काठमाडौँ, ८ माघ । भारत सरकारले अनुदान उपलब्ध गराएको कोरोना खोप नेपाल भित्रिएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री हृदयदेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले विहिबार खोप काठमाडौँ आउने जनाएसँगै आज १० लाख डोज कोरोना खोप नेपाल भित्रिएको हो ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको एजेडडी१२२२ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।
औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।
