सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सेर्माथाङको सेरोफेरोमा -नियात्रा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०७७
  • 1.6K
    SHARES

  • नियात्राकार -राजेन्द्रमान डंगोल

सेर्माथाङको सेरोफेरोमा 

एउटा महातीर्थस्थल । अमूल्य चीज लुकेको ठाउँ । आमा झ्योमो याङ्ग्री(देवी)ले रक्षा गरेको क्षेत्र । प्रकृतिको अनुपम सौन्दर्यले सिँगारिएको । हिमाल, पहाड र बेसीले सजिएको । विविध संस्कृति र भेषभुषा अङ्गालेको । गुम्बैगुम्बा र छोत्र्तेनैछोत्र्तेनले भरिएको । आठौँ सताब्दीमै पद्मसंभव र ऋषी चोग्यालले ध्यान गरेको ठाउँ हो– नेपालको हेलम्बु ।

हेलम्बुलाई ‘ह्योल्मो’ भनिन्छ तिब्बती भाषामा । यसैलाई अर्को शब्दमा भनिन्छ ‘घाङरावा’ । ‘घाङ’को अर्थ हिउँ र ‘रावा’को अर्थ बेरिएको । हिउँले बेरिएको अर्थात हिमच्छादित क्षेत्र । यस्तो ठाउँमा बसेर साधना गर्दा साधकले सिद्धि प्राप्त गर्न सक्ने छ भन्नेकुरा भगवान बुद्धको अवतम् सतकसुत्रमा उल्लेख छ ।

कालो विद्या सिकेर जादुगरको रुपमा सबैले चिनेपछि पश्चाताप भएर सद्गुररुको खोजिमा मार्पासम्म पुगेका मिलारेपाले शिक्षा पाइसकेपछि साधनाका लागि हेलम्बु जाने सल्लाह पाए । त्यसपछि उनी आफ्नो मातृभूमि क्याङाचा (केरुङ पारिपट्टिको भूमि) छाडेर हेलम्बु आई ताक्पुक सिँघे जोङ गुफमा बसेर ध्यान गरेका थिए रे । एघारौँ सताब्दीको कुरा हो यो ।
००००
बिहानैदेखि नै चहलपहल सुरु भइसकेको थियो मेलम्चीपुल बजारको । बाक्लिएको बजार, मान्छेका आवाज, गाडीका आवाज धुलो र धुवाँ । मिठो लागेको थिएन मलाई । “पहिले सेर्माथाङ जाऔँ अनि तार्केघ्याङ जाउँला ।” जयजीले बनाए योजना । लाग्यौँ त्यसैतर्फ उनकै मुताबिक ।
जोडले चिच्याइरहेकी थिइन् इन्द्रावती । बाइक नरोकिरहन सकिँन । इन्द्रावती उही इन्द्रावती थिइन्, मैले उपन्यासमा पढेको । उही इन्द्रावती थिइन्, मैले फिल्म र टेलिसिरियलहरूमा देखेको । तर चलचित्रहरूमा जस्तो कञ्चन देखिनँ अहिले इन्द्रावतीलाई । इन्द्रवतीले आफ्नो आयतन बढउन नसकेको मौका छोपेर दिनदहाडै अस्मिता लुट्दारहेछन् कर्सर, कर्सर र कर्सरहरूले । खै ! नियम कानूनले पनि छुँदोरहेन छ त ! अचम्ममा पर्छु म ।

पवित्र पाँचपोखरीको सिमसारबाट बग्छिन् यिनी । त्योे पवित्रताले अन्र्तमन छुन्छ मेरो । पाँचपोखरीको पवित्रता आत्मसात् गर्न पनि इन्द्रवतीलाई छुऔँझैँ हुन्छ मलाई ।
त्यहीबेला एक अधबैँसे भेटिए गिरी थरका । सबै थरीकोे बसोबास छ हेलम्बुको तल्लो बेल्टमा ।
“सेर्माथाङ जान कुनचाहिँ बाटो ठिक होला ?” सोध्यौँ हामीले ।
“दुईटा बाटो छ । जुन बाटो गए नि हुन्छ । पुल तरेर जानुस् । आएको बेला पाल्चोक माईको दर्शन गरे भो नि ।” उनको सुझाव ।
‘पाल्चोक’ देवीको नाम भन्ने कुरा थाहा थिएन । उनैबाट थाहा पायौँ । उता सिन्धु डाँडा र सिन्धु खोला यता पाल्चोक डाँडा र पाल्चोक माई । यसैबाट पो जुरेको रहेछ जिल्लाको नाम ‘सिन्धुपाल्चोक’ । बल्ल पो थाहा भयो ।
“जुराएकै रहेछ । फेरि आइन्छ आइन्न, के थाहा । आएको बेलामा गरौँ न त ।” माधवजी बोले ।
मनलाई इन्द्रावतीले नुहाएर लाग्यौँ उकालो ।
००००
कुलेलम ठोके जयजी । अलि पछि थिएँ म । पुल तरेपछि दुईटा आयो बाटो । पहाडलाई फन्को मारेको छ दुइटैले ।
सडकमा काम गर्नेहरूलाई सोध्यौँ– “पाल्चोकी माई जान कुन बाटो समात्ने ?”
”जुन चाहिँ समाते नि पुग्ने त्यहीँ हो ।” जवाफ आयो ।
जयजीले समातेछन् एउटा, मैले समातेछु अर्कै । अलि माथि पुगेपछि उनीहरू हामीलाई पर्खँदारहेछन्, हामी उनीहरूलाई । फोन लागेपछि पो थाहा भयो । झुक्किएला कि भन्दाभन्दै साँच्चिकै झुक्किएछौँ ।

हामीले लिएको बाटो चाहिँ छोटो रहेछ । पन्ध्र मिनेटको फरक प¥यो दुवाचौर पुग्न । ६,९६६ मिटर अग्लो दोर्जेलाक्पाले देखायो सम्पूर्ण नाङ्गो काय । त्यो दृश्यले रोक्यो हामीलाई । लाग्यो– एकछिन त कुनै प¥यो जयजीहरूलाई ।
सूर्यको लहर छाएको छ प्रत्येक पाखापखेरामा । सुनौलो कार्पेट बिछ्याएजस्तो । पहँलो रङ घोप्ट्याएजस्तो । घामको रङ, माटोको रङ, फूलको रङ र तोरीको रङ । पारिलो घाम ताप्दै तोरीबारीको सुनौलो रङमा भुलेथ्यौँ हामी जयजीहरू नआइपुगुन्जेल । एकझर पानीको पर्खाइमा छन् कृषकहरू, डोलाएर राखिएका बारीका पाटामा मकै छर्न ।
००००
पुगियो पाल्चोकी माईको मन्दिर ।
हिन्दु धर्मालम्बीहरूको आस्था । एउटा ठूलो शक्तिपीठ । तेत्तिस करोड देवी–देवतामध्येको एक । देवी भागवतमा भनिएको छ–
‘या देवी सर्वभूतेषुः मातृरुपेण सस्थिता ।
नमस्तस्यौ । नमस्तस्यौ ।। नमस्तस्यौ नमो नमः ।।’

