सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बाइसौं शताब्दीको मान्छे (घाउ आँफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शनिबार, भदौ १८, २०७९
  • 363
    SHARES

बाइसौं शताब्दीको मान्छे

उजाड र फुस्रा सडकमा तीव्र गतिमा स्वचालित सवारी साधन कुदिरहेका छन् । सवारीसाधनभित्रका मानिस कहींकतै नहेरी व्यस्त देखिएका छन् । सौर्य प्रकाशलाई क्याप्चर गरेर कुदाइसँगै इन्धन उत्पादन गर्नु सवारी साधनको अर्को काम हो– जसका लागि उसको छतमा पाता र पाइप जडिएका छन् । खनिज इन्धन रित्तिँदैछ, जीवाश्म इन्धन महङ्गो छ ।

मानिसको सङ्ख्या धेरै छ । बढ्दो जनसङ्ख्याको भारवहन क्षमता आमा पृथ्वीले गुमाइसकिन् । आमा बलात्कृत छिन् तर चुपचाप सहिरहेकी छिन् । स्वच्छ आवरणमा होइन– खैरो, फुस्रो र मैलो वातावरणमा थोरै मानवेतर जीव अनि वनस्पति बाँकी छन् । अगिल्लो शताब्दीसम्मका बडेमानका नदी रगत सुकेको रेखाजस्ता राता बगरमा परिणत हुँदैछन्, खहरे–खोल्साहरु जीर्ण खोपिल्टा काप्चा बने । पहाड अनि पाखाको स्वच्छता पखालिएको छ । फाँटहरु उजाड देखिन्छन् । माटोको उर्वरता गुमेको मात्र छैन– माटो उडेर वायुमण्डल नै फुस्राम्मे छ । केही क्याक्टस प्रजाति अस्तिवको सङ्घर्षमा छन् ।

धेरै मानिसलाई खुवाउन उब्जिलो जमिन अभाव र अन्नको अभाव भएर के भो ? प्रकृतिलाई पराजित गर्ने ईश्वरीय शक्ति पाएको मान्छेले अन्तरिक्ष खेती सुरु गरेको छ । कृत्रिम खेती, पाइप खेती, कोठा खेती त अगिल्लो शताब्दीबाटै गरेथ्यो, उसको तृष्णा जागेरै रह्यो । स्पेस फार्मिङमा आफूलाई चाहिएको स्वाद र सन्तुष्टिमा फसल उब्जाउ सजिलो भएको छ । फलफूलका बोट पनि फोटोसेन्थेसिस गर्न, जैविक र वानस्पतिक काम गर्न सक्ने, पुड्का पोथ्रा छन् तर फलहरु लटरम्म छन् । एकै बोटका हाँगामा छुट्टाछुट्टै फल फलेका छन् ।

अन्न उब्जाउने बोट पनि धान, मकै, गहुँ, फापर, कोदो र चिनोको एकल अस्तिवमा नभई सम्मिलित पहिचानमा छन्, सबैको स्वरुप मिसिएका दाना त्यति स्वादिला छैनन् । ती हाइब्रिड दाना एकसाथ भिटामिन, प्रोटिन, कार्बोहाइड्रेड, खनिजलगायत सबै पोषण तव दिन सक्षम छन् । खाना कति खाने, कति क्यालोरी खाने उमेर, शारीरिक अवस्था र कामबाट निर्धारित छ । सबैजना पर्याप्त होइन– आवश्यक खाना खान्छन् । मोटाउनु छैन, दुब्लाउनु पनि छैन, शरीरलाई भार दिनु पनि छैन, बिसन्चो बेसाउनु पनि छैन । सबै मानिस उमेरअनुसार एकै कद र तौलका छन्, मेसिनले काटेको झन्डै इँट्टाजस्ता ।

सबैतिर अक्सिजनको अभाव छ । पृथ्वी रातो भइसक्यो । पारिस्थितिक प्रणालीले स्वाभाविक सन्तुलन गुमाएको छ । मानिसहरु ब्याकप्याकमा ससाना सिलिण्डर बोकेर दौडिएका छन् । कुन्नि के पर्छ– आकस्मिक कार्यका लागि बहुउपयोगी ग्याड्जेट छ । त्यो नै साथी, सहयोगी, हतियार, सञ्चारवाहक, अभिलेखक, नियन्त्रक सबै हो । पति–पत्नी र सन्तानसँगको संवाद अनि स्पर्श यही ग्याड्गेटबाट धानिएको छ ।

जलाधार लगभग रित्तिइसक्यो । ताजा पानी त करिब छैन नै । रासायनिक प्रक्रियाबाट पानीजस्तै रसपदार्थ तयार गरिन्छ । एकाध सम्पन्नहरु ताजा पानी पिउने गर्छन्् । दिनमा कति पानी पिउने, सरसफाइमा कति प्रयोग गर्ने भन्ने सबै निर्धारित छ । कहींकहीं नयाँ पानी (नवीकरणीय) पनि उत्पादन हुन्छ । अहा ती फाउन्ेटनका पानी, नयाँ पानी पिउने मानिस कत्ति भाग्यमानी !

सर्वत्र सुख्खा छ । मनसुन बदलिएको छ । वर्षा कहिलेकाहीँ मात्र तर बौलाएर आउँछ । आरीले घोप्ट्याएजसरी आउने वर्षाले वितण्डा नै मच्चाउँछ तर बोटबिरुवाले केही पाउँदैनन् । कति पानी त अन्तरिक्षका गराले उतै खपत गरेका छन् ।

समुद्र पनि एकतमासका छन् । समुद्रका जीव–वनस्पति सामुद्रिक सन्तुलन बिग्रिएर भकाभक मर्दैछन् । ‘सर्भाइवल अफ फिटेस्ट’ मा थोरैमात्र बाँचेका छन् । बाँचेका जति पनि अनुकूलनका लागि छटपटिएका छन् ।

पतिपत्नीको परिवार धान्ने र पुस्ता बचाउने कर्म पनि बदलिएको छ । सन्तान चाहिएको छ तर आमाहरु जैविक कार्यबाट आमा बन्न इच्छुक छैनन् । आ… त्यो दुख कसले गरोस् । आमाबुबाका वंशाणु सङ्कलन गरेर बच्चा बनेका छन् । बच्चा पनि इनर्जी सिरप चुस्न अभ्यस्त छ । प्रविधिले साथ दिएको छ । बुबाआमा खुसी छन् ।

रहर त हो– एकबिहानै मानिसलाई आना पुर्खाको आवाज सुन्न मन लाग्यो । हाते ग्याड्जेट मिलाएर जिजुआमा, जिजुबुबा हजु्रआमा, हजुरबुबा, बुबाआमाको आवहवा÷अन्तरिक्षमा छरिएका आवाज सुन्न थाल्यो । आवहवामा छरिएका आवाजका तरङ्ग त्यही ‘कम्बिनेसन’ मा मिलाउने काम चानचुने होइन तर असम्भव थिएन ।

कति अचम्म ! उसका पुर्खा पिठ्युँमा ढाकर बोकेर बाढी आएको रोशी खोला तर्दा रहेछन् । थकाइमा तोक्मामा आड लाउँदा रहेछन् । कम्मरमा सुकेका चिण्डा बाँधेर सुनकोसी तर्दारहेछन् । सिमलको डुँड खोपेर डुङ्गा बनाउँदाको खुसी र साहसको कथा कति उल्लासपूर्ण रहेछ । दसैं, माघेसक्रान्तिजस्ता चाडवाडमा बोकाको बलि दिँदा रहेछन् । ईश्वर खुसी पार्न पनि घरपालुवा जनावरको बलि । घरमै बच्चा जन्माउने, सानैमा अरुको बच्ची मागेर आनो बच्चाको पत्नी बनाउने, उसबाट जन्मेका सन्तान आनो थरमा रहने, विवाह सम्बन्धका लागि सजातीय चाहिने, सगोत्री नहुने, मृत्युकर्ममा दानदातव्य दिएर मृतात्मालाई खुसी पार्ने, आदि आदि । तीनचार पुस्ताको जीवनचर्याको सानो इतिवृत्त सुनेर ऊ अचम्मित छ । त्यतिखेरको जीवन ! त्यो आदिम ‘ल्यासब्याक’ पत्याऊ कि नपत्याऊ !

