जापानमा देशव्यापी सङ्कटकाल लगाइएको छ । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गर्दै नागरिकहरुलाई घर भित्रै सुरक्षित बस्न आग्रह गरेको हो ।
यसअघि प्रधानमन्त्री सिन्जो आवेले सातवटा प्रान्तहरुमा एक महिनाका लागि सङ्कटकाल लगाउनुभएको थियो । आजबाट देशव्यापी विस्तार गरिएको सङ्कटकाल आगामी मे महिनाको ६ तारिखसम्म लागू हुनेछ ।
सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी सङ्कटकाल घोषणा गर्नुपरेको प्रधानमन्त्रीको भनाई छ ।
कोरोनाभाइरसको संक्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सङ्कटकालको आवश्यकता भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।
जापान सरकारले सबै जापानी नागरिकलाई एक लाख जापानी येन नगद पनि दिने भएको छ । जापानमा कोरोना भाइरसका कारण बिहीबारसम्म नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने १५० भन्दा बढीको मृत्यु भएको छ ।।
