शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चाडपर्व लक्षित विशेष सुरक्षा योजनाः काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०८३
  • 38
    SHARES

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साढे तीन हजारभन्दा बढी प्रहरी परिचालन गर्ने गरी विशेष सुरक्षा योजना लागू गरेको छ ।

 

 

असोज १६ गते (शुक्रवार)बाट शुरु भई कात्तिक ३० गतेसम्म ४५ दिनका लागि तय गरिएको यो योजनाले राजधानीको शान्ति सुरक्षालाई थप सुदृढ बनाउने र आपराधिक गतिविधि न्युनिकरण गर्ने लक्ष्य लिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापा र एसएसपी दिलिप घिमिरेले विगतका वर्षहरूको अपराध विश्लेषण र सुरक्षा जोखिमलाई आधार मानेर यस वर्षको सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो । चाडपर्वका समयमा घर खाली हुने, बजारमा भीडभाड बढ्ने र मानिसहरूको आवतजावत बढी हुने भएकाले चोरी, लुटपाट र सवारी दुर्घटना जस्ता चुनौतीलाई मध्यनजर गर्दै यो विशेष पहल लिइएको हो ।

यस सुरक्षा योजनाअन्तर्गत उपत्यकाका मुख्य बजार, बसपार्क र संवेदनशील क्षेत्रमा ३ हजार ५ सय ६ जना प्रहरी जनशक्ति परिचालन हुनेछन् । प्रहरीले नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने, सीसीटीभीमार्फत निरन्तर निगरानी गर्ने र टिकट काउन्टरमा हुने ठगी तथा सवारी साधनको ओभरलोड नियन्त्रणमा विशेष ध्यान दिने रणनीति बनाएको थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जिल्ला प्रहरी परिसरले सम्भावित आपराधिक घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले २०८३ असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्म ४५ दिनका लागि काठमाडौं जिल्लाभर लागू हुने गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३ तयार गरी कार्यान्वयनमा ल्याएको छ । बडादशैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउनु यस योजनाको मुख्य लक्ष्य हो । योजनाअन्तर्गत ३,५०६ जना प्रहरी जनशक्ति परिचालन गरिनेछ । यसका मुख्य उद्देश्यमा चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना रोकथाम र नियन्त्रण गर्ने, घटना भए तत्काल उद्धार तथा प्रतिकार्य गर्ने, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने, काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको आवागमन सहज र सुरक्षित बनाउने तथा शान्ति–सुव्यवस्था कायम गर्दै प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने रहेका छन् । सुरक्षा योजना तयार गर्दा विगतका चाडपर्वमा भएका आपराधिक घटना, सुरक्षा जोखिम र संवेदनशील क्षेत्रको अध्ययन तथा विश्लेषण गरी यस वर्ष हुन सक्ने सम्भावित चुनौतीको पहिचान गरिएको छ । सोही आधारमा चाडपर्वलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।’

‘दशैँ कसैका लागि दशा नबनोस्’ भन्ने मूल मर्मका साथ लागू गरिएको यो योजनाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतना फैलाउने र शान्ति सुव्यवस्था कायम गरी प्रहरी–नागरिकबीचको विश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको एसएसपी घिमिरेले बताउनु भयो । चाडपर्वको अवसरमा नागरिकहरू घर फर्कने र बजारमा हुने अत्यधिक चहलपहलको फाइदा उठाउँदै आपराधिक समूह सक्रिय हुनसक्ने भएकाले शतर्क रहन आग्रह गर्नुभयो । विगतका घटनाहरूको ‘क्राइम प्याटर्न एनालाइसिस’ गरी प्रहरीले यसपटक प्रविधिमैत्री र परिस्कृत सुरक्षा रणनीति तयार गरेको जनाएको छ । मुख्यगरी चोरी, लुटपाट, जुवातास र सडक दुर्घटना नियन्त्रणमा विशेष ध्यान केन्द्रित गरिने काठमाडौँ उपत्यका प्रहरीले जनाएको छ । सवारी साधनमा हुने ठगी र ओभरलोडका कारण हुने दुर्घटना रोक्न प्रहरीले हेल्प डेस्क र नागरिक सहायता कक्षहरू स्थापना गर्ने भएको छ । साथै, सीसीटीभीमार्फत मनिटर गरिने र भीडभाड हुने स्थानहरूमा प्रहरी परिचालन व्यापक बनाइने घिमिरेको भनाइ छ । ‘दशैँ कसैको लागि दशा नबनोस्’ भन्ने मूल मन्त्रका साथ प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना फैलाउने र फेसबुकलगायत सामाजिक सञ्जालमार्फत सूचना आदान–प्रदान गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वमा देश–विदेशबाट ठूलो संख्यामा मानिस आवतजावत गर्ने भएकाले बजारमा भीडभाड र आर्थिक गतिविधि बढ्छ । यही समयमा चोरी, लुटपाट, जुवातास, ठगी, गुण्डागर्दी तथा सवारी दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले प्रहरीले विगतका घटनाको अध्ययन गरी विशेष सुरक्षा योजना लागू गरेको छ । सम्भावित जोखिम क्षेत्र पहिचान गरी प्रहरी परिचालन, हेल्प डेस्क तथा नागरिक सहायता कक्ष सञ्चालन, सीसीटीभी निगरानी, यात्रु ठगी नियन्त्रण र सवारी दुर्घटना न्युनिकरणमा विशेष ध्यान दिइनेछ । कात्तिक मसान्तसम्म सञ्चालन हुने योजनामा करिव ३,५०६ प्रहरी परिचालन गरिनेछ । समुदाय–प्रहरी साझेदारीमार्फत सचेतनामूलक कार्यक्रम र सूचना प्रवाहसमेत गरिनेछ । प्रहरीको मुख्य उद्देश्य चाडपर्वलाई सुरक्षित, व्यवस्थित र हर्षोल्लासपूर्ण बनाउनु तथा कुनै परिवारका लागि चाडपर्व दुःखद् नबनोस् भन्ने सुनिश्चित गर्नु हो ।’

आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन र आकस्मिक अवस्थामा द्रुत प्रतिकार्य गर्न प्रहरीलाई थप सक्रिय बनाइने बताइएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)