बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०८३
  • 40
    SHARES

काठमाडौं –  आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय बैठकले गरेको कामपाले जानकारी दिएको छ ।

बैठकमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् ।

यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्वपच्चिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म चार वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म चार वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन आठ वटा बस सञ्चालन हुनेछन् ।

चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम रु ८० भाडा लाग्नेछ । रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित तीन महिना परीक्षण सेवा दियौँ ।

विज्ञहरूको कार्यदललाई यसको व्यवस्थापन र वित्तीय सुझावका लागि जिम्मा दियौँ । यसरी गरिएको अध्ययनले सेवाको निरन्तरताका लागि तीन वटा विकल्प दिएको छ । यसमध्ये उपत्यकाका नगरपालिकाको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिँदा दिगो र सुरक्षित सेवा हुनेछ ।” बेलुका ८ बजेपछि भक्तपुर जाने सार्वजनिक यातायात पाउन निकै कठिन हुने गरेको बताउँदै उहाँले समस्या समाधानका लागि कमपाले योजना बनाइरहेको जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भन्नुभयो, “यसले काठमाडौँ र ललितपुरसँग भक्तपुरको सम्बन्ध नजिक ल्याउने विश्वास छ ।”

बैठकले, रात्रिकालिन बस सेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायातसम्बन्धी कानुनमा समय सापेक्ष संशोधनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)