बिहिबार, भदौ ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्व सूचना प्रणाली र विपद् तयारीका विषयमा गम्भीर छलफल होस्ः सभापति थापा


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०८३
  • 49
    SHARES

काठमाडौँ – नेपाली काँग्रेसले मुलुकमा रसुवा बाढी विपद्बाट सिर्जित सङ्कट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ ।

 

 

पार्टीका सभापति गगनकुमार थापाले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा यससम्बन्धी कार्य योजना प्रस्तुत गर्दै राहत र उद्धारमा सङ्गठित रूपमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको हो । पार्टीका सांसद मोहन आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा प्रभावित जिल्लाका पार्टी सभापतिहरू, प्रदेश तथा सङ्घीय सांसदहरू र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूलाई समावेश गरिएको छ । आवश्यकताअनुसार पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरूलाई पनि यसै समितिमा जोडेर अघि बढ्ने निर्णय गरिएको छ ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन काँग्रेसले केन्द्रीय कार्यालयमा तत्कालै एक ‘सूचना तथा समन्वय डेस्क’ स्थापना गर्ने भएको छ । कार्यवाहक मुख्यसचिव मानबहादुर थापाको नेतृत्वमा रहने यस डेस्कले नुवाकोट, धादिङ र रसुवालगायतका प्रभावित जिल्लाका स्थानीय तह र वडा तहसम्मका प्रतिनिधिहरूसँग समन्वय गरी वास्तविक तथ्याङ्क सङ्कलन गर्नेछ ।

बैठकमा सभापति थापाले भन्नुभयो, ‘अहिलेको प्राथमिक कार्य सूचना सङ्कलन हो । कहाँ के कस्तो क्षति भएको छ र के कुराको आवश्यकता छ भन्ने स्पष्ट जानकारी भएपछि मात्रै हाम्रो सहयोग प्रभावकारी हुन्छ । हचुवाको भरमा गरिने सहयोगले कहिलेकाहीँ उल्टै असहजता निम्त्याउन सक्छ, त्यसैले सबै काम एक द्वार प्रणालीबाट व्यवस्थित गरिनेछ । अनावश्यक हल्ला र मिथ्या सूचना फैलाउने कार्य हाम्रो चरित्र होइन । हामी सरकार (स्थानीय, प्रदेश र सङ्घीय) सँग समन्वय गरेर नागरिकलाई सहयोग गर्न प्रतिबद्ध छौँ ।’

विपद् व्यवस्थापनको लामो अनुभव र विज्ञता भएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेललाई पनि यस समितिमा रहेर सहयोग गर्न अनुरोध गरिएको छ । राहत र उद्धारका लागि आवश्यक आर्थिक स्रोत जुटाउन पार्टीका सांसद, स्थानीय जनप्रतिनिधि र केन्द्रीय सदस्यहरूले योगदान गर्ने निर्णय भएको छ । पार्टीको आन्तरिक कोषबाट परिचालन हुने उक्त रकमका अतिरिक्त सरकारले बनाउने कोषमा समेत विगतका कोभिड र जाजरकोट भूकम्पका समयमा जस्तै सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ । सभापति थापाले सङ्कटको यस घडीमा राजनीतिक लाभका लागि सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या सूचना (इन्फरमेसन) र षड्यन्त्रका सिद्धान्तहरूबाट टाढा रहन आग्रह गर्नभयो । अहिलेको प्राथमिकता उद्धार र राहतमा भए पनि आगामी दिनमा पूर्व सूचना प्रणाली र विपद् तयारीका विषयमा गम्भीर छलफल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । हिम पहिरो र हिमताल विस्फोट जस्ता जोखिमका विषयमा दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनु भयो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)