काठमाडौँ – पर्यटकीय नगरी पोखरामा पौष १३ गतेदेखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव २०२४ हुने भएको छ ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पर्यटनको राजधानी पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रूपमा सडक महोत्सव गर्दै आएको छ । यो वर्ष पनि विगतमा जस्तै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर २६ औँ पोखरा सडक महोत्सव २०२४ गर्ने लागेको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा लेक साइड क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुने उल्लेख गर्नुभयो ।
‘सडक मै खाऊँ,सडक मै नाचौँ, सडकमै रमाऊँ’भन्ने उद्देश्यले आयोजित महोत्सवले पोखराको कला÷संस्कृति प्रवर्द्धन गर्न,स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन महत्त्वपूर्ण भुुमिका खेल्ने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो। उहाँले सडक महोत्सवले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान,विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने उल्लेख गर्नु भयो । उहाँले महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम,मौलिक भेसभुसा प्रदर्शन,झाँकी प्रदर्शन प्रतियोगिता,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,लाइभ कन्सर्ट लगायत मुख्य आकर्षण रहेको बताउनु भयो ।
पाँच दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने आङ्कलन रहेको आयोजकले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको लागि पोखराका होटलहरु करिब ४० प्रतिशत बुकिङ हुन थालेका छन् । महोत्सवमा रेस्टुरेन्ट अगाडि आफ्नै स्टलहरू राख्ने र महोत्सव क्षेत्रमा बाहिरबाट आउन नपाउने व्यवस्था गरेको छ । नयाँ वर्षको लागि पोखरामा ७ सय बढी होटेलमा ५० हजार बेडहरू उपलब्ध रहेको रेवान पोखराका निर्वतमान अध्यक्ष नरेश भट्टराईले जनाकारी दिनुभयो।
रेवान केन्द्रले पनि नेपाली नयाँ वर्षलाई लक्षित गरी दरवारमार्ग र ठमेल क्षेत्रको सडकमा महोत्सव आयोजना गर्न लागेको रेवानका केन्द्रिय अध्यक्ष संर्धष विष्टले जानकारी दिनुभयो। यस प्रकारका महोत्सवले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै आन्तरिक एवं बाह्य पर्यटकको बसाई लम्बाउन सहयोगी हुँदै आएको उहाँले बताउनुभयो।
