। नेपालका आइटी र फिनटेक क्षेत्रहरूमा दक्ष तथा अनुभवी कम्पनीका रूपमा चिनिन्छ । भविष्यको वित्तीय प्रविधिमा नयाँ दिशाहरू कायम गर्न प्रतिबद्ध रहको र थप सेवा विस्तारको अभ्यासमा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
