काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरणको बाटो खोल्न आग्रह गरेका छन्। सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई लक्षित गर्दै पोखरेलले ओलीलाई पठाएको पत्रमा पार्टीभित्र पुनर्गठन, हस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।
श्रीमती मिरा पोखरेलको उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका पोखरेलले स्वास्थ्य उपचारका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउँदै पार्टी र राष्ट्रिय राजनीतिबारे आफ्नो धारणा पत्रमार्फत राखेका हुन्।
पोखरेलले एमालेभित्र विधि र पद्धति कमजोर हुँदै गएको तथा निर्णय प्रक्रियामा संस्थागत अभ्यास कमजोर बनेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताएका छन्। पार्टीलाई सामूहिक नेतृत्वका आधारमा थप सुदृढ बनाउनुपर्ने उनको धारणा छ।
उनले पार्टीभित्र ‘नियन्त्रण र सन्तुलन’को व्यवस्था तथा आलोचना–आत्मालोचनाको संस्कारलाई बलियो बनाउनुपर्ने उल्लेख गरेका छन्। आलोचनात्मक चेतलाई निरपेक्ष रूपमा अस्वीकार गर्दा पार्टीभित्र विचारको बहस कमजोर हुने उनको तर्क छ।
पत्रमा पोखरेलले अहिले चलिरहेको ‘पुनर्गठन–हस्तान्तरण–रूपान्तरण’लाई व्यक्तिकेन्द्रित रूपमा नभई संस्थागत प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। पुनर्गठन भन्नाले विचार, विधि, संगठन, नेतृत्व, कार्यशैली र निर्णय प्रक्रियामा आवश्यक परिवर्तनलाई बुझ्नुपर्ने उनले उल्लेख गरेका छन्।
पोखरेलले ओलीको लामो नेतृत्वकालको स्मरण गर्दै विगतमा पनि आफूले नयाँ नेतृत्व चयनका लागि सम्मानजनक रूपमा मार्गप्रशस्त गर्न आग्रह गरेको बताएका छन्। उनका अनुसार ओली पार्टी अध्यक्षका रूपमा लामो समय नेतृत्व गरिसकेका छन् भने संविधान जारी भएपछि प्रधानमन्त्रीका रूपमा समेत लामो समय जिम्मेवारी सम्हालेका छन्।
उनले ओलीको कार्यकालमा सकारात्मक कामसँगै कमजोरीहरू पनि देखिँदै गएको उल्लेख गर्दै त्यसलाई समयमै सम्बोधन गर्न नसके पार्टी, कम्युनिस्ट आन्दोलन र मुलुकमै क्षति पुग्न सक्ने बताएका छन्।
पोखरेलले पछिल्ला राजनीतिक घटनाक्रम तथा निर्वाचन परिणामबाट पार्टीले गम्भीर सन्देश प्राप्त गरेको उल्लेख गरेका छन्। ती घटनालाई नयाँ सुरुवात गर्ने अवसरका रूपमा लिनुपर्ने भए पनि त्यसअनुसार अघि बढ्न नसकिएको उनको भनाइ छ।
‘विगतमा जे भयो, भयो’ भन्ने निष्कर्षसहित पोखरेलले अब ओलीकै सकारात्मक भूमिकामा सम्मानसहित नेतृत्व हस्तान्तरण गरी विधिसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।
पार्टीको पुनर्गठनले वैधानिक व्यवस्था अद्यावधिक गर्नेदेखि संगठनात्मक संरचना पुनर्व्यवस्थित गर्ने, नेतृत्वमा आवश्यक परिवर्तन ल्याउने र कार्यसम्पादन शैली सुधार गर्ने काम समेट्नुपर्ने उनले बताएका छन्।
देशभरका कार्यकर्ताको चाहना र मागअनुसार ओलीले सम्मानजनक रूपमा मार्गप्रशस्त गर्नु अहिले महत्वपूर्ण रहेको उल्लेख गर्दै पोखरेलले यसबाट पार्टी पंक्ति र आम जनतामा नयाँ आशा जगाउन सकिने बताएका छन्।
श्रीमतीको उपचारका कारण आफू अहिले पारिवारिक समस्यामा केन्द्रित हुनुपरेको उल्लेख गर्दै पोखरेलले सोही अवस्थाबीच पार्टी जीवन र राष्ट्रिय राजनीतिबारे आफ्ना धारणा राखेको जनाएका छन्।
