११ फागुन,काठमाडौं । नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ ।
भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९९१ जनाको खकार परीक्षण गरी ४५ क्षयरोगका बिरामीको उपचार गरिरहेको छ । कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीका अनुसार संस्थाले चालु आर्थिक वर्षको हालसम्म १४४ जनाको परीक्षण गरेको छ । तीमध्ये आठ क्षयरोगका बिरामी भेटिएका छन् ।
संस्थाका सभापति दामोदर न्यौपानेका अनुसार यस वर्ष विभिन्न आठवटा जनचेतनामूलक कार्यक्रम गरिएको छ । गत वर्ष १० वटा कार्यक्रम गरिएको थियो । विभिन्न सङ्घसंस्था, सरोकारवाला, बिरामी, समुदायका मानिस, स्वास्थ्य आमा समूहलगायत लक्षित वर्गसम्म पुगेर रोगका बारेमा जानकारीसँगै जनचेतना फैलाउने काम भइरहेको छ ।
संस्थामा हाल २९ क्षयरोगका बिरामी उपचाररत छन् । ती बिरामीमध्ये सात जनालाई मल्ट्री ड्रग रेसिस्टेन्ट अर्थात् महङ्गो खालको औषधि खुवाएर उपचार गरिँदैछ । छ महिना औषधि खाँदा निको नभएका जटिल बिरामीलाई यो औषधि खुवाउने गरिन्छ । न्यौपानेका अनुसार ती बिरामीलाई एक जनाको उपचारमा रु आठ लाख हाराहारी खर्च हुने गर्दछ । उनीहरुका लागि सरकारले औषधि, पोषण र परीक्षण खर्च उपलब्ध गराउँछ । त्यसको सहजीकरण संस्थाले गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो। उनीहरुलाई नौदेखि १८ महिना औषधि खुवाउनुपर्ने हुन्छ ।
सामान्य अवस्थाका बिरामीका लागि करिब रु छ हजार खर्च हुने गर्दछ । उनीहरुलाई छ महिनासम्म नियमित औषधि खुवाउनुपर्ने हुन्छ । क्षयरोग दुई प्रकारका हुने गर्दछन् । एउटा फोक्सोमा लाग्ने गर्दछ भने अर्को अन्य अङ्गमा लाग्ने गर्दछ । फोक्सोमा लागेको क्षयरोग श्वासप्रश्वासबाट सर्ने गर्दछ । अन्य अङ्गमा लागेका क्षयरोग सर्दैन ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी सरकारले गर्नुपर्ने काम यस संस्थाले गर्दै आएको बताउनुहुन्छ। जनचेतनामार्फत शङ्कास्पदलाई परीक्षणको दायरामा ल्याउने, नियमित औषधि खुवाउनेलगायतका काम संस्थाले गरिरहेको उहाँको भनाइ छ ।
कोरोना सङ्क्रमण शुरु भएलगत्तै औषधि प्रयोग गरिरहेकाहरुलाई सङ्गठित बनाएर अनुभव आदानप्रदान र उपचारमा सहयोग गरेर नमूना काम गरेको उनले जानकारी दिनुभयो ।
