आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डोलेश्वरका चारै ढोका खुल्ला


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १४, २०८१
  • 249
    SHARES

भक्तपुर- महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेका छन् ।

महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उहाँले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्षाकका लागि सुरक्षाकर्मीको व्यवस्था, स्वास्थ्य शिविरको आयोजना तथा मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर बिदाइ गर्ने व्यवस्था गरिएको समितिका महासचिव बस्नेतले बताउनुभयो ।

मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमा पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले दर्शन गर्ने अनुमानसहित सोहीअनुसार व्यवस्था गरिएका उहाँको भनाइ छ ।

लाइन बसेको आधा घण्टामा पूजाको व्यवस्थापनलाई प्रभावकारी बनाइएको सूर्यविनायक–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार शिवरात्रिका लागि यसवर्ष करिब तीन सय साधुसन्त र बाबा आएका छन् ।

वडाध्यक्ष बस्नेतले डोलेश्वरमा उहाँहरूलाई खाने, बस्ने र महाशिवरात्रिका दिन आउने दर्शनार्थीलाई प्रसाद ग्रहणको व्यवस्था, पूजाका लागि लाइन बसेको आधा घण्टामा दर्शन गर्ने व्यवस्था, मन्दिर अगाडि स्वास्थ्य शिविर सञ्चालनलगायत व्यवस्था गरिएको बताउनुभयो ।

यसैगरी, महाशिवरात्रि पर्वको अवसरमा आज प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको घुइँचो लागेको छ । मनले चिताएको आशा पूरा हुने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्ेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलको लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ती सबै स्थानमा दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)