सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बादलमाथिको मन्दिर -नियात्रा


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २४, २०७७
  • 1.6K
    SHARES

                            

                                                                                               –राजेन्द्रमान डङ्गोल

३,८०० मिटरको उचाइमा अवस्थित हिन्दु र बौद्धहरूको बराबरी आस्थाको केन्द्र । अखण्ड दीप जल्ने पवित्र देवल । एकाउन्न शक्तिपीठ र चौबीस तान्त्रिक क्षेत्रमध्येको एक । यसैलाई तिब्बती भाषामा ‘छुमिङ ग्यात्सा’ अर्थात् ‘सय पानी’ भनिन्छ भने हिन्दुहरूको अर्थमा मुक्तिक्षेत्र अर्थात् मुक्तिनाथ ।

०००

प्रेमको प्रतीक ताल
सखारै प्रागुम्बामा गएँ जोन र डेभिडलाई लिएर ।
‘प्रा’को अर्थ ‘भीर’ हुन्छ स्थानीय भाषामा । भीरमा अवस्थित भएकोले प्रागुम्बा भनिएको रे । मार्फाको प्राचीन गुम्बामध्येको एक । भित्तामा टाँसिएको गुम्बा मार्फाबाट हेर्दा नजिकै देखिन्थ्यो तर ठ्याक्कै आधा घण्टा खाइदियो उकालोले । देवी–देवताका प्रतिमा राखिएका छन् गुफाभित्र । बुद्धको मूर्ति राखिएको छ एकापट्टि । हेर्दा शक्तिपीठ हो कि झैँ लाग्ने ।
सुनेको थिएँ– यो क्षेत्र बुद्ध धर्मको ज्ञान र ज्योति पुग्न नसकेको ठाउँ भनेर । यदि त्यसो हो भने धेरै पुराना गुम्बाहरू कसरी बने होलान् त ? आफैँलाई प्रश्न गरेथेँ मैले ।

दिनभरि हावाको इसारामा चल्नुपर्ने भोजपत्र, स्याउ र आरुका बोट, काँडेदार बुट्यान र घर–गुम्बामा टाँगिएका ध्वजाहरू स्थिर अवस्थामा थिए । स्वच्छ थियो कालीगण्डकी उपत्यका बालुवाको चक्रवात नपरेको बेला । शान्त र सौम्य थियो सारा दृश्यमान ।
“नास्ता तयार भइसकेको छ । डाइनिङमा आइहाल्नु है ! बैलेमा हिँड्नु पर्छ ।” कुक देण्डीको उर्दी ।
कडा हावा नचल्दै आजको गन्तव्य कागबेनी पुग्नुपर्छ भन्ने आशय थियो उनको ।
क्याम्पिङ ट्रेकमा खानाको बन्दोबस्त सम्बन्धित एजेन्सीले नै गर्छ । सुत्ने व्यवस्था टेन्टमा भएपनि क्याम्पिङको सुविधा दिने होटलले खाना खानको लागि डाइनिङ उपलब्ध गराउँछ ।
देण्डीले टेबलमा नास्ता पु¥याइसकेका थिए, हामी छिर्दा । फराकिलो थियो मार्फा प्यालेसको भोजन कक्ष र भान्छा । दराजमा सजाइएका थिए भाँडाकुँडाहरू । एउटामा स्टिलका थाल, कचौरा, माटाका कप, प्लेट र अर्कोमा तामा र पित्तलका परम्परागत भाँडाहरू एकमाथि अर्को आकर्षक तरिकाले मिलाएर राखेका छन् । मलाई निकै मन प¥यो भाँडाकुँडा सजाएर राख्ने उनीहरूको शैली ।
०००

छाड्यौँ मार्फा ।
बिहानी घामको लालीले सुनौला बन्दै थिए नाङ्गा डाँडाहरू । हिँड्न पनि मज्जा आउने बतास नचल्दा । कालीगण्डकीको तीरतीरै हिँड्नुपर्छ कागबेनीसम्मै । बायाँतिरको पहाडबाट झरेका खहरेखोला तर्नका लागि फड्के हालिएका छन् । फड्के नहुँदो त घरीघरी जुत्ता फुकाल्नु पथ्र्यो । कम्ताको तनाव हुन्थेन यो ज्यानलाई ।
तटैतट हिँडियो मज्जैले । लगभग डेढ घण्टामै पुगियो जोमसोम बजारको छेउछाउ । कालीगण्डकीको किनारमै लमतन्न सुतेको छ– पुथाङ विमानस्थल । सितिमिति हिमालपारि प्रवेश दिइहाल्दैन जहाजलाई लेतेको आकाशले । कहिलेकाहीँ त आकाश नखुल्दै बेफ्वाँकको घमण्ड देखाइसकेको हुन्छ वायुले । हावाले फुइँकी नमारेसम्म मात्रै हो हेलीकप्टर र ट्वीनअटरले नीलगिरिको दैलो टेक्न पाउने ।
सामुन्नेमा उभिएका छन्– ७,०६१ मिटर अग्लो नीलगिरि नर्थलगायतका हिमशैल । मज्जाले घाम तापिरहेझैँ लाग्थे ती हिमालहरू देख्दा । फेरि भूपी शेरचनकै कवितांश याद आउँछ मलाई–
‘हरिया–हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधैँ ढाड सेकेको हुन्छ ।’
घाम तापेरै खिरिला बन्छन् हिमालहरू । हिमालले घाम ताप्नै नपाउने हो भने कस्तो हुन्थ्यो होला प्रकृतिको स्वरुप । कल्पना गर्छु म ।
०००
नौ बजेको थियो, पहराको काखमा बसेको जोमसोम बजार पुग्दा ।
ओहोरदोहोर गर्दै थिए एक–दुई थान यात्रुवाहक हवाइजहाज पुथाङ विमानस्थल अगाडिको ढिस्को छोइएलाझैँ गरेर । भ्याइनभ्याइ छ जहाजलाई पनि ।
पन्ध्र मिनेटको उडानमा प्रतिविदेशी एकसठ्ठी अमेरिकी डलर भाडा असुल्छन् एअरलाइन कम्पनीहरू । दुईजना विदेशी साथमा भएमात्र हो, नत्र रु. १,८५०।– को डेढी तिर्नुपर्छ नेपाली कामदारहरूले । यस्तो काइदा त विदेशमा सायदै छैन होला । जहाज कम किन्तु दिनप्रतिदिन बढ्दो छ यात्रुको संख्या । अनि किन भाडाले आकाश नछोओस् त ! फेरि ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेझैँ ‘एअरपोर्ट ट्याक्स’ लिने चलन नेपालमै छ । कुन्नि कहिले हट्ने हो यो चलन ! अचम्मै लाग्छ ।
सजिलो त कहाँ छ र जहाजलाई पनि ! पहाड–पर्वतका टाकुरालाई छल्नुपर्छ । बादलभित्र घुस्रिनुपर्छ । आँखा झिमिक्कै गर्न पाउँदैनन् पाइलटले । खुकुरीको धारमा राख्नुपर्छ ज्यान । अलिकति गल्ती भयो कि कालीगण्डकीमा हामफाल्न पुग्छ जहाज । यस्तै भएको थियो– सन् १९९२ मा । मुस्ताङ पदयात्रा गर्ने सिलसिलामा मेरा मित्र विमल नहर्की नेपाल एअरवेजको विमानमा आएका थिए । विमानस्थलको बीचभागमा पुगेपछि मात्र जहाजले भुइँ छोएको थियो रे । पाइलटले नियन्त्रणमा लिन नसक्दा जहाज त पुगेछ कालीगण्डकी । धन्न भगवान््ले हात थापिदिएछन् र बाँचेछन् सबै यात्रु । सम्झँदै थिएँ– विमलले सुनाएको त्यो त्रासदीपूर्ण कहानी । चार दिनपछि आफूहरू पनि जहाजमै पोखरा फर्कनुपर्छ । केहीगरी विमानस्थलको सट्टा फेवातालमा अवतरण भयो भने ……! भयत्रस्त भएथेँ म ।
“उः त्यही हो चार दिनपछि हामी चढ्ने प्लेन ।” जोन र डेभिडलाई देखाएँ मैले ।
०००
अघिल्लो पटक आउँदा धुम्बातालको बारेमा बताएका थिए होटल मेजेस्टीका सञ्चालक खगेन्द्र शेरचन दाइले । समय थिएन त्यो बेला । अहिले पनि एकछिन त जाऊँ कि नजाऊँ भन्ने दोमन भयो । सोचेँ– ‘जान आउन दुई घण्टाको कुरा हो । कागबेनी पुग्न भ्याइहालिन्छ । कुरा राखुँ कि क्या हो जोन र डेभिडसँग ।’
“जाने हो त धुम्बाताल ?” सोधेँ ।
बुढीऔँला, चोरीऔँला र माझीऔँला जोडेर फुकाए (हामीले देवतालाई अक्षता छरेजस्तै गरेर) । ‘ओके’ भन्ने सङ्केत थियो । ताल हेर्ने भनेपछि खुसी भए दुवैजना ।
देण्डीसँग सल्लाह गरेँ ।
“म खाना यहीँ तयार गर्दै गर्छु । त्यो बेलासम्म गएर आऊनू नि ! भ्याए कागबेनी जाऊँला नभ्याए एक्लेभट्टीमा बास बसूँला । के को ट्याकट्याक !” ढाडस दिए देण्डीले ।
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेको यही हो । हठात् परिवर्तन भयो हाम्रो यात्रातालिका ।
“एघार बज्दा खाना तयार भइसकेको हुन्छ । धेरैबेर नअलमलिनू नि ! फेरि खाना चिसो होला । हुकुम प्रमाङ्गी भयो देण्डीको ।
हामी लाग्यौँ धुम्बातालतर्फ ।
कालीगण्डकीको झोलुङ्गे पुल तरेपछि यात्रा अगाडि बढ्छ बगरैबगर । नीलगिरि झन्झन् नजिकिँदै छ । निर्जन, नाङ्गा पहाडहरू छन् वरिपरि । ढुङ्गाका चेपमा फुलेका पहेँला, नीला र सेता भुइँफूल कुल्चँदै हिँडिरहेका छौँ हामी । ठिनीखोलाको फड्के तरेपछि देखापर्छ रम्लेको पातलो बस्ती । छ–सात वटा मात्र घरहरू छन् यहाँ । शान्तसित चल्मलाइरहेको छ यहाँको जीवन । खोलाको गर्जन ठोक्किन आइपुगेको छ कानको पर्दामा । गाउँका गुम्बा र स्याउको बगान सजिएका छन् आँखामा ।
थकानलाई बिसायौँ गाउँको सिरान पुगेर ।
चराको गीत र चञ्चल हावाको हल्का स्पर्शले मान्छेहरूका मानसिक तनाव र दुःखलाई भुलाउँदा रहेछन् । यही कुरा बुझ्थेँ म जोनको हाउभाउमा । तर समस्याहरू भन्दैनथे उनी । सायद उनले ठाने होलान्– ‘उनको भाषामा म यी सबैकुरा बुझ्न सक्दिनँ ।’
यसै पनि हँसिला उनी निकै फुरुङ्ग देखिन्थे ।
२,८३० मिटरमा अवस्थित सुन्दर धुम्बातालमा पुग्यौँ हामी । चोखो जलको कुण्ड, मुस्ताङको नीलहिरा र नागराज देवताको बासस्थान हो– धुम्बाताल । गमक्क परेर बसेको छ यो सुख्खा पहाडको काखमा । पृष्ठभूमिमा छन्– पूर्वतर्फ थोरङ ला र नीलगिरि, पश्चिममा मानापाथी र दक्षिणमा धौलागिरि र टुकुचे । तालको डिलमा फर्फराइरहेको छ लुङ्दरको धरो । पारि भित्तामा हल्लिरहेका छन् धूपीलगायतका हरिया बुट्यानहरू । छेउमा प्रतिष्ठापन गरिएको छ नाग देवता । पारिवारिक सुखशान्ति मिल्ने र मनकान्छे पूरा हुने आशामा पूजाअर्चना गर्दैछन् भक्तहरू ।
म त्यही दृश्यहरू हेर्दै थिएँ ।
र, सोच्दै थिएँ– ‘कति मज्जा होला मज्जाले जमेको धुम्बातालमा खेल्न !’ त्यही बेला जोनले मलाई कोट्याए र ताल देखाए । अचम्भित हुँदै उनले दाहिने हातको माझी औँलाले आफ्नो देब्रे छातीमा छोएर देखाए । र, दुवै हातको माझी आँैलाले मुटुको आकारमा ‘ट्रेस’ गरे ।
उनको आशय थियो– “तालको आकार मुटुको जस्तै छ ।”
साँच्चै मुटुकै जस्तै आकार छ धुम्बातालको ।
उनले फेरि हातको माझी औँलाले मुटु छोए र त्यसैमा बुढी औँला जोडेर गोलो आकृति बनाए ।
उनको आशय थियो– “मलाई मन प¥यो ।”
प्रत्येक दिन उनले व्यक्त गर्ने नयाँनयाँ कुराहरू सिक्दै थिएँ म ।
कनीकुथी मैले पनि सङ्केत गरेँ– “प्रेमको प्रतीक हो धुम्बाताल ।”
चराहरूले हृदय जोडिरहेका थिए धुम्बामा । जसरी मानव शरीरको जीवनदायी अङ्ग हो मुटु, त्यसरी नै प्रकृतिको एउटा अङ्ग हो धुम्बाताल । प्राण सम्बन्ध गाँसेका छन् धुम्बासित माछा, चरा र जनावरले । मान्छेलाई नुहाउनका लागि वर्जित धुम्बामा डुबुल्की मार्छन् घाम, जून र नीलगिरि शैल ।
पीडाका तरङ्ग पो फिँजिएको देख्छु म धुम्बामा । धुम्बालाई हँसाउन र जगाउन सके प्राण सम्बन्ध गाँस्न सक्छ जोमसोम, ठिनी र रुम्लेले । सोच्दै थिएँ म ।
बल्छी हान्न मनाही रहेछ धुम्बामा । भाग्यमानी रहेछन् धुम्बातालका माछाहरू । एकालाप गर्छु म– ‘यदि यो ताल पोखरामा हुने हो भने यहाँका माछाहरू रेस्टुरेन्टहरूमा पुगिसकेका हुन्थे र मान्छेको पेटमा पुग्थे फिस करी, ग्रिल्ड फिसलगायतका आइटम बनेर ।
ताल नजिकैको डाँडोमा छ– एघार वर्ष पुरानो कुछप तेरङ्गा गुम्बा । संयोगले एकजना स्थानीय जानकार भेटिए ।
उनले भने, “भगवान््् बुद्धलाई चढाउने जल हो यो तालको पानी । यसैको पानी चढाइन्छ तेरेङ्गा गुम्बामा ।”
“किन ‘कुछब तेरङ्गा’ भनिएको ?” जिज्ञासा राखेँ मैले ।
“गुरु रिम्पोचेले प्रयोग गर्नु भएको पाँच वटा वस्त्र राखिएकोले कुछब तेरेङ्गा भनिएको हो । गुरु रिम्पोचेको खुट्टाको छाप पनि छ त्यहाँ । माथिल्लो मुस्ताङको माराङमा घार गुम्बा बनाइसकेपछि गुरु उडेर साङ्फु गुफामा जानेक्रममा कुछब तेरङ्गाको ढुङ्गामा खुट्टाको छाप छोडेर जानुभएको रे । वस्त्रहरु चाहिँ गुरु तिब्बत फर्किएपछि उहाँका भक्तहरुले राखेका रे । बज्रयानी बौद्धमार्गीका लागि पवित्र ठाउँ हो यो ।” उनले कहे ।
उनले भनेको ‘साङ्फु गुफॉ चाहिँ कहाँको हो भेउ पाउन सकिनँ मैले ।
०००
धुम्बाको सौन्दर्यले भुलाएपछि देण्डीले भनेझैँ एघार बज्दा फर्कन कहाँ सक्यौँ र हामी ! खाना खाएर चुठेको हात नओभाउँदै यात्रा सुरु ग¥यौँ हामीले । बाह्र बजे बेजोडको सुस्केरा हाल्न सुरु गरिसकेको थियो हावाले ।
काठेपुल तरेर अगाडि बढेपछि अघिल्लो दिन मार्फामा भेटिएका उही बाबाजी भेटिए । टाउकोमा बेरेका छन् नरिवलको जटाजस्तो कपाललाई । पालेका छन् लामो दारी । पहिरिएका छन् पातलो पहेँलो वस्त्र । घाँटीभरि भिरेका छन् रुद्राक्षको माला । निधारमा लगाएका छन् खरानीका टीको । हातमा छ त्रिशूल भएको लौरो र, काँधमा भिरेका छन् पातलो कम्बलसहितको एउटा सानो झोला । हिँडिरहेका छन् खालि खुट्टा । उनलाई देख्दा कतै शिवजी नै हो कि भनेझैँ लाग्ने । हरर्र गाँजाको सुवास आउँछ उनको नजिक जाँदा ।
उनी रुकुमबाट आएका बाबाजी । हिजो एकैछिन संवाद गरेको थिएँ । उनी पाँच वर्षअघि मुक्तिनाथ धाम आएर तीन महिना बसेका रे । फेरि आउने इच्छा जागेछ उनलाई ।
जोमसोबाट हिँडेका उनी यतिबेला त एक्लेभट्टीतिर पुगि सक्नुपर्ने हो । भर्खरै यहाँ आइपुगेका छन् । यति नै बेला यही ठाउँमै पुग्नैपर्छ भन्ने छैन उनलाई ।
“जय शम्भो !” अभिवादन गरेँ मैले ।
“शम्भो शम्भो !” अभिवादन फर्काए उनले ।
थप संवाद गरेँ मैले बाबाजीसँग ।
“आज कहाँ पुग्नु हुन्छ ?”
“कागबेनी ।”
“हामी पनि आज कागबेनी पुग्ने हो । सँगै हुने भयौँ ।”
“हुन्छ नि ।”
“जुत्ता लगाउनु भएको छैन । गेग्य्रानले बिझाएको छैन ?”
“खाली खुट्टा हिँड्ने बानी परिसक्यो । अस्ति एक जनाले बेनीमा एकजोर जुत्ता किनिदिए । त्यो दिन त लगाएँ । भोलिपल्ट बसेकै ठाउँमा छाडिदिएँ ।”
“तपाईंको परिवार ?”
“छ । आमा, बुबा दाजु, भाइ र बहिनी छन् ।”
“तपाईंलाई किन सांसारिक मोह त्याग्न मन लागेको नि ?” सोध्ने प्रश्न त होइन तैपनि सोधेँ मैले ।
“शिवजीको शरणमा पर्न मन लागेर । आध्यात्मिक जीवनमा लाग्ने मेरो पहिलेदेखिकै इच्छा थियो ।” सहज जवाफ उनको ।
बीस वर्षदेखि पर छन् उनी सांसारिक जीवनबाट । बिन्दास देखिन्छन् उनी । ‘शोक न सुर्ता भोक न भकारी ।’ उनलाई के भो र !
दुईतिरका सुख्खा पहाडहरूका माझमा फैलिएको छ कालीगण्डकी । कालीगण्डकीकै तीरमा हिँडिरहेका छौँ निरन्तर देब्रे किनार च्यापेर । बगरले छोएको छ वारिपारिकै पहाडलाई । ‘स्कोरिङ डेफ्थ’को फर्मुला अपनाएर नदीलाई एकत्रित गर्न सके त बस्ती नै बसाउन सकिन्थ्यो होला । गम्दै थिएँ म ।
भन्दाभन्दै हुरी चल्न थाल्यो मिसाइलको गतिमा । मज्जैले धकेलिरहेको छ पछाडिबाट उडाउलाजस्तो गर । हावाको वेग अनुभूत गरिरहेका छौँ हामी । सुनेको थिएँ– गौचनका देवताले हावा र शेरचनकाले प्राकृतिक प्रकोप नियन्त्रण गर्छ रे । साँच्चै होला त ? नियन्त्रण गर्न नसकेको भए योभन्दा बढी हुन्थ्यो होला त ? फगत् विश्वासमात्र हो कि झैँ लाग्ने !
जाने र सके प्रकृतिले नै थुपारेर राखिदिएको यति धेरै बालुवा, गिटी र रोडाको सदुपयोग गर्न सकिन्थ्यो होला । कालीगण्डकी नदी र यहाँ चल्ने हावा दुबैबाट बिजुली निकालेर नेपाललाई झिलिमिली पार्न सकिन्थ्यो होला । वि. सं २०४४ सालतिर वीरेन्द्र सरकार बेलायत सवारी हुँदा उपहारस्वरुप प्राप्त २० किलोवाट क्षमताको टर्वाइन कागबेनीमा जोडिएकै त थियो नि । नेपाल विद्युत प्राधिकरणले विनाअध्ययन नै जडान गरेकाले टर्वाइनका ब्लेडहरुले तीन महिनामै काम गर्न छाडे । अहिले त वीरेन्द्र सरकार होइबक्सिन्न, को बेलायत जानू र अर्को टर्वाइन उपहार पाउनू । त्यस्तो जनप्रेमी राजा त कहाँ पो पाइएला अब ! भक्कु कुरा खेलाएथेँ मनमा ।
“मुक्तिनाथबाट फर्कंदा चाहिँ हावाले पछाडि धकल्ने होला । कम चुनौतीको कुरा होइन वायुशक्तिलाई जित्नु ।” मनोवाद गर्दै थिएँ म । फुस्केलाझैँ भइसकेको छ लुङ्दर फर्फराएझैँ फर्फराइरहेको, बाबाजीको मर्दाना धोती । देब्रे हातले अँठ्याइरहेका छन् उनी धोतीको फेरलाई । कति हाँस्नु ! बेनीतिर बेगिएको कालीको आवाज बोकेर कागबेनीतर्फ बेगिइरहेको छ बतास । हैन कहाँबाट आउँछ यति बेगिलो वायु ? आफैँलाई प्रश्न तेस्र्याइरहेछु म ।
दुबै हातका पाँचै औँला फट्टाएर घुमाउँदै प्रवाहमय हावाको सङ्केत गर्छन् डेभिड । उनीहरूको भाषा सिक्दै छु म ।
मसिना गेगर र ढुङ्गाहरू झरेर थुप्रँदै थिए नदीको किनारमा । झरुन पनि के ? ढुङ्गा र बालुवा मात्रै त छ !
“ढुङ्गाले लाग्न सक्छ । होसियार रहन भन्नू है !” देण्डीले अथ्र्याए मलाई ।
कसरी बताउने त उनीहरूलाई ?
मैले लेखेरै सोधेँ ।
जोनले सिकाइ दिए । दुवै हातको हातको चोरीऔँला र माझीऔँलालाई हल्का फट्टाई देब्रेलाई मुनि राखेर दाहिनेले ठोक्ने पो रहेछ । कति सजिलो !
माथिल्लो डोल्पाको पदयात्रा सकेर जोमसोम आइरहेका पर्यटकहरू झर्दै थिए पारि पहाडबाट । फोकसुण्डो ताल हेर्दै नाङ्दा ला र याङ्जिर गुम्बा, भएर निवाला र जुङ्बेन लाजस्ता उच्च हिमाली भञ्ज्याङहरू पार गरेर यसरी नै जोमसोम आइपुग्ने सपनालाई सिउरिएको छु मैले पनि सपनाको झोकमा । तर थाहा छैन कहिले साकार हुने हो त्यो सपना ।
०००
तिब्बती मूलका मान्छेहरू ठाउँठाउँमा बसेका छन् शालिग्राम बेच्न । साइज–साइजका छन् शालिग्राम शिला । कालीगण्डकीले व्यापारी बन्ने सौभाग्य दिएकी छन् तिनलाई ।
“कति पैसा शालिग्रामको ? भाउ बुझ्न खोज्छु म ।
“सानोको दुई सय पचास । ठूलोको पाँच सय । लानुस् !” जवाफ दिन्छन् पसले ।
आफ्नै ज्यान भारी भइरहेको छ । झन् त्यसमाथि ढुङ्गा बोकेर त के हिँड्नु । सोधेको मात्रै पो त !
फर्केर आउँदा लान्छु नि । टारेँ मैले ।
“शालिग्रामको नित्य पूजा गर्नुस् । राम्रो हुन्छ ।” बाबाजीको सुझाव मलाई ।
सम्म परेको भएपनि तटीय बाटोभन्दा त उकालो नै सहज हुँदो रहेछ हिँड्नलाई । बल्लबल्ल पुग्यौँ हामी एक्लेभट्टी ।
पहिले यहाँ एउटैमात्र चिया पसल भएकोले एक्लेभट्टी भनिन्थ्यो । अचेल तीनवटा छन् । तैपनि एक्लेभट्टी नै भनिन्छ यो ठाउँलाई । भट्टी सुधारिएर रेस्टुरेन्ट भइसके अचेल ।
जोनले दुवै हात मुठ्ठी पारेर एकआपसमा ठोके र घडी देब्रे हातको नाडीमा दाहिने हातको चोरी औँलाले ट्वाक्क पारे, चराले ठुँगेझैँ । मैले नबुझेपछि उनले औँलाले ‘बी, आर, ई, ए, के’ को सङ्केत गरे ।
त्यसपछि पो थाहा पाएँ– ‘थकाइ मारौँ’ भन्न खोजेका रहेछन् ।’
तटीयमार्गमा दुई घण्टा हिँड्दा हावाले थिल्थिलो पारेको ज्यानलाई एकछिन आराम त दिनैपर्ने थियो । छि¥यौँ हामी एक्लेभट्टीको रेस्टुरेन्टमा ।
“चिया पिउनुहुन्छ ?” बाबाजीलाई मेरो अफर ।
“हुन्छ नि ।”
तातो चियाले पानीको प्यास र थकान मेटायौँ हामीले ।
०००
पर देखिन्थ्यो कागबेनी ।
“अब त एक घण्टा नि लाग्दैन ।” देण्डी बोले ।
“जाँदाजाँदैको पहिलो होटलको क्याम्प साइटमा टेन्ट फिक्स गर्नु है !” सहकर्मीलाई अह्राए उनले ।
एक्लेभट्टीबाट कागबेनीतर्फ लाग्दा बाटो छाडेर बाबाजी कालीगण्डकीको बगर बीचतिर लागे । सोचेको थिएँ– ‘उनी आफ्नै किसिमले हिँड्न लागे होलान् ।’ हाम्रो पछाडि परिसकेका थिए उनी । तर एकैछिनमा भेट्न आइपुगे । अघि भर्खरै मैले शालिग्राममा आँखा लगाएकोले होला, उनी त मेरा लागि शालिग्राम खोज्न पो गएका रहेछन् ।
शालिग्रामलाई मेरो हातमा थमाउँदै उनले भने– “यो चाहिँ पद्म आकारको शिला हो । शालिग्रामहरू शङ्ख, चक्र, गदा, पद्म अङ्कित हुन्छन् । यस्ता शिलाबाट सर्पभय, अग्निभय र दुःख नास हुन्छ । ब्रह्माण्ड पुराणमा शालिग्रामको चर्चा गरिएको छ । शालिग्राम पूजाबाट जीवनको परम उद्देश्य धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ प्राप्त हुन्छन् ।”
“जय शिव शङ्कर, भोलेनाथ !”
बाबाजीले एकैछिन रोकिएर भगवान्को नाम जपे र शालिग्रामको बारेमा बताए–
“ऊबेला पतिव्रता स्त्री वृन्दाले भगवान्् विष्णुलाई ढुङ्गा हुनु परोस् भन्ने श्राप दिएकीले भगवान््ले गण्डकी क्षेत्रमा कालो शालिग्राम शिला भई बस्ने विचार गर्नुभएको हो । विष्णुकै प्रतीक हो शालिग्राम । पितृश्राद्धमा शालिग्रामको जल, विष्णुपादुका नभई हुँदैन ।”
पाइला सार्दै गर्दा उनले अगाडि भने– “पवित्र गण्डकीलाई तपस्वी साधकहरूले भारतको गङ्गा र भागीरथीसँग तुलना गरेका छन् । गण्डकी नदीको शीर्षस्थ क्षेत्र मुक्तिनाथ धाम हो । यो क्षेत्र गण्डक क्षेत्र हो ।”
आफ्नै देशको भूगोलको यो पाटोसँग म बिल्कुल अन्जान थिएँ । उनी भन्दै गए, म सुन्दै गएँ ।
मुक्तिनाथको बारेमा बादलमाथिको मन्दिर भन्ने मात्र थाहा थियो । उनीबाटै थुप्रै जानकारी पाएँ मैले ।
कति धेरै ज्ञान छ बाबाजीसँग ! एउटा पथप्रदकर्शसँग यस्ता ज्ञान हुनु जरुरी छ । नत्र कहाँ चिनाउन सकिन्छ र पर्यटकहरूलाई नेपालको बारेमा !
मेरो एक मनले भन्थ्यो– ‘यस्ता मान्छेसँग अरु दुईइचार दिन सँगै हिँड्न पाए त धेरै कुरा थाहा पाइन्थ्यो होला ।’ फेरि अर्को मनले भन्थ्यो– बाबाजीको सङ्गतमा परेर आफू उनीजस्तै भइयो भने त परिवार कसले पालिदेला ।’ अनौठा कुरा अजमाइरहेथ्यो मेरो मनले ।
सुनेको थिएँ– ‘काम गर्नाको दुःखले जोगी भयो, जोगी भएको भोलिपल्ट भोकै रह्यो ।’
तर जोगीहरू बाँचेकै छन् त ! के जोगीहरू भोकै पनि बस्नुपर्छ ? कुतूहल मच्चियो मेरो मनमा ।
“तपाईं टाढा–टाढासम्म यात्रा गर्नहुन्छ, खानुपर्छ, कतै गाडी पनि चढ्नु पर्ला, कसरी सम्भव हुन्छ यी सबै ?” अर्थहीन प्रश्न भन्ने लाग्दालाग्दै पनि मेरो मुखबाट फुस्कियो ।
तर सहज जवाफ दिए उनले– “भगवान्को दर्शन गर्ने इच्छा भएपछि कामना पूरा भइहाल्छ । कतियप ठाउँमा त आश्रममै बसिन्छ । जसले हामीलाई चिन्छन् उनीहरू खान र बस्न दिन्छन् । एक छाक खाने त हो ! कतिपयले पैसा पनि दिन्छन् । कतिपय अवस्थामा त भोकै पनि हिँड्नुपर्छ । यसैमा त छ जोगी हुनुको मज्जा !
उनको कुराले लाग्थ्यो– ‘जीवनका प्रत्येक चुनौतीलाई सहजरूपमा स्वीकार्नुुपर्दो रहेछ ।’
फेरि सोधेँ– “मान्छेहरूले दिएको पैसा सञ्चित गर्ने हो भने त भोको बस्नु पर्दैन नि ?”
