ललितपुर – तिहार सुरु हुनै लाग्दा काठमाडौँ उपत्यकाका किसानलाई धान बाली भित्र्याउने चटारो छन् ।
मङ्सिर लाग्न नपाउँदै धान बाली पाकेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसान यति बेला व्यस्त छन् । तिहारअघि नै धान बाली भित्र्याउने चटारो उपत्यकाका किसानलाई छ । मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । गत असार–साउनमा रोपेको धान समय अगावै पाकेकाले खोकनाका किसानहरू तिहारअघि धान भित्र्याउन व्यस्त भएका हुन् । खोकनाका किसानले खेतमा पोखरेली, ताइचिन र मसिनो धानको खेती गरेका छन् । ललितपुर महानगरपालिका भित्र पर्ने खोकनाका अधिकांश मानिसहरू कृषिमा आश्रित छन् । तर काठमाडौँ–निजगढ द्रुतमार्ग लगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धान खेती कमी हुँदै आएको खोकनाका किसान बताउँछन् । सरकारले आवास क्षेत्र घोषणा गरेकाले धान खेती गरे पनि समय बीउ सरकारले दिन छाडेको गुनासो गरे । किसानहरूले विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएकाले भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आएको बताए । विगतका वर्षहरूमा तिहारपछि धान बाली भित्र्याउने गर्दथे । यो वर्ष समय अगावै धान पाकेकाले धान भित्र्याउने चटारो रहेको किसान बताउँछन् । ललितपुर खोकनामा किसान सिद्धिचरण डङ्गोलले विगतको भन्दा उत्पादनमा कमी आएको बताउनु भयो । उहाँले विगतमा प्राङ्गारिक मल हुँदा धान बाली राम्रो हुने गरेको तर अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न नसकेको बताउनु भयो । उहाँले खेती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेती गर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन नसकेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो,‘विगतको भन्दा उत्पादनमा कमी आएको छ । विगतमा प्राङ्गारिक मल हुँदा धानका बाला राम्रो लाग्थ्यो । अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न सकेको छैन । पहिला खेतीपाती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेती गर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन गाह्रो मान्ने गरेको छ । विगतको भन्दा मानिसहरूको बस्ती भएकाले धेरै खेतीयोग्य जमिन छैन ।’
ललितपुर बुङमतिका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताउनु भयो । उहाँले अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको अवस्थामा उत्पादन हुने क्षेत्रलाई आवास क्षेत्र बनाउन नहुने बताउनु भयो । उहाँले अहिले विगतको तुलनामा पछिल्लो समय धान उत्पादनमा कमी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्न थाल्यो भने के खाएर बस्ने हो । अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको छ । महँगी बढेको छ । चार रोपनीमा धान फलाएको छु । विगतको तुलनामा धान फल्न सकेको छैन । सरकारले समयमा मलको उपलब्ध नगराउँदा उत्पादन बढ्नेको छैन ।’
ललितपुर बुङमतिका अर्का किसान रामकृष्ण महर्जनले पनि विगतको तुलनामा धान उत्पादन कमी आएको बताउनु भयो । उहाँको रासायनिक मल नपाउँदा धान उत्पादन कमी भएको भनाई थियो । ललितपुर खोकनामा सानु डङ्गोलले पनि विगतको तुलनामा अहिले रासायनिक मलको मात्रै भर पर्दा धान उत्पादन कमी आएको बताउनु भयो ।
समय अगावै धान पाकेकोले अहिले भक्तपुर,ललितपुर र काठमाडौँका किसानले धान बाली काटिसकेका छन् । दसैँ मनाएसँगै धान भित्र्याउने चटारोले अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ । —न्युज एजेन्सी नेपाल
