कटुन्जे – अविरल वर्षापछि आएको बाढी तथा पहिरोले पुराएको क्षतिबारे अध्ययन गर्न सूर्य विनायक नगरपालिकाका जनप्रतिनिधिहरूले स्थलगत अवलोकन गरेका छन् । लगातार तीन दिनसम्म परेको वर्षाका कारण आएको बाढी पहिरोले पुराएको क्षतिको अवस्था बारे जानकारी लिन सोमबार १० वटै वडाको स्थलगत अनुगमन गरिएको हो ।
नगरप्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता तिमिल्सीना भट्टराई, १० वटै वडाका वडाध्यक्षहरू र प्राविधिकको टोलीले अवलोकन गरेको हो । लगातार तीन दिनसम्म भएको वर्षा पछि आएको पहिरोमा परि नगरपालिकामा ५ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा पनि नोक्सानी पुराएको छ । बाढी पहिरो पीडितलाई राहत तथा पुनर्स्थापनाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र माथिल्लो निकायसँग पनि समन्वय तथा पहल गर्ने नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले बताए ।
नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नंं ९ का वडाध्यक्ष भगवान् खत्रीले पहिरोको कारण अवरुद्ध सडक एक्स्काभेटर प्रयोग गरी खुलाउने काम भइरहेको जानकारी दिए। बाढी पहिरोले विभिन्न वडामा पुराएको क्षतिको विवरण समेत सङ्कलन भइरहेको संयोजक खत्रीले बताए । क्षतिको यकिन विवरण आइसकेपछि आवश्यक निर्णय गरिने नगरपालिकाले जनाएको छ ।
अनुगमन टोलीमा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ५ का कार्यवाहक वडाध्यक्ष मनोज थापा, ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान् खत्री, १० का वडाध्यक्ष शिवराम रावत,पूर्वाधार शाखा प्रमुख जनक न्यौपानेसहित कर्मचारीहरू सहभागी थिए ।