अब ऊ ‘ल्यास युचर’ को मनोडायरी पल्टाउँछ । पच्चीसौं शताब्दीको जीवन । तेस्रो कोटिका असम्भव सबै पूरा भएर त्योभन्दा माथिका असम्भव कुरा भकाभक पूरा हुँदैछन् । मनले कल्पना के गरेथ्यो, परै पार्किङमा रहेको स्वचालित कार उसको अगिल्तिर आएर ठ्याक्क रोकियो, ऊ चढ्नेबितिक्कै गन्तव्यमा पु¥यायो । ट्राफिक अनुशासन पनि स्वचालित कार आफैं जान्दछ । मनोतरङ्गले नै कन्ट्रोल गर्ने प्रणालीका रुपमा फिजिएको छ । टाइम मेसिनबाट रियल टाइममा जतासुकै पुग्ने प्रणाली जडित छ । पहिलो ऊ मेसिन अगि डिकम्पोज हुन्छ र गन्तव्यमा पुगेपछि रिकम्पोज भएर ओर्लिन्छ । फेरि अचम्मित छ तर ज्ञान र प्रविधिको अचाक्लीले न पत्याइरहन सकेन ।

हाते ग्याड्जेटबाट मनोरञ्जन । केके सिस्टम एप्लिकेसनबाट मनको कल्पनाअनुसार खेल बनाइरहेको छ । चाहनाअनुरुपको चित्रसँग गफिन्छ, मच्चिन्छ, रिसाउँछ, कराउँछ, खित्का छाडेर हाँस्छ र दाह्रा किट्छ । परेन फसाद ग्याड्जेट उससँग युद्ध गर्न पो तम्सियो । उसको सम्पत्ति, बैंक खाता, व्यक्तिगत अरु धेरै कुरा एकचोटि सखाप पार्देला भन्ने डरले माफी माग्छ र फेरि सहखेल सुरु हुन्छ ।

आज उसलाई सङ्गीत सुन्न मन लाग्यो । ब्रुनोमार्सका गीत नारायण गोपालका स्वरमा, मेल्वादेवीलाई हिराना र शाकिराका गलामा । कति मिठा छन् स्वर, लय र ताल । मुर्चुङ्गा, मादल र सहनाइ चाहिएन, मनचिन्ते ध्वनिका लागि एकै ग्याड्जेट काफी छ । कति मिलेका छन् स्थायी अन्तरा पनि !

कृत्रिम धातुका हलुका घर । कोठा पनि निकै साना । वातानुकूलित कक्ष । आवश्यकता र उपयोगिताअनुसारको डिजायन र साजसज्जा । घरका भित्तामा सौर्य खेतीका प्यानल जडिएका छन् । भित्ताका ठाउँठाउँमा माइक्रोचिप्सको लेपन छ । आवश्यकताअनुसार आफैं चल्ने किफायती प्रणालीले घरलाई प्रयोगशाला, रियाज केन्द्र, सिकाइस्थल, खेल मैदान र अरु धेरै बनाएको छ ।

उछिनपाछिन तीव्र छ । केको उछिनपाछिन ? जागिर, मान र प्रतिष्ठाका लागि ? उसका लागि यी सब कुरा बेअर्थी छन् । उसको प्रतिस्पर्धा फगत आविष्कार र नवप्रवर्तनका लागि छ । नयाँ खाद्यवस्तु बनाउनका लागि र अरु धेरै नयाँ गर्नका लागि । ऊ पूर्ण निर्वैयक्तिक बनिसक्यो । समाज निमानवीकृत र प्रणाली यान्त्रीकृत छ । सामुदयिकता र हार्दिकता भने कता हो कता ।

आज मासुको स्वादमा रमाउने मनमा छ मान्छे । स्पेस फार्मिङमा मासु फल्दैन, मासु वनस्पति होइन– जीवकोषहरुको सङ्ग्रह हो तर विनाजीवनको मासु बनाउँदैछ मान्छे । भान्छाको डेक्चीमा रासायनिक प्रक्रियाबाट बनेको मासुमा स्वाद झनै बढी, कसैको ज्यानै नलिइकन मासुको स्वाद लिनुको आनन्दै अर्को । हाड र बोसो दुवै छैन, न त रगत र छाला नै छ । स्वाद लिन कसैको हत्या पनि गर्नु परेन । भनेजस्तो स्वाद पनि पाइयो ।

मान्छे फेरि आफूलाई आना पुर्खासँग तुलना गर्छ । जिजु हजुरबुबा, बुबाआमाहरुले स्वाद लिनका लागि कति हत्या गरे होलान् । मनमनै हिसाब गर्छ, उनीहरुको लाइफ टाइम कन्जम्पसन कति भयो होला ? फेरि ग्याड्गेट अर्काइभ हान्छ र त्यो सङ्ख्या हेरेर एक्लै मनभरि रुन्छ– ‘किन यत्तिका खसीबोका काटेका होलान्’ ? बिचरा पशु आना अधिकारका विषयमा बोल्न सक्थे भने मानवसत्ता पहिल्यै फालिसक्थे । निहत्थाको हत्याको पराक्रम !

मनै त हो– इच्छा जाग्यो । उसलाई अरुले कसरी हेरिरहेका छन् ? उसप्रति अरुले कस्तो दृष्टिकोण बनाएका छन् ? श्रीमतीले के सोचेकी छन् ? फेरि नाडीमा जडित ग्याड्गेट मिलायो । ‘ओहो– म बाँचेको विश्व त भ्रम रहेछ’ । उसले मन पराएका साथीले पनि उसलाई मन पराउँदा रहेनछन् । प्रशंसा र प्रशस्तिका शब्द त फगत औपचारिकता पो रहेछन् । अरुका मन ह्वात्तै उदारेर पढ्न पाएपछि ऊ निकै बेचैन छ । अब बाँच्नुको पनि अर्थ छैन । अर्को मनले उसलाई गाली गरिरहेछ, जीवनका केही रहस्य बाँकी नराखी किन त्यसरी सबै कुरा उदाङ्गो पारेको ? तिमीले दुख नपाए कसले पाउने ?

मर्न मन लागेर हुन्छ र ? मर्नुको रहस्य के हो ? मानिस किन मर्छ ? के मानिस जैविक रुपमा मात्र मर्छ कि पुर्खाहरुले भनेजस्तो आत्मिक रुपमा रुपान्तरण पनि हुन्छ ? मृत्यु जैविक क्रिया हो– कोषिकाहरु मक्किएर काम गर्न नसक्ने भएपछि नै मानिस मर्छ । उसो भए त्यसलाई सजिलै जित्न सकिन्छ । पोशाक परिवर्तनजस्तै कोषहरु रासायनिक र जैविक नवीकरण गर्न सकिन्छ । अनि त मर्नै परेन तर बाँचे पनि जीवनको रहस्य के रह्यो र ? कति वर्ष बाँच्ने ?

सबैको बचाइले पृथ्वी र अन्तरिक्ष सबैतिर खचाखच हुनेछ । हो– बाँच्नुहुँदैन, मर्नुपर्छ तर त्यो मरण स्वेच्छिक होस् । मृत्युले भने मानिसलाई जित्नुहुँदैन । ईश्वरलाई जितिसककेको मान्छे मृत्युबाट परास्त हुनु लाछी हो तर मृत्युमा दुख र पीडाबोध पटक्कै नहोस् । एउटा कुरा मृत्युपछिको अनुभूति पक्रने थोरै समयका लागि चेत बाँकी राख्न पाए कत्ति मज्जा हुनेथ्यो ! के मान्छे त्यसो गर्न सक्ला ? यो तेस्रोभन्दा पनि माथिल्लो स्तरको असम्भव कुरा ।

फेरि पच्चीसाँै शताब्दीको ‘ल्यास’ ले तान्छ । स्पेसमा घर, खेती र प्रयोलशाला अनि कार्यशालालगायत सबै कुरा तर त्यो स्पेसलाई मानव अतिक्रमणको झाडी हुनबाट कसरी जोगाउने ? अन्तरिक्षका अरु ग्रहतिर बस्ती बसाउँदा प्रविधि र लागतले कति सहमति देला ?

शासकीय व्यवस्था र लोकतन्त्रका आधारभूत मान्यता अनि विधि पनि पूरै पनि बदलिए । प्रविधि र ज्ञानको लगातार विस्फोटले शक्ति संरचना, सहभागिता अनि सार्वभौमसत्ता सबै नै जीर्णमात्र बनेनन्– डेमोक्रेसी नै डिमार्कीबाट विस्थापित छ । कृषकहरु कृषिमन्त्री चुन्दैछन्, डाक्टर र स्वास्थ्यकर्मीहरु स्वास्थ्यमन्त्रीका मतदाता बने । वैज्ञानिक र खोजकर्ताका प्रतिनिधि प्रविधि मन्त्री र अरु यस्तै सरोकारका पात्र विषयगत मन्त्रालय नेतृत्व सुम्पिँदै छन् ।

कार्यकारी प्रमुख सबैको मतदाताको मतमा सबै प्रतिनिधिलाई संयोजन गर्छन्् । नीति मञ्चहरु नीतिग्राहीका भावना र सङ्केत टिप्न व्यस्त छन् । नियन्त्रण र जवाफदेहिताका स्वचालित संयन्त्र क्रियाशील छन् । चित्त नबुझे मतदाताहरु आना प्रतिनिधिलाई तत्काल प्रत्याह्वान गर्न सक्छन् । जुलुस, आन्दोलन र दाउपेचमा लाग्ने चासो अनि अर्थ कसैलाई छैन ।

फेरि पच्चिसौं शताब्दीको कल्पना गर्छ । निजत्वले सर्वस्व पाएको राज्यहीन, देशहीन र बृहत् समाज । पराधीनताका सबै सिक्री चुँडालिएर समग्र स्वतन्त्रताको समाज व्यवस्था भन्ने गरिएको ‘पस्र्युट अफ ह्याप्पिनेस’ बल्ल प्राप्त भयो । राज्य र शासकले कहिले पो समानता, न्याय, स्वतन्त्रता र समृद्धि दिएका थिए र ? प्लेटो, रुसो, र कार्ल माक्र्सले देखेमा भन्ने थिए ‘हामीहरुले खोजेको व्यवस्था यही हो’ ।

अचम्मको आवाज आएजस्तो, कुन्नि के हो त्रासले मान्छे अक्मकियो, अल्मलियो र खुत्रुक्क प¥यो । प्रणाली धान्ने एप्लिकेसन जलेर संसारै स्तब्ध छ । चङ्गा चुडिएझैँ निरुपाय अल्मलिएको मानवसत्ता । के पुनर्जागरण सम्भव छ वा मानवसत्ताको विनाश ?

-गोपी मैनाली

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }