समय सूत्रमय भएर गएको छ । लामा लामा कथा हालेर बताउने र त्यसरी सुन्ने बानी फेरिदै छ । पाठकहरु छोटा, संक्षिप्त र सूत्रात्मक सिर्जना मन पराउन थालेका छन् । पाठकसंगै स्रष्टा पनि बदलिएका छन् र भन्न थालिएको छ –‘थोरै भनौ तर धेरै दिर्औ’ । गहन विचार, सरल तर आक्रामक प्रस्तुतिसाथ मनलाई बशीभूत गर्ने र मष्तिष्कलाई चड्का दिने सिर्जना दिएर नै पाठकलाई आफ्नो बनाउन सकिन्छ । निर्मलरमण पराजुलीको मुक्तक यात्रा पनि यही बाटो हिडेको छ । मन पक्डिन र दिमाग घोच्न पराजुली सिपालु छन् । विषय टिप्न र भावशिल्पले रङ्गाउने अनौठो क्षमता छ उनीमा । समय र समाज छाडेर स्रष्टा कसरी बाच्न सकोस् ?
कविता, मुक्तक, नाटकहरुमा प्रकाशित निर्मलरमण पराजुली मुलतः मुक्तककार हुन् । चालिसको दशकबाट लेखनयात्रा शुरु गरेका पराजुलीले सत्तरीको दशकसम्म फेरि पुस्तकाकारमा प्रकाशित भएनन् र अतृप्त चाहनाको मझेरीमा (कवितासङ्ग्रह, २०७३) बाट पुन सक्रिय भए । त्यसपछि अक्षरको खेती (मुक्तकसङ्ग्रह, २०७४)? सम्मोहन (मुक्तकसङ्ग्रह, २०७५) र देश लेख्न हतार छ (कवितासङ्ग्रह, २०७६) कृतिहरुमा प्रकाशित छन् । त्यसो त उनका विभिन्न पत्रिका र सामाजिक सञ्जालको आफ्नै वालपोटष्टमा उनी दिनहू प्रकाशित हुँदै आएका छन् । पराजुली मुक्तक लेख्न मन पराउछन्, मुक्तककै अभियनमा गाढा देखिन्छन् । साहित्य अभियान र यसैको श्रीबृद्धिमा अहोरात्र सतत छन् ।
निर्मल पारजुलीका मुक्तकमा प्रवेश गर्नु अघि मुक्तकका विषयमा थोरै प्रकाश पारेर त्यसपछि उनको मुक्तक कलाको मूल्याङ्कन गर्नु सान्दर्भिक हुन्छ । टुक्का र अनुप्रास मिलाएर गीत वा दोहोरी खेल्ने परम्पराबाट मुक्तकको प्रार्दुभाव भएको भनाइ छ । दोहोरी वा गीतमा च्वास्स झड्कासाथ गहिरो भाव दिन आवश्यक मानिएर होला मुक्तकले अस्तित्व पायो । कम शब्द प्रयोग गरिएका छरितो कवितामार्फत भन्न खोजेको कुरा ठ्याक्कै भन्ने सामथ्र्य मुक्तकले राख्छ । प्रत्येक मुक्तकले एउटा सानो प्रसंगलाई मात्र उठाउछ । मुक्तक एक अँजुली कविता होइन, एक चिम्टी कविता हो जो तिख्खर र निख्खर हुन्छ । यो गेयसुलभ पनि हुन्छ । सूत्रकथा, लघुकथा जस्तै मुक्तक पनि थोरै भनेर धेरै बताउने साहित्य प्रविधा हो । आयतनमा संक्षिप्त, संरचनामा चतुस्पदीय, शैलीमा मीठासता र भावमा गहनता भएपछि कविता मुक्तक बन्दछ । गेयसुलता पनि यसको अतिरिक्त चरित्र हो ।
मुक्तकलाई फारसी रुबाईको सानतामा पनि लिने गरिन्छ । फारसी रुबाईको रुपान्तरण नेपाली मुक्तक होइन । भावशैलीमा उस्तै भएपनि यी दुईमा सामान्य चारित्रिक भेद पाइन्छ । मुक्तक बहर वा छन्दमा लेखिएको पहिचान दिलाइन्छ, रुबाईमा त्यसो गरिन्न । मुक्तकका सबै हरफमा मात्रात्मक र अक्षरात्मक समानता देखिदैन, रुबाईमा त्यो आवश्यक छ ।
न शास्त्रीय रुपमा भनिएको चतुस्पदीय वा एएबीए संरचनामा नै मुक्तक अटाउने गर्दछ । गजलको आयतनसंग मुक्तक समानन्तर हिड्नसक्दैन । शास्त्रीयतामा मुक्तक चतुस्पदीय नै हुन्छ । पहिलो, दोस्रो र चौथो हरफमा सान्धनिक एकमाना रहन्छ, अनुप्रासिक समानतामा रहन्छ, तेस्रो हरफ आनुसङ्गिक अर्थवत्तामा भैकन पनि संरचना र अनुप्रासमा स्वतन्त्र हुन्छ । तेस्रो स्वतन्त्र हुनु र पहिलो, दास्रो र चौथो काफिया (अनुप्रास) मिलेको हुनु मुक्तकको शास्त्रीय संरचना हो । भन्नलाई मुक्तक मुक्त हुनुपर्छ भनेपनि खास संरचना–संधानमा बाधिएकोले संगतिवद्ध हुन्छ । पहिलो हरफ उठान हो, दोस्रो हरफ पहिलोलाई समर्थन र संपुष्टि गर्छ, तेस्रो हरफ स्वतन्त्र भैकन पनि चौथो हरफको मुख्य सन्देश (स्वाद) का लागि विशिष्ट आधार दिन्छ । चौथो हरफ विशिष्ठ सन्देशसहित कविताको मर्म पूरा गर्छ ।
छरितो हुनु मुक्तक कविताको विशिष्ट गुण हो । मुक्तकमा कमभन्दा कम शब्द प्रयोग गरी छरितो बनाइएका हुन्छ । कुनै हरफ लामो र कुनै छोटो पार्दा पनि मुक्तकीय सन्तुलन मिल्दैन । न चार पद र अनुप्रास मिल्दामा मात्र मुक्तकीय मिठासता पाइन्छ । प्रत्येक मुक्तकले एक एक संवेग वा एक भावको झोक्का दिनु पर्छ, त्यो झोक्का गहिरो र अर्थवान हुनैपर्छ । जस्तो कि तलको मुक्तकहरुमा मुक्तककारहरु समाजको विशिष्ट परिवेशबाट वाक्क भएर त्यसलाई भत्काउन वजनदार झोक्का दिन्छन्, जुन झोक्का मनमा त्यही समय उब्जिएको थियो र पाठकलाई पनि त्यसले विशिष्ट स्ट्रोक्स दिएको छ ।
‘यति खराव लेख्न मन छ
मन्दिरमा सराव बेच्न मन छ
भक्त बनून यसरी कि
मूर्ति जलाएर तनाव मेट्न मन छ ।’ (अश्र, बालेन)
‘मैले पिएकोमा रिसाएका साथीहरु
पिएर हेर, पिउन झन गा¥हो छ
मरेर शहीद हुनेहरु
जिएर त हेर जिउन झन गा¥हो छ’ । (मेरा साथीहरु, भूपि शेरचन)
कविहरु कल्पनाको ब्रम्हाण्ड बनाउछन्, मुक्तककार चाँही त्यही ब्रम्हण्डको एउटा सानो समय झोक्का टिप्छ र ब्रम्हाण्डलाई नै हिर्काउछ । त्यो हनाइ मायामा वा अनुरागमा हुसक्छ, व्यङ्ग्य वा विरोधमा हुनसक्छ, विचार बौद्धिकतामा हुनसक्छ । उल्लेख गरिएका दुई झोक्का समयको निकै लामो अन्तरालमा छन् । करिव आधा शताव्दी फरकका यी हनाईमा सयमचेत र त्यसप्रतिको युवा राग (बैराग) छ । बालेनका भक्त र मूर्ति एवम् भूपिका साथी र शहीद त्यै राग (बैराग) का प्रतीकीय रुप हुन् ।
साधना आफै शक्ति हो । विधागत ज्ञान र अभिव्यक्ति सजाउने शिल्प नभएका त्यो कला बन्दैन । त्यो कला विचार, व्यञ्जना, भाव, प्रभावको पुञ्ज हुनुपर्छ । मुक्तककार पराजुली आफ्ना विषय, विधा र विचारमा स्पष्ट छन् । पराजुलीका मुक्तकका भावभाषा, विषय र केन्द्रीयताका आधारमा उनका मुक्तकहरु उनका सिर्जनालाई (क) प्रेम, प्रणय र अनुराग, (ख) विरह, विछोड र वैराग्य, (ग) देशभक्ति र राष्ट्रप्रेम, (घ) सामाजिक नैतिकता र मानवीय मूल्य र (ङ) शासकीय विधि व्यवस्थामा सुधार गरी पाँच कोटिमा राखेर विवचना गर्न सकिन्छ ।
(क) प्रेम, प्रणय र अनुराग
कविता, कवि र प्रेमको सम्बन्ध भावनात्मक प्रगढतामा जोडिएको हुन्छ । कविहरु पे्रमिल हुन्छन्, प्रेमिल भावनाहरु कविता बन्छन् । कविता बनेपछि ती प्रेमकै खातिर मन्त्र बन्दछन् । प्रेम र कविताको सम्बन्ध सबैभन्दा पुरानो हो र सबै भन्दा ताजा पनि । प्रेम कविहरुका लागि कविता लेख्ने प्रेरणा हो, कविता प्रेमीहरुको भाव स्पन्दन अभिव्यञ्जन हो, प्रेमलाई गहिराईसम्म पुगेर अभिव्यक्त गर्ने माध्यम हो । कवि निर्मल पराजुली मुक्तकमा प्रेमिल भावनासंग खेल्छन्, सलल्ल वग्छन् र ठ्वाक्क अडिन्छन् । किनकी धेरै लामो यात्रा मुक्तमा हुँदैन, यहाँ त केवल एक भुल्का माया, एक झुल्क प्रवाह र त्यसले सिर्जना गरेको छोटो झोक्का मात्र हुन्छ ।
‘तिम्रै मायाले जबदेखि, भित्र मुटु छुन थाल्यो
दुखेजस्तो पोलेस्तो, कस्तो कस्तो हुन लाग्यो
कहाँ देखूँ कहाँ भेटूँ, छटपटी झन बढेपछि
तिम्रो यादले साँच्चै मेरो, भित्री मनै रुन थाल्यो ।’ (अक्षरको खेती, ४५)
+ + +
‘माया गर्छु भन्दै तिमी, मेरो जिन्दगीमा आएपछि
दुख सुख सँगै जिउँछु, भन्दै माया लाएपछि
पीडा व्यथा सबै भुलेँ, आँशु पनि झर्न छोडे
घाइते मुटु निको भयो, तिम्रो माया पाएपछि ।’(मार्च १९, कविको वालपोष्ट)
मुक्तककार पराजुली प्रेममा मुक्त छन्, प्रेमिल भावनालाई मुक्तकका हरफहरुमा टुक्राटाक्री मिलाएर पजुल्याउन पुग्छन्, फ्यालिसिया डेले ‘स्पार्टा कि हराएकी छोरी’ मा प्राचीन पौराणिक कहावत (मिथ) का टुक्राटाक्रीसाथ आधुनिक विषय पस्केजस्तै । फ्यालिसिया नारी अस्तित्व, पहिचान र सामाजिक अपेक्षाको अन्वेषण गर्छिन्, निर्मल मुक्तक कवितामा प्रेमाभाव र हृदयका मलायम तरङ्गलाई अन्वेषण गर्छन् । तर नारी वा पुरक्ष भनेर प्रमका अभिव्यक्तिलाई वर्गीकरण गर्दैनन् । नारी वा पुरष, प्रेमी वा पे्रमिका जे भएपनि मनका तरङ्ग र तिनलाई स्पर्श गरेर उर्लिने भावहरु एकै हुन्छन् । निर्मलका मुक्तकमा संवेदनको लिङ्ग छैन । त्यसैले मुक्तकका कथा सबैका कथा हुन् । ती रोमाञ्चक, भव्य र स्पर्शी छन् ।
निर्मलले प्रेम प्रणय र अनुरागका थुप्रै मुक्तक लेखेका छन् । ती प्रकाशित सङ्ग्रहमा मात्र समेटिएका छैनन्, दिनहूँजसो सामाजिक सञ्जालका भित्तामा टासिने वा साहित्यिक कार्यक्रममा बाचन हुने मुक्तकमा पनि प्रेमका दुई मनहरु जोड्ने सेतुका रुपमा गुञ्जिएका छन् । फूलको मुस्कुरावटजस्तै उज्याला र प्रेमप्रणयका पङ्क्तिमा लामवद्ध छन् । ती प्रेमका अभिव्यक्ति र प्रम अनरागका सूत्र दुवै हुन् । उनका मुक्तक पढ्दा प्रेमभावको सञ्चार हुन्छ । पाठक÷स्रोता प्रेमको सागरमा पुग्छ र आआफ्नै प्रेमावस्थामा पु¥याइदिन्छ ।
मुक्तक धेरै त प्रेमकै विषयमा रमाएको छ । मुक्तकले जीवन वोक्ने, जीवन नै बताउने र जीवननै देखाउने गर्छ । जीवनको सर्वाधिक अर्थवान विषय प्रेम, माया, अनुराग हो; यीनै विषय सिर्जित घटना र अनुभूति हुन् । जीवन नभएको प्रेम हुँदैन, प्रेममा नरङ्गिएको जीवन हुदैन । कविहरु अनुभूति र भावना टिप्न सिपालु हुन्छन् । कविहरु प्रेमका पक्षपाती हुन्छ्न्, प्रेमका महिमा गाउछन्, प्रेमबाट प्रेरणा लिन्छन् । प्रेमलाई व्यक्तिबाट सामाजिकीकरण गर्छन् । कविहरुको अर्थमा प्रेम सिर्जनाको आधार हो, सभ्यताको रुप हो, हार्दिकताको सूत्र हो र मानवीयताको मूल्य हो । कवि पराजुलीका प्रेमिल मुक्तकहरुले जीवनका हार्दिक स्वच्छतालाई पवित्र अँजुलीले उभाएर पाठकहरुलाई दिएको छ । प्रेमभाकामा निर्मल मुक्त हुन्छन् र सबै प्रेमीका अनुभूति पोख्छन् ः
‘निष्पट्ट यो जिन्दगीमा, तिम्ले प्रेमदीप बालेपछि
मेरो साथमा सँगै जिउन, तिम्ले पाइला चालेपछि
क्ति खुसी भयो जीवन, भनी साध्य कहाँ छ र ?
मेरो घरमा तिम्रा हातका चुरा बज्न थालेपछि ।’ (नेप्लिज डायस्पोरा, २० चैत्र, २०७६)
(ख) बिरह, बिछोड र बैराग्य
प्रेममा कवि जति भावकु हुन्छ, विरह व्यथामा झनै गरिहरिन्छ । प्रेम प्रोत्साहन हो, विरह र विछोड घनत्व र भावकुता हो । अनुरागमा भन्दा करुणाले कवित्वलाई निखार्छ । मुक्तकका सुत्र सुक्तिहरु मनव हृदयका गहिरा घाउ हुन्, भावनाका धाउ हुन् । निर्मल पराजुलीका प्रेमिल मुक्तकहरु उत्साह र रोमान्सका कोमल भुवा हुन्; विछोड र विरहका चाँही भावुकताका गहिराई । प्रेम वियोग भएपछि, माया टुक्रिएपछि ती माया र मिलन विरह र बेदनामा शब्दका सहारा खोज्छन् । ती शब्दहरु भावुकता हुन्छ । विरहभावले कविलाई पूर्णता दिन्छ ।
‘आज मलाई खवर आयो, श्रीमतीले छोडी अरे
सँगै जिउने, सँग मर्ने, बाचा कसम तोडी अरे
विदशे आएँ दुःख गर्दै, सामान पैसा पठाइ रहें
उसले मलाई लात हानी, अन्तै नाता जोडी अरे ।’ (अक्षरको खेती, ६७)
+ + +
‘तिम्ले माया मारेपछि, आँसु झर्ने रोग लाग्यो
घरीघरी तिम्रै यादमा, मुर्छा पर्ने रोग लाग्यो
मेरो दिलमा छुरा हानी, तिम्ले बाटो मोडेपछि
बाँच्ने चाह हुँदा हुँदै, छिट्टै मर्ने रोग लाग्यो ।’ (ऐ,११३)
अक्सर कविहरु विरह व्यथाका उत्पादन हुन् । आफ्ना पीडाका अनभूति पनि ओकल्छन्, अरुको पीडाको पनि समानुभूति ओकल्छन् । यही सामथ्र्यले कवि बनाएको हो । निर्मलका मुक्तक हरफभित्र आफ्ना अनुभूति र अरुका समानुभूति दुवै झल्किन्छन् । खुस्वुकी कवि कहलाइने उर्दू लेखिका परवीन शाकिर प्रेम विछोडपछि प्रेमीलाई फूलको थँुगाले प्रहार गर्छिन्, विछोग पनि छुट्टै अनुराग छ । निर्मलका मुक्तक पनि विछोडपछि इष्यामा होइन, अनुरागमा छन् तर आफू भने बैराग्य र बेदनामा पोखिन्छन् । किनकी उनीसँग असीम पीडा छ । उनका मुक्तकले प्रेम, आत्मीयता, विछोड, विरहदेखि मनदेखि मनसम्मका दूरीलाई कोमल भावमा व्यक्त गरेका छन् । प्रेममा आत्मिक स्पर्श उनको मुक्तकीय विशेषता हो, त्यसरी नै विछोडमा तिनै स्पर्श फुलको मुलायाम मालिस बन्ने गर्दछन् । प्रेमले मनदेखि मनसम्मको अव्यक्त सुत्र खिच्छ, विरहमा मुक्तले फेरि प्रेमको अव्यक्त सुत्र खिच्छ । कविलाई थाहा छ प्रेम कहिल्यै सिद्धिदैन, स्वरुप मात्र बदल्छ । प्रेम र विछोडकी आफै विख्यात विम्ब बनेकी अमृत प्रीतम छुटेको सम्बन्ध र टुटेको प्रेमलाई कविता मार्फत पुन जीवन दिने आग्रह गर्छिन् । निर्मलका यी मुक्तकीय अभिव्यक्ति शाकिर र अमृताका पुन प्रेम आव्हान जस्तै प्रेमलाई अमर बनाउने विछोड गीत बनेका छन् ः
‘मया लगाई एक्लै पारी, मलाई छोढी गए पनि
सँगै जिउने सँगै मर्ने, कसम तोडी गए पनि
मेरो चितामा दाग बत्ती, दिन नविर्सनु है प्रिय
घात गरेर अरु सँगै, नाता जोडी गए पनि ।’ (ऐ, १६३)
