सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विभेदले निमोठेको रुकुमेली प्रेम


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २६, २०७७
  • 1.6K
    SHARES
  • राम लामा अविनाशी ,अमेरिका

छोरीले माया गरिन् । विवाह गर्न तयार भइन् । आमाले बिरोध गरिन् । बिरोध मात्र गरिनन्, गाउँलेसँग हरगुहार मागेर छोरीको हुनेवाला जीवनसाथीलाई ठीक पार्न लगाइन्। किनभने, छोरीले मन पराएर बिहे गर्न लागेको केटा तथाकथित तल्लो जातका थिए– नवराज बिश्वकर्मा । लामो समयदेखि प्रेमबन्धनमा बाँधिएको यो सुन्दर जोडी वैवाहिक बन्धनमा बाँधिने निर्णयमा पुगेका थिए । तर, केटीको अभिभावकको अनुमति नपाउने भएपछि भागेर वैवाहिक जीवन सुरु गर्ने निर्णयमा पुगेका थिए । जसअनुसार आफ्ना केही साथीहरूलाई लिएर आफ्नी मायालुलाई भागाउन भनी केटीको घरमा पुगे । यसभन्दा पहिला पनि केटीको आमाले नवराज बिकलाई धम्की दिइसकेकी थिइन् । तैपनि, फेरि दलबलका साथ आएको रिसमा गाउँ छरछिमेक गुहारिन् । गाउँलेहरू आएर लखेटी-लखेटी, कुटी-कुटी वीभत्स हत्या गरेर नदीमा लास फालिदिए ।

उनको मात्र होइन, उनीसँग आफ्नो साथीको दाम्पत्यजीवन सुरु गराउन जन्तीका रुपमा गएका अन्य पाँचजनालाई पनि वीभत्स हत्या गरी नदीमा फ्याँकियो । आफ्नो साथीको खुशीयालीमा सहभागी भएका टिकाराम सुनार, गणेश बूढा, लोकेन्द्र सुनार, सन्दिप बिकको पनि त्यसरी नै वीभत्स हत्या गरी नदीमा फ्याँकियो । अनि, बेपत्ता छन् गोविन्द शाही । आफूले चाहेको प्रेमिकासँग विवाह गरी वैवाहिक जीवनमा रमाउँदै तैरिन खोजेका जोडीलाई छुट्ट्याएर केटालाई नदीको पानीमाथि लास बनी तैरिन विवश बनाए । छोरीलाई आँसुको भेलमा डुब्न वाध्य पारे । विश्व समुदायले यो समाचार सुनेपछि भगवान बुद्ध जन्मेका देशका मान्छेलाई कसरी बुझ्ने ?

रुकुममा घटेको यो अन्तरजातीय विवाहको इतिहासमा कालो दिनका रुपमा उल्लेख हुनेछ । यो अहिले जातीय विभेदको पराकाष्ठाका रुपमा प्रस्तुत भएकाे प्रतिनिधि घटना भए पनि पहिलो भने होइन । तर, एक्काइसौँ शताब्दीको समाजमा अन्तिम चाहिँ होस भन्ने कामना गरौँ । नयाँ मुलुकी  ऐन, २०१९ ले कानुनी छुट दिइसकेको भए तापनि व्यवहारमा भने यस्ता विभेदका सयौं दु:खद घटनाहरू घटिसकेका छन् । अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुसार त्यतिबेलाका विद्वानहरूले बनाएको कानुन हो यो । यो समाजमा जातीय भेदभावको कु-संस्कार मेटाउनुपर्छ भन्ने बुद्धिजीवीको कमी छैन भन्ने कुराको दह्रो प्रमाण हो यो । अशिक्षित र पुरानो स‌ंस्कारमा हुर्केका मान्छेहरुमा कुसंस्कारको हाबी छ । सदियौंदेखि मान्दै आएको यो  स‌ंस्कार चट्टक्क छोड्न जातीय अहमताले दिएको छैन । अधिकांश नयाँ पिँढिले यो कुरा राम्रो सँग बुझेका छन् । किनभने, यिनीहरू शिक्षित छन् । संसारलाई राम्रोसँग नियालिरहेका छन् । जीवन र जगतका बारेमा बुझ्ने कोसिसमा छन् ।

जसले आफ्नो जीवनको महत्व बुझेको हुन्छ । उसले अरुको जीवनलाई पनि महत्व दिन्छ । त्यसैले त यही समाजमा पनि अन्तरजातीय विवाह गरी आफ्नो जीवन सुन्दर बनाएर लग्नेहरुको कमी छैन । काठमाण्डुमा राणाको छोरी र विश्वकर्माको छोराको मागी बिहे भएको समाचार अझै  ताजै छ । “समाज गया भाँड्मे” आफ्नो जीवन खुसी र सुखी बनाउनेबारे कदम चाल्नु पहिलो कर्तव्य हो भन्ने कुरामा उहाँहरू ढुक्क हुनुहुन्छ । सफल दाम्पत्य जीवनको शुभकामना छ त्यो सुन्दर जोडीलाई । अभिभावक बाधक बन्दाबन्दै पनि कानुनी सहायता लिएर आफ्नो इच्छाअनुसार दाम्पत्य जीवन सुरु गरेका अरू उदाहरणहरू प्रसस्तै बाहिर आइसकेका छन् आजकाल । समाजले काट्ने कुराभन्दा आफ्नो अन्तरात्माको चाहना महत्वपूर्ण हो भन्ने बुझ्न सक्ने यस्ता समस्त जोडीहरुलाई म एकमुष्ट सलाम गर्न चाहन्छु ।

जो शिक्षित छन्  र सक्षम पनि छन्, उनीहरु यस्ताे कुसंस्कारको जालो च्यात्न पनि सफल छन् । बाँकी, अशिक्षित र अविकसित मानवरुपी जनावरहरुले  यसरी नै यो रुकुमकाण्ड जस्तै प्रकृतिका कैयौं घटना घटाउँदै आएका छन् । यस्ता घटनामा सर्वसाधारण मानिसहरू छिमेकी हुनुका कारण सहभागी हुँदै गए । पुलिस प्रशासनले बेवास्ता गर्दै गए । तर, पछिल्ला दिनहरुमा खबर्दारी भने बढेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सक‍्रियता बढेको छ । पीडित पक्षले बेसहाराको अनुभूति गर्नुपरेको छैन,  दलित भनिनेहरूका पक्षमा आवाज तीब्र रुपमा उठ्न थालेको छ । सामाजिक सञ्जालहरूले यो अन्तरजातीय चेतनामा अत्यन्त बलियो भूमिका निर्वाह गरिरहेका छन् । यसका कारण हरेक विभेदका घटना समाजमा हुनासाथ तत्काल आवाज बुलन्द हुन थालेको छ । प्रहरी प्रशासनलाई खबरदारी भएको छ। समाजमा जनचेनतनाको विकास हुँदै गएको छ । तर रुकुम घटना भने अप्रत्यासित र अकल्‍पनीय रुपमा हुन पुग्यो । यसमा सामाजिक सञ्जालको खबरदारी ढिलो सुरु भयो । जुन ज्यादै दुःखद हो , यसैका कारण बेहुली लिन गएका नवराजको त ज्यान गयो नै अरु पाँचजना निहत्था युवाहरूले समेत बेकसूर ज्यान गुमाउन पुगे ।

जब राज्यमा कानुन फितलो हुन्छ तब अपराधीहरुको बिगबिगी हुन्छ । तथाकथित दलितप्रतिमात्र सरकार मुकदर्शक बनेको होइन । गैरदलितप्रति पनि मुकदर्शक बनेको ज्वलन्त उदाहरणको रुपमा निर्मला हत्या काण्डलाई लिन सकिन्छ ।

आफ्नो गर्भमा नौमहिनासम्म राखेर जन्माएकी छोरी, १८ वर्षसम्म पालनपोषण गरी हुर्काएकी आफ्नो मुटुको टुक्रा । आफ्नो खुसीअनुसार आफ्नो स्तरअनुसारको घरजम गराइदिने चाहना राख्नु स्वाभाविक हो । आफ्नी छोरीलाई आफुले नचाहेको केटालाई दिन्न भन्ने अधिकार उनीसँग  छ । चाहे त्यो जुनसुकै जात र वर्गको होस् । त्यसमा दुईमत छैन । तर रुकुमेली आमाले तरिका गलत अपनाएकी हुन् कि ? आफुभन्दा तल्लो जातको केटासँग छोरी वैवाहिक सम्बन्ध जोड्न लाग्दा मन रोयो होला । ती आमा वा परिवार पूरैले त्यो सम्बन्ध स्वीकार नगरिदिएका कारण त्यो जोडीले सँगै आत्महत्या गरेको भए त अझ बढी पीडा हुन्थ्यो होला नि ? अहिले त उनीजस्तै पाँचजना आमाको काख रित्याइदिइन् उनले । त्यतिमात्र होइन  आठ महिनाको बालकको बाबू पनि यस घटनामा केटी पक्षको आक्रमणको शिकार भएका छन् । क्षणिक आवेशले धेरै कुरा विनाश गर्छ भन्ने कुरा आवेशमा आउनुअघि सबैले सोच्नुपर्ने हुन्छ । अचेतमा जेसुकै विनास पनि हुन सक्छ र सचेत हुँदा धेरै सम्भावित विनासलाई रोक्न सकिन्छ ।

यसै पनि कुशल आमाले त आफ्ना सन्तानलाई असल संस्कार सिकाउने हो । यसले सन्तानमाआफैँ असल र खराब छुट्याउन सक्ने क्षमताको  विकास गराउँछ । रुकमकी ती आमा त्यस कार्यमा त चुकिन् नै ।  आफ्नी छोरीलाई अन्तरजातीय विवाहबाट जोगाउन आफ्ना छरछिमेकी या गाउँलेलाई गुहारेर छजना होनहार युवाहरूको ज्यान लिएर ठूलो पाप गरिन् । मर्नेको शरीर लास बन्यो र खरानी बनेर बिलायो तर उनको  करणले हत्यारा बनेका उनका आफ्न्त र छिमेकीहरू आजीवन पछुताउने छन् । उनलाई सम्झिँदै धारेहात लगाउँदै गर्ने छन् ।

नेपालको कानुन दैवले जानून् भन्ने उखान धेरै घटनाहरुमा चरितार्थ भइरहेका छन् । तैपनि,अपराधका लागि दोषीलाई कडाभन्दा कडा कारबाही होस् भनी माग गर्दछु। रुकुममा एउटा मायालु मुटुको अवसान भएको छ । छोरीको संरक्षणका नाममा यत्रो नरस‌ंहार गराउने नैतिक जिम्मेवारी लिएकी ए रुकुमकी आमा, यो घटनाले तपाई मरेर गएपछि पनि तपाईंकी छोरीको जीवनभरि रिक्तता ल्याउने छ । यो पाप पखाल्न जीवनभर जेसुकै कर्म गरे पनि तपाईँ पार हुन सक्नुहुने छैन । यतिखेर शोकाकुल परिवारजनसित सहानुभूति साट्दै मृतक सबै युवहाँरुको आत्मालाई चिरशान्ति मिलोस् भनी कामना गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }