काठमाडौँ । भदौ र असोज महिनामा देशभर आएको बाढी–पहिरो र विपद्को जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाले ‘भोटेकोसी एवं काली गण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन’ गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको छ ।
राष्ट्रिय सभाको बिहीबार को बैठकले सर्वसम्मत रूपमा पारित गरेको उक्त समितिले विपद् प्रभावितहरूको उद्धार, राहत र पुनः स्थापनाका साथै जलवायु परिवर्तनको प्रभावबारे विस्तृत अध्ययन गरी पुस मसान्तसम्म प्रतिवेदन पेस गर्नेछ । हालै रसुवाको भोटेकोसी नदी र देशका अन्य भागमा आएको विनाशकारी बाढी तथा पहिरोले निम्त्याएको ठुलो जनधनको क्षतिपछि संसद्मा विशेष समिति गठनको माग उठेको थियो । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम गठन गरिएको यस समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनुभएको छ भने एक सदस्य पछि थपिनेछ ।
समितिले विपद् जोखिम न्यूनीकरणका लागि वैज्ञानिक पूर्व सूचना प्रणालीको विकास, प्रभावित क्षेत्रको वैज्ञानिक पुनर्निर्माण र जोखिमरहित बस्ती विकासका लागि मार्गचित्र तयार पार्ने जिम्मेवारी पाएको छ । यसका साथै, समितिले जलवायु परिवर्तनमा न्यून योगदान भएर पनि बढी प्रभावित भएका कारण जलवायु न्यायको माग गर्दै अन्तर्राष्ट्रिय स्तरमा कानुनी आधारबारे समेत अध्ययन गर्नेछ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार, समितिले आफ्नो कार्यादेश पूरा गर्न आवश्यक कार्य योजना बनाई प्रतिनिधि सभासँगको समन्वयमा कार्यसम्पादन गर्नेछ । आगामी पुस मसान्तसम्म म्याद तोकिएको यो समितिले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि दीर्घकालीन नीतिगत सुझाव दिने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल
