बिहिबार, बैशाख २७, २०८१

साथी (घाउ आँफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शनिबार, साउन ७, २०७९
  • 377
    SHARES

साथी

मेरो साथी राम थापा मैले नखाए पनि रिसाउँथ्यो, नखाने कुरा खाए कि भनेर पनि रिसाउँथ्यो । नखाएको थाहा पायो भने ठूलै शब्दमा मारी झपाथ्र्यो । शरीरको वास्ता नगरेकोमा पनि रिसाउँथ्यो । मलाई कसैले आँखा जुधाएर हेरे पनि जाइलागिहाल्थ्यो । लाग्थ्यो ऊ सहयोगका लागि मात्रै जन्मेको थियो । यति बढी माया र सहयोग गर्ने अधिकारचाहिँ उसले कहाँबाट पायो कुन्नि !

पहिलो जनआन्दोलन लगत्तैपछि पहिलाकै धङ्धङीमा काठमाडौंबाट सिन्धुपाल्चोक गएर कुनै नमिल्ने काम अ¥हाउने क्रममा एक व्यापारी महाशयले मलाई के गाली गरेथे साथी राम थापा महाशयप्रति आक्रामक शैलीमा जाइलागिहाल्यो । त्यसो नगर्न मैले छेकें, अनुरोध गरें, मलाई नै लछार्दै बम्कियो– ‘मेरो अगिल्तिर मेरो साथीलाई अपशब्द प्रयोग गर्ने ? म सहन सक्दिनँ ।’ प्रहरी निरीक्षक रमेश र वकिल प्रकाश पनि थापासँगै बम्किन थाले । पछि सिडिओ नै आएर महाशयलाई मसँग माफी माग्न लगाएपछि मामिला सामसुम भयो ।

मलाई कसैले आँखा जुधाएर हेर्नु पनि रामका लागि सह्य थिएन । मलाई मन पर्ने कुरा उसलाई पनि मन पथ्र्यो । मेरो स्वादमा उसको रुचि थियो । अलि कडा मिजासको तर साथी भनेपछि औधी गर्ने । ऊ आउँदा पनि डर लाग्थ्यो, नआए पनि मेरो आँखा अव्यक्त भावमा उसलाई खोज्न उसको कार्यालयदेखि निवाससम्म तेर्सिन्थे । लाग्थ्यो मृत्यु नै मलाई लिन आए पनि लघारेर ईर्खू भन्ज्याङतिर पु¥याएर खँगाथ्र्यो ।

अहिले राम थापा छैन । ईश्वरले पनि राम्रा मानिसलाई धेरै रहन दिँदो रहेनछ । जीवनभर सङ्घर्ष र दुखमा बितायो, साथी र परिवारको लागि बितायो । उसले लन्डनबाट ल्याइदिएको हाफ सर्ट छ, धेरै लगाउँदा पनि फाट्ला भन्ने चिन्ताले भित्तामा झुन्ड्याएर राखेको छु । त्यो हलुका धर्के हाफ सर्टमा राम थापाको भावना नाचेको छ, उसको उदात्त र गम्भीर अनुहारको बिम्ब छ । धन्य सर्ट तँ छस् र मित्र राम थापा मेरो कोठामा मलाई नियालिरहेको छ ।

पद्मोदय हाइस्कुलमा बटुमात्र साथी थिएन । सबै साथी आआनै स्वभाव र भावभंगीमा मिठा थिए । पढ्दा, प्रतिस्पर्धा गर्दा, खेल्दा, आपस्तमा झगडा गर्दा पनि निश्छल सौन्दर्य छचल्किन्थ्यो तर बटुलाई मैले कहिले दुखी देखिनँ, सधैं हाँसिरहन्छ । दुख त उसलाई पनि पर्दो हो– सधैं प्रसन्न मुद्रामा, अनुहारका भाव पनि अज्ञान निःस्वार्थमा । सधैं प्रसन्न छ, नहाँसी बोल्दैन । बोली निःस्वार्थ र हाँसोमा उन्मुक्तता छ । अरूलाई मन दुखाउने काम ऊबाट कहिल्यै भएन ।

उसको हाँसोले सधैं अरूलाई खुसी देख्ने जिजीविषा पोखेको छ । रिस त उसलाई पनि गर्दा हुन्, सधैं हाँसेको भनेर पनि रिस गर्दा हुन् तर अरूको रिस र ईष्र्यामा बटु निरपेक्ष छ । कहिले त भाउजू पनि दिक्क मान्नुहोला आफैंमा सिरियस नभएकोमा । न रिस छ न अरूको मतलब, फगत खुसी, सहयोग र कार्यालयको काम । बटुजस्तै साथीले नै संसार खुसी राखेका छन् । साथीको अर्थ धानेका छन् ।

अन्तर्राष्ट्रिय कर डिप्लोमाका लागि ९० दिनको बसाइका लागि टोकियोको हाचिओजी पुगें । भिडभाड र वैयक्तिक कर्ममा रमाउने जापानी समाजमा म कसरी रमाउने ? दैनिकी व्यवस्थापन कसरी गर्ने भन्ने कौतुहल र उकुसमुकुस थियो । १९ मुलुकका साथी, न चिनजान, न भाषासंस्कृतिको सामीप्य तर एउटा अजङ्गको, मोटोघाटो र हृष्टपुष्ट साथी बायरा दासछेरेङले के गरेन ! बिचराले अङ्ग्रेजी बोल्न नजानेर के भो, उसको अनुहार, आँखा र शरीर सबैले सहयोगको भाषामात्र बोलिरहन्थ्यो ।

यो अर्को राम थापा मङ्गोलियाको उलानबटोरबाट मेरै सहयोगका लागि ईश्वरले पठाइदिएका तर एउटा कुरामा बाध्य पाथ्र्यो, उसले मन पराएको सुमो खेल मैले हेर्नैपर्ने, आशा शिरो (सुमो टपर) स्क्रिनमा देखेपछि भने खुसीले पागल हुन्थ्यो । आशा सिरोको प्रशंसा गर्नैपर्ने । न सुमो बुझें, न आशा सिरोलाई चिनें । टोकियो बसुन्जेल मलाई कुनै दुखमा पर्न दिएन । त्यो भीमकाय अजङ्गको मानिस म छुट्टिने बेलामा कति नमिठो गरी रोयो ! म पनि भक्कानिएँ । रुवाइ पनि कति निःस्वार्थ ! एकअर्कामा कति निःस्वार्थ मित्रता । उसका आँखाबाट खसेका सँग्ला आँसुले निःस्वार्थ मित्रतालाई पोखिरहेको थियो । ऊ उलानबटोरतिर, म काठमाडौंमा, नमरिकन एकअर्काको मनभित्रको बिम्ब मेटिने छैन ।

साथी बनाइँदैन– स्वतः बन्छ । साथी हुनेहरू त्यत्तिकै आपस्तमा बाँधिन्छन्, त्यो स्वार्थको सीमाभन्दा कता हो कता माथि हुन्छ । साथीमा तहसोपान, बारबन्देज, स्तर र ओहदा हँदैन– केवल मित्रतापूर्ण मन हुन्छ अनि संवेग साट्ने हार्दिकता । मस्तिष्कले साथी र मित्रता खोज्दैन, अर्थ अनि परिभाषा पनि भेटाउँदैन । हार्दिकताले मित्रताको जरुवा फुटाउँछ । त्यसैले साथी पाउनु, साथी बन्नु अनुपम आनन्द पाउनु हो, अलौकिक शक्ति भेट्टाउनु हो ।

दुखका सुदामा सुखका कृष्णलाई भेटेर कति खुसी भएथे ! मित्रता फक्रन संरचना, सोपान र स्तरले कत्ति पनि छेकेन । मृत्युशय्यामा छटपटाएका महाकवि लक्ष्मीप्रसाद देवकोटा साथी हरि श्रेष्ठलाई सम्झिन पुगे । सायद साथीको सम्झना र आँखाअगिको आकृतिले पनि मृत्युले लुट्नै लागेका देवकोटा केही क्षण भए पनि मृत्यु जित्ने साहसमा पुगेथे । साथी स्वर्गीय हुन्छ, प्रत्येक साथी अलौकिक हुन्छ । साथीले केचाहिँ गर्दैन ?

टालाटुली, धुलीमाटी, डण्डिबियो सँगै हुर्किएको साथी जीवनको अन्तिम क्षणसम्म ताजै रहन्छ । वाल्यावस्था निश्छल र प्राकृतिक भएकाले मित्रताको वास्तविक अर्थ यसैले दिन्छ । पेसा वृत्ति, सहरबजार, व्यस्तता र स्वार्थले मित्रतालाई साँघु¥याउँदैन । भौतिकवादी उपयोगिता स्वार्थले पछ्यायो भने मित्रता सखाप हुन्छ । मित्रता विच्छेद हुन्छ ।

क्यालगेरी बसोबास गर्ने अरूणले म सचिव भएपछिको मेरो काममा खुसीले गद्गदिँदै स्टाटस लेखेछ– ‘दुखले जिम्मेवारीमा पुगिस्, अव खुब गर् है गोपी, धेरै गर् ।’ सानोमा कविताको विषयमा सानो विवादमा रिसाएर तीन महिना बोलचाल नै बन्द भएका हामी बालसखा सपनामा एकअर्कासँग माफ मागेपछि बालहठ त्यागेर एकसाथ एकैचोटि बोल्न पुगेथ्यौं । कसले पहिला माफी माग्यौं– थाहै भएन । यो नियोजित थिएन, अवचेतन मनले डो¥याएर नियतिमा पु¥यायो । म मेरै वृत्तिमा, ऊ उसकै वृत्तिमा तर सपाट मन एकअर्कालाई कसरी खोजिरहेको छ ?

हामी कर्मचारी, विशेषतः सचिव÷सहसचिव साथीहरू सिंहदरबारमा एकसाथ रहेर निःस्वार्थ चिया खान पनि सक्दैनौ । ओहदा र स्वार्थसँगै मित्रता विचेत र विक्षिप्त छ । तैपनि साथी भनिरहेका छौं र औपचारिकतामा फिस्स हाँसिदिन्छौं । ओहदाबाट सडकमा खँगारिएपछि सायद हामीमध्ये धेरै झल्याँस्स हौंला । त्यतिवेला बत्ती बालेर खोजे पनि मित्रता भेटिने छैन ।

नाम र मित्रतासँग कुनै सम्बन्ध हुँदैन । बटु प्यारो नाम । राम भगवान्को नाम र मेरो कान्छो भाइको नाम । यी दुवै नाम मित्रताका कारण झनै प्यारा भए । चार–पाँचजना साथी हरि नामका छन्, वास्तवमा हरिजस्तै हार्दिक छन् । यो आकस्मिकतामात्र हो । नाम र स्वभाव मिल्ने भए छानीछानी त्यस्तै नाम राखिन्थे होलान् ।

साथीको साथ कठिन परिस्थितिमा झनै देखिन्छ । कठिन परिस्थितिमा नै साथीको पहिचान हुन्छ । वाल्टर विन्चेलले भनेथें– वास्तविक साथी संसारले छाडिसक्दा पनि साथै रहन्छ । युधिष्ठिरको सच्चा साथी कुकुर थियो । सबै मरिसक्दा पनि उसले पछ्याइरहेथ्यो । भनिन्छ ऊ युधिष्ठिरसँगै स्वर्ग पुग्यो रे । असल साथी ताराजस्तै हुन्छ, जो सधैं देखिँदैन, जब कठिन परिस्थिति आउँछ, सहयोगको कर्ममा देखिन्छ, ताराहरू अँध्यारोमा टल्किएजस्तै, अनुरोध पनि चाहिँदैन, आग्रह पनि भेटिँदैन ।

मित्रता उदार अनि आत्मिक हुन्छ । सानो स्वार्थ र फाइदाका लागि हँुदैन । साथका लागि हुन्छ । फाइदा बजारी वस्तु हो– मित्रता आत्मिक तत्व हो । साथीको नाममा स्वार्थ र तुष्टिको खेती अपराध हो । भौतिक उपयोगिताको समाजमा स्वार्थ र सट्टेबाजीमा साथी खोज्ने गरिन्छ र मित्रता नपाएपछि पात्रहरू चिथोराचिथोर गर्न पुग्छन् । धनी व्यक्ति, शक्तिको व्यक्ति, रवाफिलो व्यक्ति र पदको व्यक्तिलाई सङ्गत गरेर साथी भन्नेहरू साथीको महत्तालाई नै बदनाम गर्न पुग्छन् । काम लाग्ने व्यक्तिको छनौट पछिको सङ्गतले मित्रताको अपमान गर्छ । एकजना मित्रले दशौं वर्ष मन खोलेर कुरै गरेनन्, जब धेरै आपत् प¥यो, सहयोगको आग्रह गरे । काम गरिदिएँ, सहयोगका लागि धन्यवाद पनि दिए तर मित्रताले त्यसलाई कर्तव्यमात्र सम्झियो ।

मित्रता एकअर्कामा रमाउँछ, एकअर्काबाट आशा गर्दैन, एकअर्कालाई दिन चाहन्छ । पर्दा ज्यानै दिन्छ तर बदलामा केही लिँदैन, फगत आत्मसन्तुष्टिका लागि साथीहरू आत्मैबाट तानिएका हुन्छन् । धेरै व्यक्ति साथीको नाममा उपयोगिता खोज्छन्, कतिपय नाममा आनन्द खोज्छन्, त्यो मित्रता कदापि होइन । थोरैमात्र आपसी सम्बन्धमा रमाउँछन्, एकअर्कालाई साथ र सम्मान गर्छन्् अनि आत्मिक सम्बन्धमा उन्मुक्त हुन्छन् । भौतिक उपयोगिताले अल्मल्याएको समाजमा आत्मिक सम्बन्धको साथी कहाँ पाउने ? तर भौतिक उपयोगवादलाई सही ठाउँमा ल्याउन पनि थोरै भए पनि आत्मिक साथी भने चाहिन्छ ।

साथी बनाउने एउटा हुटहुटी पनि हँुदो रहेछ । हामी सानो छँदा पेनपल (पत्रसाथी) बनाउने होडमा हुन्थ्यौं । नचिनिकनै एकअर्कामा भावनाभूति शेयर गर्ने हुट्हुटीले कतिले साथी बनाए, कति त आफैं गुमे । अहिले सामाजिक सञ्जाल र सर्च इन्जिनले त्यो हुटहुटीलाई सघाएको छ, अर्कै स्वरूप र गतिमा तर वास्तविक साथी इन्जिन र संरचनाले खोज्दैन– भावना अनि मनले मात्र खोज्छ । साथी बन्न, साथी बनाउन र साथीका विषयमा बताउन पनि गारो छ । यो त आफैं हुने कुरा हो । साथी बुझेपछि संसार बुझिन्छ, जीवन र जगत् बुझिन्छ । साथी त बृहत् पाठशाला हो । हजार पुस्तकको ज्ञान दिन एक साथी काफी छ ।

मित्रता उमेर, वर्ण, लिङ्ग, स्तर, सम्पत्ति, शारीरिक अवस्था र भूगोलभन्दा बेगल कुरा हो । मेरा खुबै मिल्ने साथी युगकवि सिद्धिचरण श्रेष्ठ थिए, उमेरमा हामी नाति हजुरबुबाका पुस्तामा थियौं । हाम्रो सौहाद्र्रतामा साहित्य हाँस्थ्यो । कुनै बखतका खुबै मिल्ने साथी साहित्यकार मञ्जुल पनि थिए, दाजुभाइजस्ता हामी कति रमाउँथ्यौ । मञ्जुल दाइ मेरो गाला मुसारेर म्वाइँ खान्थे । उनको छेकुडोल्मा दाहो¥याएर पढें । अहिले त्यति आउजाउ छैन । पारिजात दिदी दुखका सिर्जना सुनाउँथिन्, प्रगति र क्रान्तिका ऊर्जाले तताउँथिन्, हामी आमा छोराजस्ता थियौं । दिदीको निवास नयाँ बजारको चित्र अहिले पनि ताजै छ ।

त्यसैले साथीमा कुनै आग्रह हुनुहुन्न । साथी वृद्ध हुनुपर्छ, वयस्क हुनुपर्छ, साथी बालक हुनुपर्छ, साथै समवयी पनि हुनुपर्छ, मित्रताले लैङ्गिक परिवेश नाघ्नुपर्छ । साथको विविधताले साथीको पूर्णत्व दिन्छ । वरिष्ठ साथीले परिपक्वता दिन्छन्, बालकले निश्छलता, सादगी र समवयीले ऊर्जा । विपरीत लिङ्गको मित्रताले एकअर्को महत्ता र स्वत्व बुझाउँछ, मन र मर्यादाका सीमा भने नाघिनु हुँदैन ।

मेरो अनुभूतिमा साथीले पूर्णत्व यसरी नै दियो । एउटा असल साथी हजार सम्बन्धीभन्दा ओजिलो हुन्छ । स्वरूप, बान्की र सम्बन्धले मित्रता बनाउँदैन । सम्बन्धी साथी हुँदैन भन्ने होइन– सम्बन्धीहरू मित्रतामा कम हुन्छन् भन्नेचाहिँ सत्य हो । फराकिलो मित्रता घरपरिवार र नाताभन्दा अलि पर देखिँदै आएको छ । कुन्नि किन यस्तो हुन्छ ?

मेरै ब्याचका एकजना मित्रलाई उनका सुपरिवेक्षक सिडिओले दुख दिंदा मानवीय सहयोग गरेको थिएँ, कर्तव्यको सहयोग गरेको थिएँ, आत्मिक आदेशमा सघाएको थिएँ । उनले गगल्चिँदै मलाई अँगाल्दै भनेथे– ‘जन्ममात्र मेरा पिताले दिए, कर्मको पिता तिमी भयौ । म यो ऋण यस जीवनमा कसरी तिरौं ?’ मेरो कर्तव्य प्रतिफलको लगानी थिएन ।

अर्का मित्रले एक प्रसंगमा भने ‘यति सहयोग त दाजुभाइले पनि गर्दैनन्, धन्य साथी ।’ हो सच्चा साथीले आमाबुबा, दाजुभाइ, दिदीबहिनी, पतिपत्नीले गर्ने भूमिका एक्लैले निर्वाह गर्दछ । त्यसैले साथी महान् हुन्छ, असल साथी पाउने साथी झनै भाग्यमानी र महान् हो । साथीको साथले असम्भव पनि सम्भव तुल्याइदिएको कैयन् दृष्टान्त छन् ।

हामी आठभाइ र बुहारीहरू वरिपरि बसेर रमाइलो साथ रेस्टुराँमा रहँदा हाम्रा चिनजानका मानिस कुरा गर्दै रहेछन्, ‘परिवार भएर पनि साथीजस्ता पो छन् यिनीहरू । एकको कुरा काट्दा सबै जाइलाग्छन्’ । हो– हामी परिवारमा पनि मित्रता राख्छौं र रमाउँछौं । परत्रले कसरी हेर्छ कुन्नि ?

साथी नभएका मानिस नीरस र खोक्रा हुन्छन् । कोही नीरस, क्रूर र अमानवीय छ भने यसको अर्थ स्वाभाविक छ कि उससँग असल साथी छैन । प्रयोजन र प्रायोजनमा जीवन भोग्दै आएका व्यक्ति त्यसैले जलिरहेका हुन्छन्, मनभरि खुम्चिएका र मरिचजसरी चाउरिएका हुन्छन् । फूलझैँ फक्रिन साथीको साथ र निःस्वार्थ मन चाहिन्छ । त्यसैले साथी प्रकृतिको अर्को नाम ।

पतिपत्नी एकअर्काका जीवनसाथी हुन् । सामाजिक संस्कार र सम्बन्धको सीमाले एकअर्कालाई जीवनसाथी बनाएको छ । मित्रता सही छ, भनिएजस्तै जीवनसाथी हो– जीवन खुसी पनि छ । एकत्वको अनुभूति पनि छ, दुखमा समानुभूति, पहिचानमा एकत्व, पारस्परिक समभाव छ, त्यो जीवनको साथी हो । अन्यथा पतिपत्नी आदर्श अनुष्ठान नभई औपचारिक सामाजिक सम्झौता हो । नेपाली समाजमा मान पतिका भागमा र माया पत्नीको भागमा, पहिचान पतिको भागमा र पसिना पत्नीको भागमा पर्दै आएको छ । यही कारणले पतिपत्नी जीवनसाथी नबनेका कैयन् उदाहरण छन् । सांस्कृतिक लाभको मनोविज्ञान पुरुषतिर ढल्किएकाले पत्नीको समर्पणमा जीवन मित्रता जबर्दस्त छ । यसलाई जीवनसाथी भन्न कति सकिएला ?

किशोरावस्था पार गर्दै गएपछि छोराछोरी पनि साथीको श्रेणीमा उक्लिन्छन् । आमाबुबा जसरी छोराछोरीमा निःस्वार्थ सहयोग गर्छन््, छोराछोरी पनि व्यक्त÷अव्यक्त तहदेखि नै आमाबुबालाई सहयोग गर्छन्् । मित्रताका आयाममा सक्रिय रहन्छन् तर सबै छोराछोरी साथी बन्न सक्दैनन्, बन्दैनन् र आमाबुबा निराश बन्दै छट्पटिन्छन् । असल सन्तान असल साथी हो– असल सन्तान जन्माउने आमाबुबा परिवारलाई स्वर्ग बनाउँछन् । असल सन्तान वास्तवमा देवदूत हुन् । त्यसपछि परिवार अलौकिक अनुष्ठान बन्छ ।

मानिसमात्र होइन– अरू प्रजाति र वनस्पति पनि साथी हुन् । सजाति (मानिस) लाई मात्र साथी सम्झने मानवकेन्द्रित दृष्टिकोण पनि पक्षपाती छ । घरपालुवा जनावरले निःस्वार्थ माया दिएर मानिसलाई कति ठूला दुर्घटनाबाट जोगाएका छन् । कहिले नदेखेका जनावर र प्राणीले मानिसको उद्धार गरेको छ । हामीले दसैंका लागि पालेको घोर्ले खसी र ठूलो बोको दसैंनजिक मृत्यु पनि नजिकिएको आभासमा मुमुमु गर्दै हामीसँग खेलेको बिम्बले मलाई अहिले पनि सताइरहन्छ ।

मेरो निवासको सानो रुद्राक्षको बिरुवाले प्रत्येक बिहानी मसँग माया साट्दै खुसीले मौलाउँदै मलाई उछिनिसक्यो, लगातार क्षितिजतिर कुदिरहेको छ । सायद केही वर्षपछि शीतल छहारी देला । रोशीमा तित्री र आँपका रूखले फल र छहारीले, सौन्दर्य र हरियालीले माया दिएथ्यो । गोठालो जाँदा घोसे, पिपले र थामपरीमा केत्तुकीको पानीले सघायो, गाउँबेसी गर्दा मुडुली भन्ज्याङको चौतारोले मन्द सिरेटो दिएर सघायो ।

रोशीखोला, कानपुर र धारे, घाँसे पाखो पनि अपनत्वको माया दिएर साथी बन्यो । फरक यत्ति कि सजातीय साथी चलायमान छ, अरू प्राणी वनस्पति र चराचरले मित्रता त दिन्छन् तर त्यो स्थिर छ । सजातीयहरू सहयोग र स्वार्थ दुवैमा अस्थिर छन् । कति निःस्वार्थ छन् बटवृक्ष, कति स्वार्थपरस्त छ मानव समाज । सबै साथी राम थापा र बटुजस्ता प्राकृतिक भए पो !

स्वार्थपरस्तताबाट प्रकृतितिर जाने भावना नै मित्रता हो । सहयोग र समर्पणमा सक्रिय रहने भावनाले नै समाजले साथी पाउँछ, साथीले संसार बनाउँछ, मानवता बचाउँछ र भविष्यको सभ्यता निर्माण गर्छ । मेरो कामना छ– कृत्रिम बौद्धिकता र अरू आविष्कारले साथीलाई विस्थापन नगरोस् । दिल भएका प्रणाली नै साथी बनून् ।

-गोपी मैनली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }