काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख सहर तथा बजारमा रहेका करिब एकसय डिजिटल बोर्डमार्फत प्रवाह गर्न थालिएको छ ।
शुक्रबार १५औँ महाधिवेशन तयारीसम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहर बजारमा रहेका करिब १०० डिजिटल बोर्डबाट महाधिवेशनसम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको बताए ।
उनले भने, ‘प्राकृतिक विपद्मा परी हजारौँ मानिस हराइरहेका छन् । सयौं घर परिवार बिछोडिएको छ । सयौं बालबालिका टुहुरा भएका छन् । यो परिवेशमा हुन लागेको महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय पार्टीले लिएको छ । कार्यक्रमस्थलमा एउटा मूल गेट बाहेक अरु कुनै प्रचार सामग्री सहर बजारमा टाँगिने छैन । तसर्थ, असोज १५ देखि काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहर बजारमा रहेका करिब १०० डिजिटल बोर्डबाट १५ औँ महाधिवेशन सम्बन्धी सूचना र सन्देशहरु प्रवाह गर्न शुरु गरिएको छ । महाधिवेशनमा हुने निर्वाचनमा उम्मेदवार हुने साथीहरुलाई पनि प्रचारप्रसारका डिजिटल माध्यम मात्र प्रयोग गर्न पार्टी आग्रह गर्दछ ।’
केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको प्रवक्ता चालिसेले बताए ।
उनले भने, ‘प्रतिनिधिहरु १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्द सत्र र २१ र २२ गते निर्वाचन प्रक्रियामा सहभागी हुनु हुनेछ । निर्वाचनको विस्तृत कार्यक्रम केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको छ ।’
प्राकृतिक प्रकोपका कारण कांग्रेसको १५औँ महाधिवेशन दुई दिन ढिला गरी असोज १८ गतेदेखि शुरू हुँदैछ । यसअघि असोज १६ गतेका लागि कार्यक्रम निर्धारण गरिएको थियो ।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेतृत्वलाई आमन्त्रण गरिएको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव श्याम पौडेल सहभागी हुने निश्चित भएको कांग्रेसले जनाएको छ ।
अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छिन् । अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता सुनिश्चित हुने क्रम जारी रहेको चालिसेले बताए ।
महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका लागि विभिन्न १५ वटा समिति गठन गरिएको छ । उद्घाटनस्थल खुलामञ्चमा मञ्च निर्माणको काम तीव्र गतिमा भइरहेको छ भने बन्द सत्र सञ्चालनका लागि विभिन्न हलको तयारी भइरहेको छ ।
कार्यक्रमस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने चालिसेले बताए ।
आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिको बसोवासका लागि समन्वय गर्ने व्यवस्था मिलाएको छ । आवास तथा कार्यक्रम स्थलसम्मको आवतजावत खर्च सहभागी आफैँले बेहोर्ने व्यवस्था गरिएको छ ।
आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ । सहभागीले यससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्नेछन् । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भने भृकुटीमण्डपमा गरिएको छ ।
कांग्रेसले महाधिवेशनसम्बन्धी सूचना अद्यावधिक गर्न अब हरेक दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । शनिबारदेखि कार्यक्रमस्थलमा रहने मिडिया सेन्टरबाटै पत्रकार सम्मेलन गरिने प्रवक्ता चालिसेले जानकारी दिए ।
