मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक : मन्त्री पाण्डे


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०८२
  • 212
    SHARES

महेन्द्रनगर- सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नीति, संरचना र व्यवहारमा सुधार आवश्यक रहेको बताउनुभयो।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित *फारवेस्ट ट्राभल मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीमित बजेटका बाबजुद पर्यटन विकासमा सरकार गम्भीर रूपमा लागिरहेको स्पष्ट पार्नुभयो।

“यस वर्ष २० प्रतिशत पुँजीगत बजेट घटेको छ,” भन्दै मन्त्री पाण्डेले, “तर, हामीले भएको बजेटको उचित सदुपयोग गर्दै नीतिगत सुधारमा केन्द्रित भएका छौं,” भन्नुभयो।

पर्यटन विकासका लागि केवल नीति र संरचना सुधार मात्र पर्याप्त नभई कतिपय प्रवृत्तिहरू पनि सुधार्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले, “हामी विदेशी पर्यटकहरू नेपाल आउने र फेरि आउने वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेका छौं,” बताउनुभयो।

पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले वन, गृह, परराष्ट्र, उद्योग लगायतका मन्त्रालयहरूसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो।

सुदूरपश्चिम क्षेत्रमा अझै पर्यटकीय गतिविधि कम रहेको स्वीकार गर्दै मन्त्री पाण्डेले पूर्वी नेपाल र मध्य नेपालजस्तै सुदूरपश्चिमको पर्यटन पनि चलायमान बनाउन आवश्यक रहेको धारणा राख्नुभयो। “सगरमाथाका कारण पूर्वको पर्यटन चलायमान छ। पोखरा, मुक्तिनाथ, चितवन र बर्दिया पनि चलायमान छन्,” भन्दै उहाँले, “अब सुदूरपश्चिमका पर्यटकीय गतिविधिहरू पनि सशक्त बनाउन आवश्यक छ,” भन्नुभयो।

सरकार पूर्वाधार विकासमा पनि जुटिरहेको बताउँदै मन्त्री पाण्डेले मझगाउँ विमानस्थलको निर्माण कार्य भइरहेको र धनगढी विमानस्थलको स्तरोन्नति तथा पोखरा विमानस्थलबाट सातै प्रदेशमा नियमित उडान सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिनुभयो। “कनेक्टिभिटी भयो भने पर्यटन क्षेत्र आफैँ चलायमान हुन्छ भन्ने हाम्रो विश्वास हो,” उहाँले स्पष्ट पार्नुभयो।

पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिकालाई अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै मन्त्री पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने धारणा राख्नुभयो। साथै, राज्यले उचित अनुगमन र निगरानी पनि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

विदेशी लगानी भित्र्याउन कानुनी सुधार र लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले “हामी विदेशी लगानी ल्याउन मन खुम्च्याउने पक्षमा छैनौं, बरु कानुन सुधार गरेर लगानीमैत्री वातावरण बनाउन आवश्यक छ,” भन्नुभयो।

भारतीय पर्यटकहरूको ठूलो सम्भावनालाई पहिचान गर्दै मन्त्री पाण्डेले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानतालाई सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो। “भारतको ठूलो जनसंख्याबाट हामीले लाभ उठाउनुपर्छ। हाम्रो प्राकृतिक र धार्मिक दृष्टिले समानता छ,” उहाँले भन्नुभयो।

सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवर्द्धनमा सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री पाण्डेले “हामी नयाँ गन्तव्य पहिचान गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा लागिरहेका छौं। शक्तिपीठहरूको संरक्षण तथा प्रवर्द्धन र कर्णाली तथा महाकाली नदीमा र्याफ्टिङ विकासमा पनि काम भइरहेको छ,” जानकारी दिनुभयो।

समापनमा मन्त्री पाण्डेले ‘अतिथि देव भवः’ संस्कारलाई व्यवहारमा लागू गर्न सबैले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “हामी अतिथि देव भवः भन्छौं तर यसको कार्यान्वयन कति भइरहेको छ भन्ने सवालमा ध्यान दिन जरुरी छ। सुदूरपश्चिम भौतिक दृष्टिले पनि अपेक्षित विकासमा पुग्न सकेको छैन। त्यसैले भौतिक र व्यवहारिक दुवै सुधार जरुरी छ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)