कोभिड-१९ को संक्रमणबाट युरोप र अमेरिका यतिखेर सबैभन्दा आक्रान्त छन् । युरोपेली मुलुक फ्रान्समा पनि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
इटाली र स्पेनमा विश्वमै सबैभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । फ्रान्समा कोरोनाको संक्रमणका कारण उपचाररत विरामीमध्ये अस्पताल र नर्सिङहोममा गरी एकै दिनमा १ हजार ४ सय २७ जनाको मृत्यु भएको छ ।
संक्रमण नियन्त्रण गर्न फ्रान्समा गत मार्च १५ यता देशव्यापी रुपमा कडा लकडाउन गरिएको छ । लकडाउन उल्लंघन गरे जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ हजारभन्दा बढी रहेको छ । अमेरिकामा न्युयोर्क सबैभन्दा प्रभावित रहेको छ । न्युयोर्कमा मात्रै ५ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ । न्युयोर्कमा एकै दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । कोभिड-१९को संक्रमणका कारण ७ सय ३१ जनाको एकै दिनमा ज्यान गएको छ ।
विश्वमै कोभिड-१९ का सबैभन्दा बढी संक्रमित संयुक्त राज्य अमेरिकामा रहेका छन् । अमेरिकामा ३ लाख ९६ हजार २ सय बढी संक्रमित रहेका छन् ।
अमेरिका स्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वमा सबैभन्दा बढी इटालीमा नागरिकहरुको मृत्यु भएको छ । इटालीमा हालसम्म १७ हजार १ सय २७ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी स्पेनमा पनि कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । यसै गरी बेलायतमा पनि ६ हजार १ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
वेलायतका प्रधानमन्त्री बोरिस जोनसन नै कोरोनाको संक्रमणका कारण सघन उपचारकक्षमा उपचाररत हुनुहुन्छ । विश्वमा हालसम्म ८१ हजार ८ सय ६५ जनाको कोभिड-१९ को संक्रमणका कारण मृत्यु भइसकेको छ ।
यसैगरी संक्रमितको संख्या पनि १४ लाख २६ हजारभन्दा बढी रहेको छ । उपचारपछि निको भएर घर फर्कनेको संख्या पनि ३ लाखभन्दा बढी रहेको छ ।-
