सर्लाही- सर्लाही–४ का जनताका समस्या तराईको समथर भूगोलजस्तै सरल छैनन। ती पहाडजस्तै उकालो र जटिल छन्। खानेपानीको अभाव, सिँचाइको संकट, जीर्ण सडक, अव्यवस्थित विद्यालय र कलेज-यी सबै समस्याबीच यहाँका मतदाता विगत १५ देखि अमरेश कुमार सिंहको कुशासनबाट पिडित छन्।
सर्लाही–४ यतिवेला राष्ट्रिय राजनीतिका दुई फरक धारबीचको प्रतिस्पर्धाको केन्द्र बनेको छ।
डा. अमरेश कुमार सिंह-जसले पछिल्ला करिब १५ वर्षदेखि यही क्षेत्र प्रतिनिधित्व गर्दै आएका छन्। कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। एमाले र माओवादीका पनि आ–आफ्ना उम्मेदवार छन्, तर चुनावी बहसको केन्द्रमा भने थापा र सिंह नै देखिन्छन्।
१५ वर्षको ‘एकछत्र’ यात्रा : उपलब्धि कि अवसरवाद?
सर्लाही–४ का मतदाताहरूको साझा प्रश्न छ- ‘१५ वर्षमा के बदलियो?’ सिंह लगातार सांसद बन्दै आए, तर यहाँका किसान, भूमिहीन र युवाले जीवनस्तरमा ठोस परिवर्तन महसुस गर्न नसकेको गुनासो गर्छन्।
स्थानीय उखु किसान बताउँछन्, ‘उखुको मूल्य, भुक्तानी, मिलसँगको विवाद—कहिल्यै गम्भीर रूपमा उठेन।’ धान किसानको समस्या पनि उस्तै छ- सिंचाइ, मल, बीउ र बजार व्यवस्थापनजस्ता आधारभूत विषयमा सांसदको पहल कमजोर रहेको आरोप छ।
सिंहको आलोचना गर्नेहरू भन्छन्-उनी संसदमा आक्रामक अभिव्यक्ति दिएर चर्चा कमाउँछन्, तर आफ्नै निर्वाचन क्षेत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य वा रोजगारी सिर्जनामा कहिल्यै बोल्दैनन।
आर्थिक उकालो, राजनीतिक प्रश्न
१५ वर्षअघि राजनीतिक रूपमा सामान्य हैसियतमा देखिएका सिंह अहिले करोडौँ सम्पत्तिका मालिक बनेको चर्चा क्षेत्रमै चुलिएको छ। विपक्षीहरू उनलाई ‘चुनावलाई ठगीको लाइसेन्स बनाएको’ आरोप लगाउँछन्। मतदातामाझ उठेको प्रश्न अझै अनुत्तरित छ—’जनताको जीवन किन उस्तै रह्यो?’
‘मधेश’को नाममा राजनीति?
चुनावी सभामा सिंह मधेश र मधेशी अधिकारको मुद्दा उठाउँछन्। तर स्थानीय बौद्धिक वर्गको तर्क छ—पहिचानको भाषणभन्दा जीवनस्तर सुधारका ठोस कार्यक्रम आवश्यक छन्।
एक स्थानीय शिक्षक भन्छन्, “पहिचानको मुद्दा महत्वपूर्ण हो, तर सडक, अस्पताल, रोजगार र कृषिको आधुनिकीकरण बिना भाषणले पेट भरिँदैन।”
धन-बलको प्रयोग?
यसपटक चुनावी मैदानमा असामान्य गतिविधि देखिएको मतदाताको भनाइ छ। केही स्थानीयले टोल–टोलमा आर्थिक प्रलोभन बाँडिएको दाबी गर्छन्। लोगो लगाउनेलाई ५ सय र टिसर्ट लगाउनेलाई १ हजार रुपैयाँ दिने गरिएको चर्चा छ।
विगतमा ‘कांग्रेसकै नेता’ भन्दै पटक–पटक भोट दिएर धोका दिएका अमरेश सिंहसँग मतदाता यसपटक विकल्प खोज्ने मनस्थितिमा पुगेका छन्। युवाहरू विशेषगरी परिवर्तनको पक्षमा उभिएको देखिएको छ।
गगन थापाको मधेश प्रवेशले प्रतिस्पर्धालाई वैचारिक र राष्ट्रिय बहसको रूप दिएको छ। १५ वर्षको निरन्तर प्रतिनिधित्वलाई छाडेर अब नयाँ नेतृत्वमा गगन थापाप्रति भरोसा मतदातामा देखिएको छ।
सेवा कि सत्ता?
सर्लाही–४ को चुनाव अब व्यक्तिको जित–हारभन्दा पनि १५ वर्षको राजनीतिक अभ्यासको मूल्यांकनमा केन्द्रित हुँदैछ। मतदाता सोधिरहेका छन्- सांसद हुनु सेवा हो कि अवसर? राजनीति विकासका लागि हो कि व्यक्तिगत उकालोका लागि? फागुन २१ को मतपेटिकाले यी प्रश्नको उत्तर दिनेछ। सर्लाही–४ ले यसपटक निरन्तरता रोज्छ कि परिवर्तन—त्यो निर्णय अब जनताकै हातमा छ।
