बाँके – भारत सरकारको सहयोगमा बाँकेमा विद्यालय भवन निर्माण सुरु गरिएको छ । बाँकेको खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु भएको हो ।
भवनको शनिवार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले संयुक्त रूपमा शिलान्यास गरे ।


भारत सरकारको करिब ३ करोड २० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिनेछ। उक्त परियोजना खजुरा गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ।

यो परियोजना बाँके जिल्लामा सञ्चालन भइरहेको आठौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
शिलान्यास कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय र सहज सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