अर्थात् जुन देवी सबै प्राणीहरूमा मातृरूप भई विराजमान छिन्, उनै भगवतीलाई प्रणाम छ । नेपालको प्रत्येक पाइलापाइलामा देवी माताको बास छ । माताले सबैको रक्षा गर्छिन् र उनको आशिर्वादले पाप नाश हुन्छ भन्ने विश्वास छ । मनोकामना पुरा गर्नका लागि मान्छेले देवी–देवताको पूजा–अर्चना, व्रत–उपवास, भोग–बली आदि गर्ने गर्छन् । हिन्दु धर्मावलम्बीहरूको माईप्रतिको भए ०७२ को महाभूकम्कपमा किन त्यति धेरै मान्छेहरू मरे त सिन्धुपाल्चोकमा ? प्रश्नहरूको ज्वार पाल्चोक डाँडो बनेर उठेको थियो मनभित्र ।
गिरी जाति यहाँको पुजारी । नित्यपूजामा ब्यस्त थिए उनी । उनीसँग कुरागर्न नपाए पनि मन्दिर परिसरमा सरसफाई गर्दैगरेका खड्का थरका एकजना पाको मान्छेसँग सम्वाद ग¥यौँ हामीले ।

“हाम्रा पुर्खाहरूले स्थापना गरेको मन्दिर हो यो । जमिन बिराउदैबिरउँदै यहाँ आइपुगेछन् । खनिखोस्री गर्दैजाँदा एउटा जराबाट दुध र अर्कोबाट रगत निस्केछ र खोज्दै जाँदा शिला भेटेछन् । भगवान रहेछ भन्नेकुरा प्रस्ट भइ‘गो । त्यसपछि मन्दिर स्थापना गरेछन् । यहाँ भएका समुदायहरू तमाङ गिरी र खड्का जाती मिलेर पुजाको काम सम्पन्न गर्नेगरेका रहेछन् । गिरीले दैनिक पूजा गर्ने, तमाङले राँगो खोज्ने, खड्काले मार हान्ने र दशैँको बेला छातीमा जमरा उमार्ने जिम्मेवारी रहेको छ ।” उनले सुझाए ।

भक्तजनका लाइन लम्बिँदै थियो मन्दिरमा । पुजासामग्रीका साथमा कसैले बोका डो¥याएका, कसैले काखीमा कुखुरा र हाँस च्यापेका । के माईले बली नै माग्छिन् र ? पाल्चोकी माई त बिनाभोग पनि खुसी हुन्छिन् होइन र ? मान्छै किन यति निर्मम हुन्छन् ? कति निरिह हुन्छन् है पशु ! कसैको मनोकामनाका लागि जीवन उत्सर्ग गर्न तयार रहेका पशु–पन्छीका मायाले चिमोटिरहेथ्यो मेरो हृदय ।
‘जबसम्म मान्छेहरू गरिब रहन्छन् तबसम्म मन्दिरमा मान्छेहरूको भिड लाग्ने गर्दछ ।’ रहस्यवादी रजनिशका कुरा याद आयो । के ती सबै भक्तहरू गरिब नै हुन् त ? प्रश्न गरेथेँ आफैँलाई ।

फेरि सोच्छु– आस्थाको केन्द्र हो, भिड हुने नै भयो । मन्दिरमा जत्तिकै भिड देख्छु म गुम्बा, मस्जिद र चर्चहरू पनि ।
तर एउटा कुरा खेलरिह्यो मनमा– यति सानो ठाउँ त्यहीँ पर छ गुम्बा, जहाँ काटमार केही हुँदैन । यहीँ यति ठूलो बली चढाइन्छ । फेरि कालिका पुराणको कुरा सम्झन पुग्छु म–
‘यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयम्भुवा ।
अतस्त्वां घातयान्येद्य तस्माद्यज्ञे बधोबधः ।।’
अर्थात्, पशुलाई बलि यज्ञका लागि सृष्टिकर्ता ब्रह्माले सृष्टि गरेका हुन् । म तिमी पशुलाई छेदन गर्छु, यो तिमीलाई बध गरेको होइन ।
के कालिका पुराणले न्याय दिन्छ त पशुलाई ?
के हो, के हो ! बुझ्नै कठिन । झन् बुझ्यो झनै कठिन ।
००००
एघार बजिसकेको थियो, पाल्चोकमा लाद्रो अलिकति भरेर उकालो लाग्दा ।
उकालोकै कहरले रुन्चे आवाज निकाल्दै थियो हाम्रो बाइकले । टुप्लुकिन्छ ककनी । सुरु हुन्छ ह्योल्मो बस्ती । खुब चुरिफुरी गर्दै थिए स्वेत छोर्तेनलाई घेरेका ध्वजाहरू । उज्यालिएको थियो सिङ्गो बस्ती नै मानौँ दोर्जेलाक्पा हिमाल नै बस्तीमा आएर टुसुक्क बसेजस्तो । तिरमिराएथे हाम्रा आँखा छोत्र्तेनको चमकले ।

उतिबेला हामी त्यही बाटो भएर मेलम्ची बजार झरेका थियौँ । बस्ती त बाक्लिए छ मज्जैले । फुस्फसाएँ म माधवजीसँग ।
फेरि अर्को एउटा सानो बस्ती आइपुग्छ । बस्तीको बीचमा छ भब्य गुम्बा । गुम्बाको नाम साङाग छ्योलिङ गुम्बा । गुम्बाको अगाडि फराकिलो चउर र चउरको बीचमा फर्फराइरहेको छ– निलो, रातो, हरियो, पहेँलो र सेतो रङको एउटै लुङ्दा । छेउमा फेरि प्रत्येक रङको लाइनै चारचारवटा छुट्टाछुट्टै लुङ्दा । सिपालु हातले चलाएको कुचीले रङ पोतिएका छन् गुम्बाको खम्बा, टुँडाल र भित्ताहरूमा । आहा, कुन कलाकारको कला होला यो ! क्या मिठो संयोजन रङहरूको ! हेरिरहुँजस्तो ! देख्दैमा शान्त अुनुभूति हुने ।

गुम्बाको देब्रेभागको झ्यालको भित्ता उप्किएको थियो । एकजना स्थानियले भने– ‘पहिले सानो गुम्बा थियो । निकै पुरानो हो रे । यो चाहिँ नयाँ बनाएको हो । उद्घाटन गरेको तीन हप्ता नबित्दै भुईंचालेले मर्काइ‘गो । यता तिरका भएका गुम्बाहरू सबै ढले । धन्न यो चाहिँ बाँकी रह्यो ।’
जङ्गलको जालो पन्छाएर कोरिएको छ सडक सञ्जाल । एकोहोरो कुदिरहेका छौँ हामी । अर्को डाँडो आउँछ । निगाले डाँडो । डाँडोले त अहिले पहिचान फेरि सकेछ । लुङदरका रङ फिँजाइएको छ डाँडैभरि । थाप्लोमा ध्यानमग्न छ गुरु पद्यसंभवको प्रतिमा ।
एकैछिन अल्मल्यायो निगाले डाँडोले । कहिले चराले अल्मल्याउने, कहिले मान्छेले, कहिले आफैँ । अल्मलिँदै थियौँ हामी ।
आफ्नै गतिमा घुमिरहेको छ घडीको सुई । सुईसित चल्न सकेनौँ हामी !

घुइँकिँदै गर्दा मनमनै गुन्गुनाउँछु म उही हिमाली सेलो–
‘आमा याङ्ग्रीको काखैमा
चौँरी त चर्ने पाखैमा…….‘

सडकको अवस्था, लुतुरे बाइकको क्षमता र हाम्रो वजन । आधा घण्टा त लागि‘गो सेर्माथाङ पुग्न ।
सिधै गुम्बामा पुगेका थियौँ हामी । लगभग दुई सय बर्ष पुरानो गुम्बा । खेवा तासीको सेर्माथाङको निशानी हो सेर्माथाङ गुम्बा । भूकम्पले खालि गराएको रहेछ ।

“ह्योल्मो भाषामा ‘छेर्मा’को अर्थ काँडाघारी र ‘थाङ’ को अर्थ चउर । काँडाघारी भएको चउर भएकोले छेर्माथाङ भन्दा भन्दै अपभ्रंस भएर सेर्माथाङ भनिन थालेको रे ।” स्थानिय कार्मा तोप्के तोप्के लामाले बताए हामीलाई ।
हेलम्बुको सेरोफेरो नियाल्यौँ हामीले गुम्बाको डिलमा उभिएर । पारिलो घाम तापिरहेका थिए, हिउँदभरि हिउँको बिस्कुन सुकाउने ह्योल्मो बस्तीहरू ।
“खोइ त तार्केघ्याङ ?” माधवजीको सोधनी ।
“उः त्यो परको हरियो पहाडको कुइनेटोबाट भित्रपट्टि ।” जयजीको जवाफ ।

शान्त र सौम्य थियो गाउँको वातावरण । लाग्दै थियो– अलिकति भूकम्पले नबिथोलिदिएको भए के पो भइसक्ने रहेछ ! रसिलै छ त हिउँदमा तुषारो र हिउँले ढाक्ने सेर्माथाङ ? अघिल्लो पटक आउँदा ह्योल्मो संस्कृतिसँग नजिकिँदाको क्षण सम्झँदै स्मृतिको धमिलो पर्दा च्यातेर आफैसँग सोधेँ मैले ।

सेता हिमाल, हरिया पहाड र रङ्गिन बस्ती । साँच्चिकै स्वर्गतुल्य छ हेलम्बु । यसैले त मिलारेपाले आफ्नो गीतमा बर्णन गरेका थिए रे यहाँको मनोरम प्राकृतिक सौन्दर्यको ।
मिलारेपाले ध्यान गरिरहेका बखत उपदेश लिन आएका चारजना भिक्षुणीलाई प्रकृति वर्णनले भरिएको गीतमार्फत नै स्वागत गरेका थिए रे । यहाँ फूल्ने फूल, बतासले नाचिरहेको रूखहरू, बाँदरका बच्चा रमाउँदै खेलेको, नानाथरी चराहरूको चिरबिर, भमराहरू भुन्भुनाउँदै उडिरहेको, आकासमा दिनरात इन्द्रधनुष देखेको, उचाइ, हिउँ, कुहिरो एकान्तभाव अवस्थाहरू खुसी भएको लगायतका कुराहरू ब्यक्त गरेका थिए रे । बघिनी भयानक श्वरमा गर्जंदा तिनका असहाय डमरूहरू निश्चलरूपमा खेलिरहेको दृश्यले महाकरुणा जागेको कुराहरू ब्यक्त गरेका थिए रे । सन् १९६२ मा कर्मा सिसि चाङले अनुसन्धान गरेर लेखेको पुस्तकको पृष्ठ ७४ मा छ भन्नेकुरा सुनेका थिएँ ।

‘नमो रत्न त्रायाय
नमः आर्य जनान
सागर वैरोचना
भुहाराजाया, तथागताया
अरहते सम्यकसा बुद्धाया,
नमः सर्ब तथागताया
नमः आर्य अवलोकितेश्वराया ….’

आर्य अवलोकितेश्वर मन्त्रले गुञ्रिहेको थियो हेलम्बु । यही ध्वनी र लयले भरिएको थियो मेरो मन । अपार शान्ति र आनन्दको तरङ्ग सञ्चार भइरहेथ्यो शरीर र मनमा । शब्दहरूकै हाउभाउमा फर्फराइरहेका छन् घरैपिच्छे टाँगिएका लुङ्दा र लुङ्दरहरू र त्यसैले प्रेमील बतास छरिरहेको अनुभुत हुन्छ । न विगतको कुनै स्मृति, न भविष्यको कल्पना । ठम्याउन सकिरहेको थिइनँ मैले म को हुँ र जीवन के हो भन्नेकुरा । भनिन्छ– यो मन्त्रोच्चारण गर्दा दया, प्रेम र करुणा वृद्धि हुन्छ । त्यसैले होला हेलम्बुप्रति प्रेमको सागर उर्लिरहेको छ मभित्र । अचम्मको अनुभूति गराइरहेको छ यतिखेर यो मन्त्रले ।

बुद्धको चार आर्य सत्य र अष्टाङ्गिक मार्गमा चलिरहेको छ हेलम्बु । संस्कारजन्य कर्मभन्दा कर्मजन्य संस्कार मनपर्छ मलाई । इश्वरको खोजि गर्नुभन्दा मानवको सेवा गर्नू भनेका थिए बुद्धले । तर मूर्ति पूजामा अल्मलिने हामीहरू यसैमा अल्मलिएका छौँ । मिसन स्पिरिट चलाउने इसाईहरू त्यसैमा ब्यस्त छन् । फेरि धर्मकै नाममा राजनीति गर्नेहरूको पनि कमी छैन यहाँ । धार्मिक प्रदूषण हटाउन र विश्वमै शान्तिको नारा घन्काउन बौद्ध धर्म चाहिएको छ यहाँ । त्यसैले त मलाई भन्न मन लाग्छ– ‘बुद्धम् शरणम् गच्छामि’, ‘धंमम् शरणम् गच्छामि’, यद्यपि धर्म सम्बन्धि कैयौँ जिज्ञासाहरू छन् मसँग ।

लामै संवाद भयो कर्मा तोप्के लामासँग, गुम्बाको आँगनमा टहलिँदै गर्दा ।
कस्तो छ त यहाँको अहिलेको पर्यटनको अवस्था ? संवादलाई निरन्तरता दिएँ मैले ।
“भुइचालोपछि बिग्रेको पर्यटनमा बिस्तारै सुधार हुँदैछ । हेलम्बुमा होटल र होमस्टेहरू बनिरहेका छन् । भूकम्प स्मारक पार्कको निर्माण हुँदै छ । धार्मिक पर्यटन प्रर्वद्धनका लागि १०८ फिट अग्लो बुद्धको मुर्ति बनाइदै छ । हेलम्बु र लाङटाङ पदयात्रा जोड्ने सहजमार्ग निर्माण हुँदै छ ।

” सफलताका कथाहरू सुनाए उनले ।
आसावादी थिए उनी हेलम्बुको पर्यटनको भविष्यप्रति ।

नहुनु पनि किन ! अमूल्य बस्तुहरू छन् यहाँ । गुरु रिम्पोछेको पाउको छाप । उनले तपस्या गर्दा खाना पकाउँदा प्रयोग गरेका ढुङ्गाहरू । तपस्याको क्रममा राखिएका किताबहरू (ढुङ्गाको रूपमा परिणत भइसकेका) । भगवान शीवले तपस्या गर्दा पार्वती रजश्वला भई बसेको गुफा । यी सबै पर्यकीय आकर्षण हुन् । क्यान्योेनिङ, प्याराग्लाइडिङ र बोन्जी जम्पजस्ता पर्यटकिय गतिविधिहरूको विकास गर्न सकिन्छ । साँस्कृतिक हिशाबले पनि त्यत्तिकै महङ्खवपूर्ण छ । लोसार पर्वमा लाग्ने छिजु नाचलाई पनि पर्यटकिय उपज बनाउन सकिन्छ ।
उनले सुनाए–

“रसुवा, नुवाकोट र सिन्धुपाल्चोक छुनेगरी घोप्टेघ्याङदेखि पाकेडाँडा, ठाडेपाटी, च्योछदी, सेमिसिदाङ, भेम्थाङ, ढुक्फु, आमा याङ्ग्री, ज्योमथाङ, शेर्माथाङ हुँदै, बुद्धपार्कसम्म ६० कि.मी को हेलम्बु ग्रेट ट्रेल निर्माणको काम थालनी भएको छ ।”
आहा, कति खुसीको कुरा !

उबेला पदयात्राका क्रममा गुलभञ्ज्याङमा विश्राम लिँदै गर्दा से लिमले भनेका कुरा सम्झेँ मैले ।
उनले भनेका थिए– “ह्वाइ डन्ट योर गवरमेन्ट बिल्ड अ टे«ल कनेक्टिङ दोज हिल्स लाइक द ग्रेट वाल अफ चाइना ? इट क्यान वि अ मेजर टुरिस्ट अट्य्राक्सन ।”
राम्रो थियो उनको बिचार ।

साच्चै उनले कल्पना गरेजस्तो ग्रेटवाल भइदिए त यहाँको पर्यटन कस्तो होला !
नेपालको राजनीतिक खिचातनीले गर्दा अरुण–३ जस्तो महङ्खवको योजना विफल भएको थियो । सिक्टा सिँचाई योजनामा बाइल्याटर वा मल्टिल्याटरल सहयोग आएको थिएन । कैयौँ योजनाहरू गर्भमै तुहिएका थिए । एक दशक बितिसक्दा पनि सुरसार गर्न सकेको थिएन मेलम्ची खानेपानी परियोजनाको । हाम्रोजस्तो देशले चीनको ग्रेट वालको अवधारणामा टे«ल निमार्ण गर्ने भनेको असम्भवप्रायः लाग्थ्यो ।
निकैबेर घोरिएर मैले लज्जाउँदै भनेको थिएँ– “इट्स नेक्स्ट टु इम्पोसिवल इन द कन्टेक्ट अफ नेपाल ।”
तर यही कुरा आज सुन्न पाउँदा गर्वले छाती फुल्यो ।

हेलम्बुको मात्र हैन, यो त देशकै शान हो । अहिले लाग्दै छ– हामीमा इच्छाशक्ति भए खुसीका तरङ्गहरू ल्याउँन सकिँदोरहेछ आफ्नै लागि र समस्त नेपालीका लागि । यी पहाडका शिरमा ग्रेट ट्रेलको रेखा कोरिएपछिको दृश्य कति सुन्दर होला ! त्यही रेखाले तान्ने छ संसारभरमा मान्छेहरूलाई । र, यही रेखामा अडिने छ हेलम्बुको जीवन र नेपालको अर्थतन्त्र । आफ्नै सवालको आफ्नै जवाफ मेरो ।
नाटकार पुरुजी भन्दै थिए– “मैले यहाँको संस्कृति, परम्परा सामाजिक परिवेश र रहनसहनलाई रङ्गमञ्चमा उतार्नुपर्छ । अलिकति समय लिएर आउने छु ।”

दुई बजिसकेछ । खाना खाएको छैन । पुग्नु छ काठमाडौँ । मेलम्चीबाटै सत्तरी कि. मि. छ । तार्केघ्याङ लगभग पन्ध्र कि. मिको कच्चीबाटो जाउआउ गर्दा यतै साँझ पर्छ । के गर्ने त ? सल्लाह भयो हाम्रो ।

“किउल, तिम्बु र तालामाराङ हुन्दै फर्कंदै त छौँ । हेलम्बुको फेरो मारिहाल्छौँ, तार्केघ्याङ मात्र नपुगिने त हो नि ! उद्देश्य लगभग पुरा भइ‘गो । फेरि आउने बाटो पनि राख्नु त प¥यो नि ! लेट्स गो ब्याक टु काठमान्डु !” समाधान निकाले जयजीले ।
भविष्य अनिश्चितताको गर्भमा हुने भए पनि सही थियो उनको युक्ति । सहमति भयो ।
बादलले चुम्दै थियो क्षितिज र खोस्दै थियो हिमालका फूलजस्तो मुस्कानलाई ।

नियात्राकार -राजेन्द्रमान डंगोल

काठमाण्डौ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }