शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिन उपराष्ट्रपति यादवको आग्रह


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २२, २०८१
  • 266
    SHARES

काठमाडौँ ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सर्ने रोगको तुलनामा नसर्ने रोगले धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट मृत्यु हुनेको सङ्ख्या उच्च रहेकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

काठमाडौँमा आज ‘नेपाल डाइबिटिज’ संस्थाले आयोजना गरेको ‘डाइबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्नुहुँदै उहाँले मधुमेह नियन्त्रणमा जोड दिनुभयो । “यो रोगलाई निर्मूल पार्न नसके पनि अनुशासित जीवन शैली, खानपान, शारीरिक व्यायाम, नियमित स्वास्थ्य जाँच र समयमै औषधि सेवन गरी नियन्त्रणमा राख्न सकिन्छ,” उहाँले भन्नुभयो, “मधुमेह ‘क्रोनिक मेटाबोलिक’ रोग हो, जुन रगतमा ग्लुकोज (चिनी)को मात्रा उच्च स्तरमा पुगेपछि लाग्छ । समयमै यो रोगको पहिचान, निदान, व्यवस्थापन र रोकथाम गर्न नसके व्यक्तिको शरीरमा विभिन्न किसिमका जटिलता निम्त्याउन सक्छ ।”

नेपालजस्तो विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु र रोगको परीक्षण समयमा हुन नसक्नुले समस्या भएको उहाँले बताउनुभयो । “परीक्षणको अभावले गाउँघरमा मधुमेहबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएकामा चिन्तित छु,” उहाँले भन्नुभयो, “शरीरमा प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिनको उत्पादन गर्न छाडेपछि लाग्ने यो रोग तीन दशकयता विश्वमा नाटकीय रुपमा बढेको तथ्याङ्कहरुले देखाएको छ ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनअनुसार विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेह छ, जसमध्ये अधिकांश निम्न र मध्यम आय भएका देशहरुमा बसोबास गर्दछन् । यसैगरी, प्रत्येक वर्ष १५ लाख मानिसको मृत्यु मधुमेहकै कारणले हुने गरेको छ । उपराष्ट्रपति यादवले यी डरलाग्दा तथ्याङ्कहरुले मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर नरहेको उल्लेख गर्नुहुँदै सबैलाई आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत, सावधान र गम्भिर बन्न आग्रह गर्नुभयो । उहाँले सीमित स्रोत र साधनका कारण स्वास्थ्य परीक्षण, परामर्श र औषधि उपचारका लागि ‘डाइबिटिज नेपाल’ जस्ता संस्थाहरु ग्रामीण भेगमा पुग्न जरुरी रहेको बताउनुभयो ।

“सरकारले चाहेर पनि कतिपय काम गर्न नसकिरहेको अवस्थामा यस्ता सङ्घसंस्थाले गर्ने शिविरहरु महत्वपूर्ण हुन सक्छ,” उहाँले भन्नुभयो, “सम्मेलनमा सहभागी सम्पूर्ण विशेषज्ञलाई स्वास्थ्यजस्तो महत्वपूर्ण विधामा आफूले प्राप्त गरेका ज्ञानलाई एकआपसमा बाँड्न सफलता मिलोस् ।” कार्यक्रममा धुलिखेल हस्पिटललाई ‘डाइबिटिज अचिभमेन्ट अवार्ड(२०२४’ समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)