“अहँ, त्यस्तो हुँदैन । हाम्रो शब्दकोशमा त्यो शब्द नै हुँदैन । आज कसैले दिएको पैसा आजै खर्च हुन्छ । सञ्चित गर्ने हो भने त तपाईं र हाम्रो जीवनमा के अन्तर भयो र ?” जोगी हुनुको अर्थ बताए उनले ।
नतमस्तक भएँ म ।
चार बजे कागबेनी पुग्दासम्म उस्तै थियो हावाको गति । प्रवेशद्वारमै स्वागत गरेथ्यो एउटा खाइलाग्दो भोटे कुकुरले । खेतका गह्राहरूमा मढारिइरहेका थिए कागबेनीले सपारेका हरिया उवा र लुङ्दरझैँ फर्फराइरहेका थिए घर छेउछाउका खुर्पानी, स्याउ र आरुका बोटहरू ।
बस्ती प्रवेश गरेपछि बाबाजी छुट्टिए हामीसँग ।
०००
तिब्बती संस्कृतिले जीवन्तता पाएको प्राचीनस्थल हो– कागबेनी । ल्हो–मान्थाङ र मुक्तिनाथ जाने पर्यटकहरू रात बिताउने भएकोले पर्यटकीय नगरी भएको छ कागबेनी । कालीगण्डकीको किनारबाट अग्लिएको भूभागमा फैलिएको छ बस्ती । बस्तीकै बीचमा देखिन्छ भग्न दरबार । कालीको किनारमा अवस्थित हुनु कागबेनीको एउटा विशेषता हो । बस्तीभित्र कलात्मक छ्योत्र्तेन र नदीकै डिलमा छ– काग कागचोदे थुप्तेन साम्फेलिङ गुम्बा । नदीपारि राता पहाड नदीवारि खैरो बलौटे पहाड । खुब सुन्दर छ कागबेनी ।
“दामोदरकुण्डको पानी मिसिएर आउने कालीगण्डकी र मुुक्तिनाथ धामबाट आउने कागखोलाको सङ्गम नै कागबेनी हो । दुवैतर्फबाट आउने नदीहरूको वेणी परेकाले कागवेणी भनिएको हो । यही कागवेणी नै कागबेनी भएको हो ।” छुट्नुअघि बाबाजीले भनेका थिए ।
थाकेका पयरलाई आराम गर्न दिएर हावा मत्थर भएपछि मात्र कागवेणी घुम्न निस्केका थियौँ हामी ।

मुक्तिनाथ पुगेको दिन
सखारै कागवेणी किनारमा पुगेथेँ म ।
“देवताको तपस्थल भएकोले पितृहरू सदैव मुक्तिनाथ धाम, गण्डकी तीर्थ, शालिग्राम क्षेत्रमा बस्न रुचाउँछन् । गण्डकी नदीतटमा श्राद्ध कर्म गर्नेहरूले मुक्ति प्राप्त गर्दछन् । गण्डकी स्नानले पापहरू पखालिन्छन् ।” हिजो बाबाजीले भनेको सम्झेँ मैले ।
त्यसैले पो श्राद्व गर्न मान्छेहरू यहाँसम्म आइपुग्दारहेछन् ।
धार्मिक आस्था न हो ! पितृलाई पिण्डदान गर्न आएकाहरू थुप्रै थिए त्यहाँ । पवित्र ठाउँ भएकोले होला श्राद्ध गराउने पण्डितका लागि सधैँ सिजन हुँदो रहेछ यहाँ । मैले पनि आफ्ना पितृहरूलाई सम्झेँ । पण्डितसँग बसेर पिण्ड दान गर्ने समय त कहाँ थियो र मसँग ! गण्डकीको पानीले मुख धोएँ शरीर शुद्ध पारेँ र जल चढाएँ सम्पूर्ण पितृका नाममा ।
०००
आठ बज्दा उकालो लाग्यौँ हामी ।
“तपाईंहरू विस्तारै आउँदै गर्नु । म झारकोट पुगेर लन्च तयार गर्दै गर्छु ।” किचन टोली लिएर अघि लागे देण्डी ।
कागवेणी छाडेर धमाधम उकालिँदै छौँ हामी । कागवेणीबाट मुक्तिनाथ पुग्नु धर्ती छाडेर आकाश छुनुजस्तै भएको छ आज । किनकि हामीले बादलमाथिको मन्दिर पुग्ने सङ्कल्प गरेका छौँ । नीलगिरि होचिँदै गएको प्रतीत भइरहेको छ, बादल छुने हाम्रा पाइलासँगै ।
उकालिँदा उकालिँदै क्लान्त जोन र डेभिडमा आत्मविश्वास भरेर दह्रो बनाइरहेको छु, उनीहरूका पयरलाई । मेरो कर्तव्य– उनीहरूलाई गन्तव्यमा पु¥याउनु र यात्रालाई सार्थक बनाइदिनु हो । उनीहरूसँग बिताएको समयका प्रत्येक क्षणलाई स्मरणीय बनाउनु पनि हो । यात्राका सम्झनालाई मित्रताको रुमालले बेरेर पठाउनु छ मैले ताकि उनीहरूले नेपालको यात्रामा मेरो प्रतिच्छायाँ देखिरहून् ।
नाङ्गा पहाडका डबलीहरूमा रोकिँदै–रोकिँदै खिङ्गा गाउँ पुग्यौँे ।
मुक्तिक्षेत्रभित्रको एउटा सानो गाउँ यो । यही बाटो भएर कैयौँ पर्यटकहरू आवतजावत गर्छन् तर कोही रोकिँदैनन् । पर्यटनले छोएको छैन अझै यहाँ ।
खिङ्गाबाटै देखिन्छ– झारकोट ।
“उः त्यो झारकोट हो ।” सङ्केत गरेँ जोनलाई ।
“अब कति समय लाग्छ ?” उनको सोधाइ थियो ।
“आधा घण्टा ।” मेरो जवाफ ।
डबलीमा उभिएको मान्छेको समूहजस्तै लाग्छ झारकोटको बस्ती देख्दा । डिलमा छ गुम्बा र गुम्बासँगै जोडिएको छ, झुरुप्प बस्ती । उही पहाडको ढाड टेकेर झारकोटतिरै लम्कँदै छौँ हामी ।
झारकोटबाट आधा घण्टा उक्लेपछि आइपुग्यो मुक्तिनाथ । मन्दिर त अझै पच्चीस मिनेट पर छ ।
“एकछिन थकाइ मारेर मन्दिर जानू । तपाईंहरू फर्कंदासम्म हामी क्याम्प खडा गरिसक्छौँ । बरु बेलैमा फर्कनू । आज त मुस्ताङ कफी बनाउँछु म ।” गन्तव्य चुमेको दिनमा खुसीयाली मनाउने परम्परा निर्वाह गर्न चाहन्थे देण्डी ।
०००
थोराङ लाको पुछारमा पुग्नुपर्छ । तैपनि माथि नै देखिन्थ्यो मुक्तिनाथ । कडा सिरेटो चल्नुअघि नै लाग्यौँ हामी । हल्काफुल्का बादलले मन्दिर कहिले छोपिन्थ्यो, कहिले देखिन्थ्यो । साँच्चै बादलमाथि छ मन्दिर भन्ने भान हुन्थ्यो ।
स्थानीय पुरुष र महिलाहरू पर्यटक बाटो कुरेर बसेका छन् हातले बनाएका टोपी, गलबन्दी, पञ्जा र झोला लिएर ।
“एक्सक्युज मी सर ! यू वान्ट टू बाई समथिङ ? प्लिज सी !” फकाउँदै छन् जोन र डेभिडलाई ।
बिचरा ! ती पसलेहरूलाई के थाहा उनीहरू बधिर हुन् भन्ने । बेकार बोलीमात्र खेर जाँदै थियो उनीहरूको ।
“दाइ पूजा लाने होइन ?” पूजाका सरजाम लिएर बसेकी महिला सोध्छिन् ।
रु. पचासमा किनेँ मैले ।
पहाडको ढाडमा भकुन्डिँदै ओरालो लागिरहेको छ, मुक्तिनाथको १०८ जलधारा झरेर आएको पानी कालीगण्डकी भेट्न ।

बाँकी रह्यो अन्तिम उकालो । समुद्री सतहबाट आएकाहरूलाई लेकले छोइहाल्छ यो उचाइमा आइपुग्दा । कोहीले घोडा चढेका छन् । कोहीले मान्छेको काँध । येनकेन पुग्नु छ भगवान््को चरणमा ।
उकालोको श्रेणीका दायाँबायाँ बसेका छन् असहायहरू जीवनको भीख माग्दै । कोही टीका लगाइदिँदै । कोही शालिग्राम बेच्दै । आगन्तुकहरूको स्वगतमा ‘शम्भो !’ ‘शम्भो !!’ अभिवादन गर्दै बसेका बाबाजीहरूको लामै लाइन छ । आगन्तुकबाट केही पैसा झरोस् भन्ने उनीहरूको अपेक्षा छ ।
कोही बाबाजी जटा फिँजाएर तस्बिर खिचाउँदै छन् विदेशी पर्यटकसँग । बदलामा डलरले झटारो हानिरहेका छन् विदेशीहरूले । खुसीले गद्गद् भएका छन् बाबाजीहरू । हेर्नलायक छ तमासा ।
दोहरीलत्त भक्तजनहरूको भीडमा हराइरहेका छौँ जोन, डेभिड र म । मुक्तिक्षेत्रको शिवजी मन्दिर, स्वामी नारायण मन्दिर, नरसिँह गुम्बा, ज्वालामाईमा पनि त्यत्तिकै सल्बलाइरहेका छन् भक्तजन । कोही सकीनसकी बडेमानको शालिग्राम उचाल्दै छन् ढाड मर्काइ–मर्काइ ।
हामी पुग्यौँ नेपाली प्यागोडा शैलीमा निर्मित मुक्तिनाथ मन्दिरको आँगनमा ।
पद्माासनमा अभयमुद्रासहितका भगवान्् विष्णुको मूर्ति रहेको छ । यसैलाई बौद्धमागीहरू अवलोकितेश्वरको रूप मान्दछन् । समान आस्था छ दुवै धर्मावलम्बीहरूमा । दायाँ र बायाँ दुवैतिर सरस्वती र लक्ष्मीका मूर्ति छन् । ब्रह्माजीले यज्ञ गरेको स्थलमा ज्वालामाईको मन्दिर छ ।
मन्दिर बाहिर हिन्दू ब्राह्मण भक्तजनलाई टीका लगाएर दक्षिणा थापिरहेका छन् । भित्र बौद्ध झुमाले प्रसाद वितरण गरिरहेकी छिन् ।
भक्तजनहरू कोही मन्दिर अगाडिको कुण्डमा डु्बेर पाप पखाल्दै थिए, कोही १०८ धारामा स्नान गर्दै । सबका सब व्यस्त थिए आ–आफ्नै सुरमा ।
०००
कोही मन्दिरभित्र भगवान्््सित माग्दै, कोही मन्दिर बाहिर मान्छेहरूसँग माग्दै । आखिर हामी सबै माग्दै त रहेछौँ ! यही थियो सबैभन्दा रोचक दृश्य ।
एउटै बिन्दुमा उभिएर धार्मिक एवम् सांस्कृतिक सम्पदाको अवलोकन र प्राकृतिक दृश्य आस्वादन ग¥यौँ हामीले । साँच्चै अलौकिक छ– बादलमाथिको मन्दिर परिसर ।
“कस्तो लाग्यो मुक्तिनाथ यात्रा ?” मैले जोन र डेभिडलाई सोधेँ ।
उनीहरूको जवाफ थियो– “सोचेभन्दा राम्रो ।”
हामी फर्कंदै गर्दा मुक्तिनाथ क्षेत्रभरि टाँगिएका लुङ्दरहरू र हरिहल्ल वृक्षहरूले उच्चारण गर्न थालिसकेका थिए बौद्ध मन्त्र– ‘ॐ मणि पद्मे हुँ’ ।
२००३ मे २४

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }