बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केशवराज पन्तको काव्यचेतना -युवराज मैनाली


  • युवराज मैनाली
  • बिहिबार, चैत्र १२, २०८२
  • 460
    SHARES

केशवराज पन्तको काव्यचेतना
युवराज मैनाली

वि.सं. २०१३ मंसिर १५ गते गुल्मी जिल्लाको रुरु गाउँपालिका, वलेटक्सारमा जन्मिएका केशवराज पन्त समकालीन नेपाली कवितामा एक जीवनवादी काव्यचेत भएका नवीन कवि हुन् । कविताप्रति तीव्र चासो राखेर नेपाली धर्ती र राष्ट्रवादी चेतनालाई प्रमुख विषय बनाएर सरल भाषामा अभिव्यक्ति सम्प्रेषण गर्न आइपुगेका छन् ।

नेपाली जीवनलाई राजनीतिक, सामाजिक र आर्थिक मुक्ति प्रदान गर्ने दिशामा पटक पटक आन्दोलन, सत्याग्रह वाजनक्रान्ति भए पनि देश र जनताले उल्लेखनीय निकास पाउन नसकेका हुँदा कवि तीव्र विद्रोही भएर आफ्नो उकुसमुकुस प्रकट गर्न आइपुगेका छन् ।

नेपालमा २००७ साल, २०३६ साल, २०४२ साल, २०४६ र २०६२–२०६३ का आन्दोलनहरूले देश र जनतालाई सन्तोषप्रद उपलब्धि दिन सकेनन् । कवि केशवराज पन्तको कविहृदय छियाछिया भएर विरोध, असन्तुष्टि र विद्रोहलाई प्रकट गर्न उद्यत छ ।

साधना र परिष्कारमा केही कमी कमजोरी देखिए पनि कवि आफ्ना सोच र चिन्तनमा दृढप्रतिज्ञ छन् । कवि आफ्नो मातृभूमिप्रति नतमस्तक छन् । राष्ट्रियताप्रति सचेत छन् । कर्तव्य र आदर्शप्रति नीतिवान् छन् । कविता अनुभूति र संवेदनाको तरलतामा निःसृत हुन्छ । कविता अभिव्यक्ति सम्प्रेषणको कुशलतामा निहित हुन्छ ।

कवि केशवराज पन्तभित्र नेपाल र नेपालीको वर्तमान स्थितिप्रति व्यापक चिन्ता छ । नीतिहरूको महानीति राजनीति हो, राजनीतिको आडमा देश र जनताले सुशासन प्राप्त गर्नुपर्ने हो । न्याय र अधिकार प्राप्त गर्नुपर्ने हो, गलत शासक र नेताको हातमा परेको राजनीति मैलो र विसङ्गत हुँदै गएपछि देश र जनता शोषित भएका छन् । धोका, अन्योल र द्वन्द्वको शिकार भएका छन् । एउटा संवेदनशील दृष्टान्तलाई हेरौं ।
स्कूलका कलिला छात्रछात्रालाई
पढ्न छुटाएर, हातहतियार बोकाएर
ढाल बनाएर लडाइँमा होमियो
नेताहरूलाई संरक्षण गरियो
जिते सत्ता, हारे शहीद भन्ने
नेताका भनाइलाई आत्मसात् गरी
आफ्नै दाजुभाइ दिदीबहिनीलाई लडाए
मरे, मारे, गोली हाने, र अङ्गभङ्ग गरे …।

(द्वन्द्वका घाउ)

जीवन र जगत्लाई सूक्ष्मतापूर्वक अवलोकन गर्ने, मानवीय मूल्यका आदर्श, नैतिकता र यथार्थलाई विहङ्गम विश्लेषण परीक्षण गर्ने अत्यन्द्रिय चेतनाको परीक्षक कवि र कविता हो । विश्वदृष्टि भएको कविसित मानवतावादी दर्शनको बहुआयामिक चेत हुन्छ । ऊ त्यसैले विश्वन्यायाधीश पनि हो ।

भुइँमान्छेको धरातलप्रति न्याय गर्ने कविले यसका अतिरिक्त बहुसंख्यक शोषित, पीडित, न्यायप्रेमी मानवसमाजको पक्षमा आफ्नो स्वर तीव्र तुल्याउँदै आइरहेको हुन्छ । त्यसैले एउटा कवि सामान्य मानिसको धरातलबाट माथि उठेको ईश्वर–उँचाइमा रहेको हुन्छ भनिएको हो । कवि विश्वपरिवेशलाई गाउँ तहदेखि मूल्याङ्कन गर्न उद्यत भइरहेको हुन्छ । वस्तुस्थितिको दस्तावेज र अन्तरविरोधको झलक गाउँभित्र लुकेको झ्याल र दलानहरूले प्रस्तुत गरेको छन् ।
घर गोठमा खुइलिएका झ्यालढोका
पत्र उक्किएका, रङ उडेका भित्ताहरू
तुलसी मठ र आँगनका भत्किएका पर्खालहरूमा
टालटुल छैन, लिपपोत छैन
झ्यालढोका र दलानका थाममा रंग रोगन छैन ।

(गाउँ त सुनसान भएछ)

लोकतन्त्र आए पनि, गाउँगाउँमा सिंहदरबारको उपस्थिति भनिए पनि देश र जनताको मुहार उज्यालो हुन सकेको छैन । सुकिलामुकिला र टाठाबाठा व्यक्तिका हातमा शासन र सत्ताको बागडोर छ । देशमा व्याप्त अभाव, गरीवी र बेरोजगारीको कारण लाखौंको संख्यामा युवापुस्ता विदेश पलायन हुनेक्रम जारी छ । गाउँमा बालबालिका र वृद्धपुस्तामात्र छन् । श्रमशक्तिका अभावमा खेतबारीहरू बाँझा छन् पहाड रित्तिँदै छ, गाउँ सुनसान छ । प्राकृतिक स्रोत र सम्पदाले भरिएको देश युवा जनशक्तिका अभावमा उजाड हुँदै गइरहेको यथार्थ गाउँको सुनसान चित्रणले प्रष्ट पारेको छ । कवि कोरा कल्पना र कृत्रिम भावुकतामा बग्न चाहँदैन । केशवराज पन्त सत्यका उपासक हुन्, विकासका संवाहक हुन् । उनी त्यसैले गाउँको कथा अभिव्यक्त गर्ने क्रममा देशको आर्थिक, सामाजिक र राजनीतिक वस्तुस्थितिलाई निकट राखेर शासक नेताको गैरजिम्मेवारी चरित्रमाथि व्यंग्य प्रहार गर्न आइपुगेका छन् । कविले देशको माटो पढेका छन् । हिमाल, पहाड र तराईको प्रत्येक स्पन्दनसित साक्षात्कार गरेका छन् । स्वर्गमय देशलाई क्षयीकरण तुल्याउने राज्य संयन्त्रकोअव्यवस्थापकीय शैलीप्रति असन्तोष गरेका छन् ।

साधनाको प्रारम्भिक खुट्किलो चढ्दै गरेका कवि केशवराज पन्तभित्र प्रौढ विचार र परिष्कृत मिजासको भण्डार पनि त्यत्तिकै व्यापक भएर अघि बढिरहेको देखिन्छ । संवदेना र अनुभूतिको कोमल ध्वनिमा अनुगुञ्जित केशवराज पन्तको काव्यिक सम्प्रेषणता अभिव्यक्तिको गहनतामाथि कुशलतापूर्वक आत्मसात् गर्न आइपुगेको छ । अनुभूति, विचार, चेतना र द्रष्टाशक्तिको संवाहक भएर देखापरेको कवि केशवराज पन्त साधारण शब्दसित असाधारण भाव निर्माण गर्न आतुर छन् । समकालीन नेपाली कवितामा आफ्नो बेग्लै उपस्थिति देखाउन अग्रसर केशवराज पन्त शैली, भाषा र प्रस्तुतिले कतिपय सन्दर्भमा केही कतै आभ्यासिकजस्ता देखिए पनि दृष्टिचेतमा खल्बलिएका छैनन् । सबैले एकैखाले कविता लेख्नुपर्छ भन्ने छैन । न त कविता शास्त्रीय सिद्धान्तका ठेलीहरू पढेर लेखिने उद्यम हो । स्वतःस्फूर्त र स्वान्त प्रेषणले कविको जन्म भएको हुन्छ ।

पन्त आत्मानुष्ठानमा छन् । एकलव्य साधनामा छन् । त्यसैले उनी कवि हुन् । एउटा कवि विश्वमानवतावादको पृष्ठपोषक हुन्छ । यो कविको संवेदना मनुष्यत्व विघटनमा द्रवित हुन्छ । जीवन र जगत्को कल्याणदेखि बाहिरिन नसक्ने उसको करुणा सदैव जीवनवादी नै रहेको हुन्छ । कवि पन्तको यो निष्कलङ्क चिन्तन नै कविताको ऊर्जा हो । कविताको ऊर्जा बोकेर सुदूर गन्तव्यको यात्रामा निस्केका कवि पन्तलाई मातृशक्ति र मातृत्वको महत्ता पनि बोध छ । माटो र भुइँमान्छेको व्यथाकथा पनि बोध छ । गाउँका डाँडाकाँडा, झरना, नदी, पर्वत, कन्दरा लेकबेसीसित संवार्ता जारी गर्दै देशदुनियाँका भावतरङ्गमा लहरिँदै स्वाधीन, सार्वभौम चेतना स्थापना गर्न क्रियाशील कवि केशवराज पन्तको मूल दर्शन ‘नेपालवाद’हो, नेपाली जीवन हो । यिनको यो दर्शनभित्र एकता छ, अखण्डता छ, न्याय, समानता, सम्प्रभुता र स्वाधीनता सहितको समावेशिता छ । ‘वसुधैव कुटुम्बकम्’ को मूल उद्घोष गरेर राष्ट्रिय मेलमिलापको राग गाउन आइपुगेका यी कविको आलङ्कारिक ‘केमिष्ट्री’ दृष्टान्तीय छ ।
कोही भन्छ म मधेसी
कोही भन्छ म पहाडी
कोही भन्छ म हिमाली
तर म भन्छु
म नेपाली
हामी सबै नेपाली ।

(हामी नेपाली)

कवि र माटोको अन्योन्याश्रित सम्बन्ध हुन्छ । माटो भनेको कविले धारण गरेको राष्ट्र हो । शासक र नेताले कविको गरिमालाई नबुझ्न सक्छन् तर राष्ट्रलाई कविले बचाउँछ, र कविलाई राष्ट्रले जीवन्त तुल्याउँछ । अलेक्जेन्डर पुश्किनले रुसलाई चिनाएका छन् । बट्र्रोल्ट ब्रेख्तले जर्मनी चिनाउँछन् । त्यसैले बेलायत भनेको विलियम शेक्सपियर हुन् भने वाल्ट ह्वीटमेन भनेका अमेरिका हुन् । यस्ता कैयन् दृष्टान्त छन्, कविता र राष्ट्रका, पारस्परिक नाता सम्बन्धका । केशवराज पन्त कविता र माटोसित जोडिएका कवि भएकाले उनको नादबाट नेपाल र नेपालीको स्वर गुञ्जित हुनु भनेको अस्वाभाविक होइन ।

आमालाई शीर्ष स्थानमा राखेर, माटोको परिवेशलाई आरतीमा उतार्ने पन्तको कविचेत देशको पुजारी हो, ती आराधनामा सङ्गृहीत अधिकांश कविताले कबुल गरेका छन् । कवितामा प्रयुक्त शिल्प–भाषा परिष्कृत हुन नसके पनि भाव र सन्देशको गहिराइ उच्च छ ।

कविता लेख्ने कार्य जोखिमपूर्ण हुन्छ । यो जोखिम उठाउने प्रतिबद्धता नै महŒवपूर्ण विषय हो । विश्वदृष्टि बोक्ने कविचेत ‘महान् उत्तरदायित्व’बाट पृथक् बस्न सक्तैन । ऊ समाजका हरेक सूक्ष्म विषयहरूको कुरा उठाउँछ । प्रस्तुत कविताकृतिमा शहरको यान्त्रिक अवस्थिति र त्यहाँ उत्पन्न भइरहेका विसङ्गत पक्षमाथि विश्लेषण गरिएको छ । शहरमा बसोबास गर्ने मानवसमाज आत्मरति र उकुसमुकुसमा बाँचेको छ । वैयक्तिक सुखभोगको यान्त्रिक निद्रामा वाँचेको छ । शहरको असामाजिक
चरित्रतामा हार्दिकता अवसान भएको छ । प्रेम, सद्भाव, एकता, मेलमिलापका अभावमा शहरको एकाकी जीवन नैराश्य, कुण्ठा र आत्मगत परिपाटीबाट निरन्तर, क्षयीकृत हुँदै गइरहेको छ । शहरको तुलनामा गाउँले जीवन प्रेम, सद्भाव, मेलमिलाप र सहकार्यमा सङ्गठित भइरहेको हुन्छ । सामूहिक प्रयत्न र हार्दिकताका सुयोगहरूले गाउँको सत्चरित्रता विकसित भएको देखिन्छ । कवि पन्तले गाउँको स्वच्छता र शहरको प्रदूषणमाथि विहङ्गम अवलोकन गरेका छन् तथापि अधिकांश जमात शहरतर्फ आकर्षित हुनु परस्पर विरोधाभास देखिन्छ । कविताको संवेदनशीलताले शहरप्रतिको आकर्षण र त्यहाँको सङ्कुचन मनोदशाप्रति प्रत्युत्पन्न सन्त्रासलाई उद्घाटन गर्ने प्रयास गरेको छ । यसैगरी कवि पन्तले समाजमा व्याप्त आर्थिक असमानता, विभेद, शोषण, दमन र मानवीय मूल्य विघटनमाथि तीव्र प्रहार गरेका छन् । देशमा व्याप्त राजनीतिक अस्थिरता, भूराजनीतिक परिवेशको असन्तुलनदेखि मानवता विरोधी युद्ध, हिंसा र कोभिडले ल्याएको विश्वव्यापी सङ्कट आदिको पर्यावलोकन गर्दै कल्याण, शान्ति र परोपकारी भावनाको कामना गरेका छन् ।

कवि राष्ट्रिय पहिचान र एकताको प्रतीकमाथि टोपीको बखान गर्छन् भने मातृशक्तिको अपरिहार्यतामाथि आमाको अर्चना गर्छन् । कवि पन्त समाजको रूपान्तरण, र स्वतन्त्रताको उद्घोष गर्ने क्रममा ‘हामी नेपाली’, ‘आमा’ ‘द्वन्द्वको घाउ’ र ‘परिवर्तन’जस्ता ‘मुक्तिकामी’ कविता लेख्न पनि दत्तचित्त छन् ।

यस क्रममा कवि लोकतान्त्रिक पद्धतिबाट निर्माण भएको सरकारी संयन्त्रबाट देखापरेको विसङ्गत चरित्रप्रति कटाक्ष गर्दै तीव्र रोष प्रकट गर्न पनि चुकेका छैनन् ।
जानिराख बुझिराख
अब झुट नबोल जनतामाथि, भ्रम नछर
झुटा आश्वासन नबाँड
सत्य तथ्य कुरामात्र बोल
इमानदार र नैतिकवान् बन
आफूलाई सर्वज्ञानी सम्झेर
जनतामाथि बेइमानी नगर
आफ्नो धरातल राम्ररी टेक ।’

(गुरु बन्न नखोज)

माटो प्रेम, देशभक्ति, स्वाधीनतावादी चेत, अस्तित्ववादी चिन्तन, राजनीतिक विचलन, यान्त्रिक जीवनको तीव्र विरोध, प्रकृतिवादी विचरण, नारीजातिको महत्ता, एकता–अखण्डताको कामना, विश्वदृष्टिबोध, स्वावलम्बन, विभेदको अन्त्यजस्ता आदर्श र नैतिकतामाथि केन्द्रित पन्तका कविताहरूले समग्रमा विश्व मानवतावादको व्याख्यान गरेका छन् । कवि केशवराज पन्त आफ्ना कवितामा समस्या र जटिलताका रागहरू मात्र देखाउँदैनन्, समाज रूपान्तरणका लागि सुधार र क्रान्तिका सन्देशहरू पनि प्रकट गर्दछन् ।

कविले शासन संयन्त्रवाट भएका गैरजिम्मेवार भूमिकाप्रति प्रतिपक्षको आवाज उठाउँछ । कविले सत्ताको तावेदारी गर्दैन । सत्यवादिता, शान्ति–सहिष्णुता, सुधार, समन्वय र मानवतावादी विचारप्रति उद्यत कवि कर्तव्य र दायित्वबोधबाट अगाडि वढिरहेको हुन्छ । यी सबै बोध छ— कवि केशवराज पन्तलाई । धर्म, संस्कृति, परम्परा, जाति, भाषा र राष्ट्रप्रेमका हिमायती कवि केशवराज पन्त विचार र अनुभूतिले निर्भीक छन् । यिनी आफू जन्मेको गाउँ, आफूले खेलेको धुलोमाटोप्रति नतमस्तक छन् । राष्ट्र र राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर कविताको भावभूमि तयार गर्ने केशवराज पन्त राष्ट्रवादी धारका कवि हुन् ।

अभिव्यक्तिलाई सरल र सहज ढङ्गमा सम्प्रेषण गर्ने सन्दर्भमा पन्तभित्र रहेको कवि र भुइँमान्छेको सचित्र तस्वीर उतार्न आइपुगेको छ । समाजका ओझेल पक्ष र उत्पीडित वर्गका विषयमा जस्ताको तस्तै संवार्ता जारी गर्न आइपुगेका यी कविले प्राञ्जल भाषाको गहनता र लालित्यपूर्ण व्यञ्जनालाई चाहिँ उल्लेख्य रूपमा परिष्कार गर्न नसकेको हो कि, त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।

कविताको आराधना गर्ने क्रममा विश्वपरिवेशलाई चौतर्फी औंल्याउन आउनु उनको निजी वैशिष्ट्य हो । कवि पन्तले गाउँलाई छोडेका छैनन्, शोषित पीडित वर्गको समस्यालाई देखाउन छोडेका छैनन् । समग्रमा यिनले आफ्नो माटोको धरातललाई छोडेका छै्रनन् । आफ्नो पलपलको निश्वासमा मातृभूमिको स्पन्दनलाई छोडेका छैनन् ।
केशवराज पन्त समाजका जिम्मेवार व्यक्ति हुन् । यो जिम्मेवारी आम नागरिकमा विभाजित हुनसक्छ तर कविता लेख्ने कार्य विभाजन हुने विषय होइन । पन्तले विशिष्ट जिम्मेवारी कबुल गरेका छन् ।

त्यो विशिष्ट जिम्मेवारी भनेको कविता सिर्जना गर्ने कार्य भएको हुँदा उसले विश्वमानवतावादको सगरमाथा निर्वहण गरेको हुन्छ । एउटा सर्जकका नाताले कुनै अर्को कविचेतका बारेमा धारणा बनाउँदा साह्रै नकारात्मक हुन उचित हुँदैन । आफू सिर्जनाधर्मी र सकारात्मक सोचको सर्जक भएको हुँदा फूलको प्रशस्ति उद्घोष गर्नुभन्दा फूलको पूरै स्वरूप प्रस्तुत गर्ने आयामिक ध्वनि, शायद कविको काव्यिक सशक्तीकरणको उपज हो । पन्तले आफूले प्राप्त गरेको शिक्षा र संस्कारबमोजिम कविता–लेखन परम्परा निर्वाह गरेका छन् । शैली, भाषा, रूप, अलङ्कारको संवेदनशीलतामा केही कतै दुब्लो आकृति देखिए पनि यिनी त्यही ‘आयामिक ध्वनि’ हुन्, जसलाई बुझ्न र मनन गर्न सबै स्वतन्त्र छन् ।

सन् १९७१ को नोवेल पुरस्कार विजेता पाब्लो नेरुदा (जो चिलीका प्रख्यात कवि हुन्)ले अमेरिकी कवि वाल्ट ह्वीटमेनको कविताप्रति सम्मान र श्रद्धा व्यक्त गरेको क्षण सम्झना हुन्छ अर्थात् ह्वीटमेनप्रति व्यक्त सम्मानलेपाब्लो नेरुदाको उचाइ बढाएको थियो । त्यसैले पन्तको कविलाई आयामिक ध्वनिको त्यही पूर्ण पुष्पप्रेषणमा राखेर हेर्न उपयुक्त हुन्छ ।
धुम्बाराही, काठमाडौँ

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)