शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार


  • माउन्टेन खबर
  • आइतवार, माघ १९, २०८२
  • 169
    SHARES

काठमाडौँ– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४÷२५ मा समग्र वित्तीय समावेशीकरण सूचकाङ्क ०.४७ बाट बढेर ०.५३ पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा प्रकाशित प्रतिवेदनले यो सूचकाङ्कमा उल्लेख्य सुधार भएको देखाएको हो । “वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकाङ्कमा स्थिर र व्यापक प्रगति भएको छ”, राष्ट्र बैङ्कले भनेको छ ।

रिपोर्टअनुसार मानव विकास सूचकाङ्क जस्तै विधिबाट गणना गरिएको उक्त सूचकाङ्क ० देखि १ को मापनमा आधारित छ, जहाँ उच्च अङ्कले उच्च वित्तीय समावेशीकरण जनाउँछ । त्यस्तै सूचकाङ्कका तीन आयामका रुपमा पहुँच, प्रयोग र गुणस्तरअन्तर्गत विभिन्न ५५ सूचकका आधारमा तयार गरिएको हो ।

प्रतिवेदनमा पहुँच सूचकाङ्क ०.५३ पुगेको उल्लेख छ, जसले देशभर वित्तीय संस्था, सेवा केन्द्र तथा डिजिटल वित्तीय सेवा माध्यमको विस्तार भएको देखाउँछ । त्यस्तै प्रयोग सूचकाङ्क ०.५४ रहेको छ । यसले बैङ्किङ, डिजिटल भुक्तानी, बिमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको संलग्नता बढेको सङ्केत गर्छ । त्यसैगरी, गुणस्तर सूचकाङ्क ०.५० मा पुगेको छ ।

“वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकाङ्कमा उल्लेखनीय प्रगति भएको हो”, केन्द्रीय बैङ्कको रिपोर्टमा भनिएको छ ।

नेपाल राष्ट्र बैङ्कले नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन तथा नियामक सुधारले सकारात्मक प्रभाव परेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवद्र्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड दिन आवश्यक रहेको जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)