झ्याउँकिरीले डाकेको दसैं
झ्याऊँ ऽ ऽ ऽ ऽ ऽ ऽ ऊ, झ्याऊँ ऽ ऽ अ । झुल्के घाममा बारीका डिल, लहरामा बसेर झ्याउँकिरी कराएको देखेर मैले दौडिँदै आमा भएतिर गएर भनें ‘आमा झ्याउकिरीले दसैं डाक्यो ।’ ‘हो अब दसैं आउँछ’ । अम्बाको रुखमुनि घाँस काटिरहेकी आमाले भन्नुभयो । आमाले नै यो किराको नाम झ्याउँकिरी भनेर चिनाउनु भएको थियो ।
असोज लागेपछि झ्याउँकिरीहरु घामतिर फर्केर यसरी नै कराउने गर्दछन् अर्थात् दसैं डाक्छन् । घामतिर फर्केर कराउने भएकाले घामकिरा र यसले कराएपछि दसैं आउने भएकाले दसैंकिरा पनि यसको नाम हो । किराले पनि चाड आएको कसरी थाहा पाउने ? किरा प्रकृति हो– उसले थाहा नपाओस् कसरी ?
दसैं आउनु सबैका लागि खुसीको कुरा हो तर मेरा लागि दसैंको छुट्टै अर्थ थियो, ठूल्दाजुले बास्ना आउने सेतो धर्के कमिज र सुरुवाल ल्याउनुहुन्छ भन्ने आशा, अर्को १५ दिन स्कुल जाने टन्टा नहुने र त्योभन्दा पनि खुसी १५ दिन रोशी खोलाछेउमा आमासँग बस्न पाइने । रोशीमा पौडी र पिङ पनि खेल्न पाइने ।
नभन्दै असोजको दोस्रो हप्तामै जमरे औंसी आइहाल्यो । गुरुले हाफ टायममै हामी सबैलाई लाइन लगाएर श्रीमान् गम्भीर… गाउनुअगि १५ दिनको होम वर्क दिनुभयो । टहलुवा काकाले दसैं बिदाको सूचना सुनाएर पाठशालाको ढोकामा टाँस्नुभयो र भन्नुभयो तिमीहरु सबैलाई शुभकामना । राम्ररी दसैं मनाउनू ।
आज घरतिर जाँदा पनि केही जितेझैँ लामोलामो पाइलामा छौं । मेरा पछिपछि देव, नारायण र राम पनि छन् । पल्लाबारी, सुब्बा काकाको घर आएको थाहै नभई हाम्रो घर आइपुगिएछ ।
मन कति फुरु ऽ ऽ ऽ ऽ ङ्ग उडेको ! हजुरआमाले भुटेको ठूला भटमास र मकै कचौरामा राखिदिन नपाउँदै हजुरबुबाले उर्दी लगाउनुभो— ‘केटा हो गैह्राबारीमा गएर एक बाल्टी माटो ल्याओ, एकजनाले गाईको गोबर र बाह्रमासेको फूल पनि ल्याउनू ।’
मकै भटमास चपाउँदै गैराबारीको पोखरीको पाँगो माटो ल्यायौं । हजुरबुबाले दुर्गाशप्तसती कण्ठाग्र पढ्दै जमरा राख्नुभयो । हामी चार भाइ भने आमा भएतिर दौडिँदै रोशीखोला झ¥यौं ।
रोशी, लमतन्न बगेको नागबेली खोला । वर्षामा धमिलिने, मडारिने र कैयन्को काल बन्ने रोशी झ्याउँकिरी बास्न थालेपछि भने स्निग्ध, लजालु र श्वेतवर्णमा देखिन थाल्छे । उसमा रहेको उष्णता पनि केही सेलाएको छ । हाम्रो शैशवकाल यही खोलाकिनारामा ढिकी, माने र घट्ट खेलमा बितेको छ । यही रोशीले हामीलाई अभिभावकत्व, माया र वात्सल्य पनि दिएको छ । पटकपटक थप्पड पनि दिएको छ, पछार्दै र बगाउँदै ।
