फाइल फोटो
काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।
निवेदनमा सर्वोच्चमा विचाराधीन कांग्रेसको आधिकारिकता विवाद टुंगो नलागेसम्म महाधिवेशन अघि नबढाउन माग गरिएको छ।
सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि आगामी ११ भदौमा पेसी तोकेको छ। देउवा समूहका तर्फबाट अधिवक्ता श्रवणकुमार देवले निवेदन दर्ता गराएका हुन्।
कांग्रेसको विशेष महाधिवेशनबाट बनेको नेतृत्व र पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरिसकेको छ। उक्त मुद्दा अहिले सर्वोच्चमै विचाराधीन छ।
सोही विवादको अन्तिम टुंगो नलाग्दै १५औँ महाधिवेशन अघि बढाउँदा कानुनी जटिलता उत्पन्न हुने देउवा समूहको जिकिर छ। त्यसैले पुनरावलोकनको मुद्दा किनारा नलागेसम्म कांग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको हो।
कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा देउवा समूहको पछिल्लो कदमले पार्टीभित्रको विवाद थप पेचिलो बनेको छ।
