काठमाडौँ । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म संप्रेषण गर्ने निर्णय गरेको छ ।
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई एकरूपताका साथ अध्ययन गरी तल्लो तहसम्म पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको भावना पैदा गरेको निष्कर्ष सचिवालय बैठकले निकालेको छ । प्रतिवेदनलाई पार्टीका सबै तहमा एउटै ढंगले बुझ्ने, अध्ययन गर्ने र संप्रेषण गर्ने विषयलाई बैठकले विशेष जोड दिएको उहाँले बताउनुभयो ।
सचिवालय बैठकमा पार्टीका विभिन्न विभाग तथा कमिटीमा मनोनयन गर्ने व्यक्तिहरूबारे समेत विस्तृत छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो । मनोनयन कसलाई र कसरी गर्ने भन्ने विषयमा छलफल भए पनि त्यसको अन्तिम टुंगो भने केन्द्रीय कमिटी बैठकबाट लगाइने उहाँले बताउनुभयो ।
पार्टी एकतामा आएका तथा पछिल्लो समय एमालेमा प्रवेश गरेका नेताहरूलाई विभिन्न कमिटीमा मनोनयन गर्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकले मनोनयनसम्बन्धी विषय टुंगो लगाएपछि सार्वजनिक गरिने एमालेले जनाएको छ ।