बहादुरे भन्ज्याङमा नै आमाका आँखाले हामीलाई ठम्याएछन् । नठम्याओस् पनि कसरी, बिहानैदेखि आना बालबच्चा कतिखेर आउलान् भनेर बाटाभरि आँखा बिछ्याउनुभयो होला । परिश्रम र रोगले शरीर खिइएको भए पनि आमाका आँखा निकै तेजिला थिए । हामी मानेडाँडाबाट झर्न नपाउँदै आमा मिठोमिठो खाना बनाएर हाम्रो प्रतीक्षामा बस्नुहुन्थ्यो ।
रोशीकिनारबाट केही चढेपछि पिपले फाँट आउँछ । एउटा ठूलो फाँट, सिरानमा सेता चार घर, घरको पूर्वमा तित्रीको बडेमा रुख र रुखमुनि चौतारो । पश्चिमतिर आँपको बगैंचा, त्यसमुनि बारी र बारीमुनि एकातिर चौर अनि अर्कोतर्फ चार सय फाँटको खेत । खेतको छेउमा पानीघट्ट र शमीको चौतारो ।
कति खेल्यौं रोशीखोलामा, कतिपटक त रोशीले बगायो पनि हामीलाई । धुल्पुरे बजारनजिकको जङ्घारबाट गोर्दाइको हात समात्दै रोशी त¥यौं । रोशी तर्न नसकौंला कि भनी आमाले गोर्दाइलाई पठाउनुभएको रहेछ । शमी चौतारीमा एकछिन थकाइ मारेर हामी पिपलेतिर उक्लियौं । रोशीको स्वाँ ऽ ऽ ऽ ऽ… अँ सुस्केरा आमाको बोलीजत्तिकै मिठो । आमा कतिबेरदेखि बोडीको बिरौंला बनाएर हामीलाई पर्खिरहेकी थिइन् । कुखुराका चल्लाझैँ हामी आमाका वरिपरि बसेर खान थाल्यौं ।
‘ठूल्दाजु आउनु भो ं……ठू ऽ ऽ ऽ ल्दाजु आउनु भो’ । बुधेको घरनेर देवले देखेछ । हामी दौडेर गयौं । ठूल्दाजुले बोकेको ठूलो झोलामा दसैं ल्याउनु भा’रैछ । आमा अनि भाउजूहरुलाई छिटको सारी तथा टोपरेलको चोलो, हामीलाई धर्के कमिज र सेतो सुरुवाल । बहिनीलाई बुट्टे घाँगर । मसला र मिठाइ पनि ।
ठूल्दाजु बर्दियाको जागिरे । दसैं पेश्की र सरसापटीमा हामीलाई दसैं ल्याउने उहाँको सोख । पोहोर पनि यसरी नै दसैं ल्याउनु भा‘थ्यो ।
हामीहरुले वरिपरि ठूल्दाजु बसेको गुन्द्रीलाई घेरा हाल्यौं । ठूल्दाजुले कोटको गोजीबाट एक पुरिया नेबिको खाजा बिस्कुट झिक्नुभो र सबै भाइबैनालाई दुईदुई पिस दिनुभो ।
आहा ! सधैंभरि यसरी नै दसैं आए हुने । दाजु आए हुने ।
बर्दियाको जागिरमा लुगा, खाजा बिस्कुट कसरी फलेका होलान् ? के म पनि ठूलो भएपछि जागिर खान, भाइबैनीलाई दसैं ल्याउन सक्छु ?
