शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्य बिमामा सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा कार्ययोजना बनाउने प्रक्रिया शुरु


  • माउन्टेन खबर
  • सोमवार, माघ ७, २०८१
  • 224
    SHARES

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाउनुभएको छ । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गर्नुभएको छ ।

कार्यदलका सदस्यहरूमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्मा, निर्देशक डा. अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव रहनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थालेपछि मन्त्री पौडेलले मन्त्रालयगत तयारी अघि बढाउनुभएको हो । आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिनुभएको थियो ।

प्रधानमन्त्रीको स्वीकृतिपछि मन्त्री पौडेलले चरणबद्ध रुपमा सुधार अघि बढाउने प्रक्रिया अघि बढाउनुभएको हो । कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रीपरिषद्मा लैजाने मन्त्रालयको तयारी छ ।

यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकालमा लागु गर्न सकिने विषय कार्ययोजनामा समावेश गरेर प्रतिवेदन दिनेछ । यसैगरी नीतिगत तथा अन्य सुधारका विषयका लागि समेत कार्यदलले आन्तरिक अवस्थाका आधारमा सुझाव दिनेछ ।

स्वास्थ्य बिमामा सुधार भए मात्र यसले राम्रोसँग नागरिकको चाहनाअनुसार सेवा सुविधा दिन सक्छ भन्ने हाम्रो विश्वास छ, मन्त्री पौडेलले भन्नुभयो, प्रधानमन्त्रीज्यूले समेत सुधारका लागि सकारात्मक हौसला दिनुभएकाले हामीलाई अघि बढ्न सजिलो भएको छ ।

मन्त्री पौडेलले केही दिनभित्रै कार्ययोजना र प्रतिवेदन दुवै सार्वजनिक गर्ने बताउनुभयो । उहाँले सरकार सुधारका लागि तयार रहेकाले सम्भव भएसम्मका सुधार अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)