मनोविज्ञानको सामान्य प्रवृत्ति हो कि प्रेम र मिलनका अनुभूतिहरु कवितामा सरल र मधुर रुपमा पोखिन्छन्, विरह र विछोडमा हुने छटपटीले कविहरु भावनाको गहिराई पुग्छन् र कवितासँग कुरा गर्छन् । त्यतिखेर कसवका लागि साथी पनि, सन्देश पनि, प्रेम पनि सहारा पनि सबै अक्षरमा विसाइदिन्छन्; त्यसपछि मर्मस्पर्शी बन्न पुग्छन् । निर्मलका विछोडभावका मुक्तकहरु भित्र त्यही मूच्र्छना छ । त्यो राग, आलाप, विलाप नभै प्रेम प्रार्थनाको अर्को रुप हो । गुल्जारका गीत, उमर खैयामका रुवाइत, भर्जिया उल्फका निबन्ध, विल्ली होलिडेका धून सबै प्रेमपछिका अन्तहीन प्रेमका सवाइ हुन् । छुटेका भनिएका प्रेमले उनीहरुलाई स्रष्टा बनायो, उनीहरले प्रेमलाई अमर बनाए । उनीहरुले प्रयोग गरेका विछोडिएका प्रेम बताउने विम्व र व्यञ्जना बेजोड शक्तिका छन् । भन्ने गरिन्छ प्रेमले कवितालाई जीवन दिन्छ, विछोडले गहन बनाउछ । विछोड प्रेमको अन्त्य होइन, आग्रह हो, स्मृति हो । यिनै भावनामा निर्मलका मुक्तहरु जागा छन् ।
(ग) देशभक्ति र राष्ट्रप्रेम
स्रष्टाहरु माया, प्रेम, विरह व्यथा पछि जन्मभूमि, राष्ट्र र देशबाट प्रभावित हुन्छन् । देशप्रतिको माया, राष्टिय भावना र जन्मे हुर्केको प्रकृतिलाई मुक्तककार निर्माm पराजुली भुल्न सक्दैनन् । उनका अन्तस्करणका भावना देशको भूगोल, प्रकृति र यसले दिएको सुभाषमा लेपिएको छ । सचेत मानिस जो कोही पनि आफ्नो भूगोलबाट विश्वभरि फैलिने गर्दछ । पहिलो जन्मभूमि, त्यसपछि राष्टिय भावना र अनि बौश्विक चेत निर्मलका कवित्वका विषयवृत्ति हुन् । देश लेख्न हतार छ कविता सङ्ग्रह त विशुद्ध देशप्रेम र सुधारको स्वर हो, जहा उनले कहिले व्यक्तिलाई विम्ब बनाएर त कहिले विसङ्गतिको विरोध गरेर कविता गरेका छन् । उनका अनगिन्ती मुत्तकहरु जुन सम्मोहन र अक्षरको खेतीमा समेटिएका छन्, कतिपय फुटकर प्रकाशित छन्, ती सबैभित्रको केँद्रीय भाव मध्ये एक मुलुकको भूगोलप्रतिको भक्ति, राष्टिय भावनाप्रतिको समर्पण र नेपाली अस्मिताको राग हो ।
‘छोड्नुहुन्न आफ्नो देश, छुड्नु हुन्न गाउँ
जन्मभूमि भन्दा ठूलो, हुन्न कुनै ठाउँ
बाचुञ्जेल देशमै बसौं, देशकै सेवा गरी
बरु देशमा खोले फाँडो, ढिँडो आँटो खाउँ ।’ (सम्मोहन, ११८)
‘धन कमाउने आशा बोकी, विदेशमा आएको छु
देशमा भन्दा तर यहाँ, कति हण्डर खाएको छु
दिनरात मैले दास बनी, हड्डी घोटी काम गर्दा
यस्तै श्रम देशमै गरौँ, भन्ने सन्देश पाएको छु ।’ (सम्मोहन, १०६)
कवि निर्मल राष्टप्रेमका भावनाहरु कहिले पृथ्वीनारायणलाई उपमा दिएर अघि सार्छन, कहिले जन्मभूमिको प्रकृति चित्रणमा गर्छन, कहिले अमूक नेतालाई विम्ब बनाएर गर्छन् त कहिले आफ्नै दीनदुखेसो र श्रम पसिनामा गर्छन् । देश र जन्मूमिलाई दिनुपर्छ, त्यसैको सिर्जना मानिस हो भन्ने भावना जतिखेर पनि कविमा देखिन्छ । श्रम, स्वाभिमान र आत्मिक समर्पण मुक्तकका हरफहरुमा छन् । उनको लागि जन्मभूमि जीवन पनि हो, प्रेरणा पनि हो;आशक्ति पनि हो र अनुराग पनि हो ।
प्रायस कविहरु आफ्नो भूगोलको प्राृकतिक सुन्दरता, ऐतिहासिक गौरव र पहिचान प्रतिष्ठालाई भुल्न सक्दैनन् । नाट्यशिरोमणि बालकृष्ण समले भनेका थिए–देशभक्ति त मर्दैन चुत्थै देश भएपनि । फेरि नेपालको प्राकृतिक सौन्र्दय र प्राचीनतम प्रतिष्ठा भुल्न नसकिने खालका छन् । कविवर माधव घिमिरेले भनेका थिए– नेपाली हामी रहाँैला कहा नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहा हिमालै नरहे । निर्मल पराजुली मुक्तकमा यिनै भावनाबाट अनुप्राणित छन् । उनको देशभक्ति र राष्ट्रप्रेम भावनाको बहाव मात्र होइन, कत्र्तव्यको निष्ठा पनि हो, जुन मुक्तकका हरफहरुले बताइरहेका छन् । माटो र मुटुको सम्बन्ध कायम गरेर सामाजिक जागरण अघि ल्याइरहेका छन् ।
(घ) सामाजिक नैतिकता र मानवीय मूल्य
कवि समाज निरपेक्ष रहँदैन, मानवीय भावना र नैतिक मूल्य प्रतिष्ठा त उसका प्राथमिक कुरा नै हुने भए । समाजको सुन्दर चित्रको कल्पना स्रष्टा, कविहरुको साझा सार हो । नैतिकता, मर्यादा र अनुशासन समाजलाई सुन्दर बनाउने आधार हुन् । स्रष्टा सामाजिक दायित्वबाट कहिल्यै अलग रहन सक्दैन । अन्तस्चेत र प्रज्ञाका कारण कवि सामाजिक प्रजनशीलतालाई कार्यिक दायित्व सम्झन्छ । कवि निर्मल पराजुलीका मुक्तकहरुले सामाजिकता, नैतिक मर्यादा र मानव मूल्यलाई आत्मसात गरिरहेका छन् । प्रेम विरहका श्लोकमा हुन वा देशभक्तिका हरफमा पनि कविचेत मानव समाजको नैतिक निष्ठामा छन् । धेरैजसो मुक्तकहरु त प्रत्यक्ष नै सामाजिक संरचनालाई सुन्दर बनाउन मात्र केन्द्रित छन् । श्रमको उपसाना गरेर वा ऐतिहासिक पवित्रतालाई उजागर गरेर होस, वा आग्रह र अनुरोध गरेर नै किन नहोस् सँग्लो समाज र स्वच्छ चरित्र उनका मुक्तकका विषयभाव बन्ने गर्छन् । समाजमा जरा गाडेर रहेको जाती, वर्गीय, क्षेत्रीय, लिङ्गीय, वैभवीय सामाजिक तहशृङ्खलाको विरोध गर्छन्, समावेशी स्वच्छ समाजको कल्पना गर्छन् ।
‘सुख हैन दुःख पर्दा, साथ दिने पो सच्चा मित्र
हाँसो भन्दा आँसु झर्दा, साथ दिने पो सच्चा मित्र
सारा संसार आफ्ना बन्छन्, खुसी र सुखी हुँदा
दुःखका भेल बाढी तर्दा, साथ दिने पो सच्चा मित्र ।’ (अक्षरको खेती, ६०)
+ + +
‘अझै पनि गर्छन् यहाँ, ठूलो सानो जातको कुरा
मुटु विझ्ने गरी हान्छन्, जानीजानी लातको कुरा
पुर्खाले खुकरीको भरमै लडेर, देशको सान देखाए
तर कहिल्यै गरिएन त्यो, खुकुरी बनाउने हातको कुरा ।’ (सम्मोहन, १७५)
सत्य, सदाचारिता, इमान्दारिता र समावेशिता सभ्य समाजका आधारस्तम्भ हुन् । कवि चेतना, प्रज्ञा, परोकारप्रतिको प्रतिवद्धता राख्ने सामाजिक दायित्वको बौद्धिक व्यक्तित्व हो भन्ने सिद्ध गर्न निर्मलको मन निर्मल छ, भावनाहरु स्वच्छ छन् र सत्यनिष्ठाको उजागर उनको चरित्र हो । सत्य, धर्म, शान्ति, प्रेम र अहिंसा जस्ता मानवीय मूल्यहरु कविता हुँदै समाजमा संस्थागत भएका हुन् । हाम्रा वेदका ऋचा, श्रुति सुक्तिहरु हँुदै आजको समावमा आइपुगेको छ । निर्मल पराजुलीका मुक्तकीय सन्देश तिनैको द्योतन गर्दछ ।
(ङ) शासकीय विधि व्यवस्थामा सुधार
शासन प्रशासन सुधारको आग्रह र विकृति विसङ्गतिप्रति व्यङ्ग्य विरोधबाट स्रष्टा अलग रहन सक्दैन । उ सुधारको शिल्पी मात्र होइन, वेथितिको स्थायी विरोधी पनि हो । त्यसैले कवि÷स्रष्टाहरुलाई स्थायी प्रतिपक्षको आरोप लाग्ने गर्दछ । सत्ताको आँखामा शब्द शक्ति सँधै प्रतिपक्षी हो । सर्जकहरु समाजमा सदाचिता जस्तै शासनमा सुशासनको आग्रह गर्दछन् । तर त्यो आग्रह शिल्पमा हुन्छ । ती फूलका आक्रमण जस्ता शब्दबाण हुन् तर कोमल स्पर्शसाथ मनमष्तिष्कसम्म घोच्न पुग्छन्, त्यहाँ बौद्धिक चेतसहति मीठा आलोचना हुन्छ । निर्मलका मुक्तकले यही बाटो पक्डेका छन् । उनका मुक्तकलाई प्रेमिल जीवन, गहिरा भावोद्वेग, राष्टिय भावना र सामाजिक स्वच्छताका साथ शासकीय सुधार पनि चाहिएको छ । कही कार्यालय विधानप्रतिको असन्तुष्टि त कही चुनावप्रतिको व्यङ्ग्य, कही सीमाका संवेदना उघारेर र त कही सांगठनिक अकमण्र्यतालाई उदिनिदिएर उनले द¥िहलो शासन पद्धतिको माग गरेका छन् ।
काव्यिक चेत र कर्मका आधारमा पराजुका मुक्तकीय अभिव्यक्ति स्नीग्ध, सुन्दर र परिपक्व छन् । उनका मुक्तक बान्की मिलेका अक्षरमा कुँदिएका, शिल्पले लेपिएका र भावले भरिएका छन् । मुक्तकको चार पाउमा सानो आकारमा उनको मन पूरै फराकिएको छैन; त्यसैले मुक्तकले सम्मति नदिएका जति कुरा कविताहरुमा व्यक्त गर्छन् । मुक्तकका संरचनाले कविलाई मुक्त बनाउदैन, तर पनि राष्ट कवि माधव घिमिरेले भने झै ‘माया, प्रेम अनि जीवनका सकारात्मक,नकारात्मक पक्षहरुलाई लोभलाग्दो तरिकालेप्रस्तुत’ गर्न सुन्दर शैली निर्मलसंग छ । उनका मुक्तक मनका विम्ब, मनका तरङ्ग हुँदै समाजका रङ्ग पनि हुन् । सामाजिक विविधताको विम्ब उतार्न उनका मुक्तकहरु सक्षम छन् । त्यसैले प्रेम, वियोग, बैराग्ृय, उत्साह, आक्रोस, आग्रह, आलाप, अनुराग र अहिंसाका सरोवरी मुक्तकहरुले टिपेका छन् । समाज जस्तो मुक्तक त्यस्तै छन् । कवि निर्मल पराजुली मुक्तकीय मानकमा धेरै आशाको नाम हो । उनको मुक्तकीय अभियान र लेखन दुवैले यसैतर्फ सङ्केत गरिरहेका छन् ।
