काठमाडौँ – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंबाट डिजिटल माध्यमद्वारा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ९ मुर्माटपमा एक्पर्ट ग्रुप र रारा होल्डिङ्स प्रा।लि।ले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास गर्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्नको लागि योजना बनाइरहेको बताउनु भयो । उहाँले निजी व्यवसायलाई बढावा दिनको लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभयो । उहाँले लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानूनले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको बताउनु भएको छ । उहाँले कर्णाली राजमार्ग र कर्णाली करिडोर पिच गर्नको लागि अगामि आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने आश्वासन दिनुभयो । उहाँले रारा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि ताल्चा विमानस्थलको सुधार गरिने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारले लगानी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि र सुरक्षा दिनको लागि थप योजना बनाइरहेको छ । भर्खरै सरकारले व्यवसायलाई बढावा दिनको लागि र थप लगानीको वातावरण तयार गर्नको लागि अध्यादेशको जारी गरेको छ । थप आवश्यक कानूनहरु बनाउनका लागि हामीले ति अध्यादेशहरु संसदमा पेस गरेका छौं ।
लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि बन्दै गरेको ऐनले ठूलो मद्दत पुग्ने छ । लगानीको सुरक्षा गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ । विशेषगरी रारा क्षेत्रमा रहेका समस्याहरुका लागि हामीले खानेपानी समस्या समाधान गर्नको लागि केही कुराहरु गरेका पनि छौं । अगामि आर्थिक वर्षको बजेटमा पनि हामी जेजति गर्न सकिन्छ हामी गर्छौं नै । पूर्वाधार निर्माणमा स्थानीय स्रोत र साधनले बढी प्राथमिकता पाउने अवस्था बन्दै गएको छ । त्यसकारण बन्दै गरेको रिसोर्ट वातावरणमैत्री हुनेछ ।
कर्णाली करिडोर र कर्णाली राजमार्गहरु कच्ची बाटोको रुपमा प्रयोग भइरहेका छन् । त्यहाँ जाने मान्छे अत्यन्त कष्टपूर्ण महससुश गर्नुहुन्छ । अगामि वर्षमा नेपाल सरकार तीन तहकै सरकारको सहकार्यमा रारासँग पर्यटकको सहज पहुँचको लागि पिच गर्ने योजना बनाइरहेका छौं । ताल्चा एयरपोर्ट, जुम्ला एयरपोर्ट र बाजुरा एयरपोर्टको स्तरोन्नती गर्छौं ।’
उहाँले नेपालका अन्य पर्यटकीय क्षेत्रहरुमा समेत नीजि लगानीको आवश्यकता रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुमा आह्वान गर्नुभयो ।