आज आमा पनि कति खुसी ! भाउजू पनि दाजु आउने थाहा भएर होला– घाम डाँडामा नबस्दै घाँस लिएर आउनुभो । रात नछिप्पिई घर नआउने बुबा पनि आज घाम नडुब्दै घर आउनुभो ।
दाजुको वरिपरि गुन्द्रीमा हामीहरु एकएक गरी निदाएछौं ।
भोलिपल्ट झुल्के घाममै पिठ्युँमा कल बोकेर कान्छे दाइ आइपुगे । पिढीसँगै रहेको तित्रीको चौतारीमा हाम्रा लागि कमिज, सुरुवाल, बैनीको घाँगर र आमा भाउजूको चौन्दी चोली सिउन थाल्नुभो ।
आज बिहान भोक पनि लागेन । अरनी (बिहानको खाजा) पनि खाएनौ । कान्छे दाइको कल खुटु ऽ ऽ ऽ ऽ ट दिनभरि चल्दै रह्यो ।
होइन– कान्छे दाइ कति जान्ने ! कमिज, सुरुवाल, घाँगर, चोलो सबै तयार भए । भोलि पुण्यप्रसादकहाँ जानु छ रे । पिठ्युँमा कल बोक्दै कानपुरतिर उँभो लागे ।
घ्लानटोलको पिपलको रुखमा लिङ्गे पिङ मच्चिएको, केटाकेटीहरु हल्ला गरेको हाम्रो घरमै सुनिन्थ्यो । अष्ठे, काले, शोभित, विर्तान, ठूली, कान्छी र चम्फा मच्चिईमच्चिई पालैपालो दोहोरी पिङ खेल्न लागे । देवरहरुलाई दसैं मनाउन माइली भाउजूले आँपको हाँगामा बाबियोको पिङ झुण्ड्याउन लगाउनु भो । हामीहरु पालैपालो पिङ खेल्न थाल्यौं ।
अहा कति रमाइलो दसैं । भोलि त फूलपाती । २० धार्नीको लामकाने मने (खसी) काट्ने ।
बिचरा लामकाने मने । अँगेनाको छेउमा हामीसँगै ओकारेर बस्छ । हामी पढ्न जाँदा उसलाई पनि हाम्रो नियास्रो लागेको हुनुपर्छ । हामी आएपछि हाम्रो मुखतिर थुतुनो दल्छ । हामीजस्तै आमाको पछिपछि ओकार्दै हिँड्छ । दसैंको खसी भएकाले होला– अरु बाख्राजसरी यसले खोरमा थुनिनुपरेको छैन । हामीसँगै बस्छ । हामी सुतेपछि मझेरीमै सुत्छ ।
आज भने मनेले दुई खुट्टा टेकेर ऊँ….. ऽ ऽ ऽ ऽ अ गरेर खेलेको छैन । थुतुनो हामीलाई दलेको पनि छैन । मुछेको पिठो र घाँस पनि खाएन । झोक्राएर बसेको देखेर आमालाई भनें— ‘मने बिरामी छ आमा ।’ ‘होइन बाबा त्यसको सपना बिग्रेको हुनुपर्छ । भोलि त्यो देउता बन्दैछ ।’
‘आमा पाङ्ग्रे खसी पनि भोलि देउता बन्दैछ ?’ (अर्को खसी गाउँको मूलघर, हजुरबुबा बस्ने जमरा घरमा पठा‘को थियो) । ‘बाबु त्यसलाई पनि काट्छन् ।’
हामीसँगै दौडँदै खेल्दै आएको ठूलो खसी र पाङ्ग्रे खसी भोलि देउता बन्ने ! तिनीहरुको मासु कसरी खाने ? के सबैको घरमा यसरी नै मनेहरु देउता बन्छन् ? नयाँ लुगा लगाएर, पिङ खेलेर, सेल पकाएरमात्र दसैं आउँदैन ?
घाम नझुल्किँदै आँगनको एक कुनामा तामाको ठूलो खड्कुलोमा खरानी पानी भुल्का छुट्न लाग्यो । बुबाले ठूल्दाजुलाई अराउनुभो ‘केशव पानी छिप्पिन लाग्यो, खसी नखुइलिएला ।’ हामीसँग छेउमा झोक्राएर बसेको खसीलाई ठूल्दाजुले गलामा दाम्लो लगाउनुभो, उसले अलिकति पनि प्रतिकार गरेन । मानौं ऊ विश्वासमा समर्पित थियो । पानी तताएको ठाउँनजिकै केराको थम्बामाथि ठूलो खसीको गर्धन सिधा पार्नुभो । खसी मार हान्न ताइ आइपुग्यो बडेमानको खुकुरी बोकेर । ठूलो खसीले अलिकति पनि हेरेन । हामी डराउँदै आँटको रुखमुनि लुक्यौं ।
‘छ्वाक्क’ । एक मारमै ठूलोखसीको गर्धन छिनेछ । ‘तेरो हात कति सिधा, कति राम्रो मार हानिस् ।’ बुबाको वाक्य टुङ्गिन नपाउँदै ताइले भन्यो— घ्लानटोलको मौलो (राँगो) पनि मैले हान्नुछ, म हिँडें ।’
टाउको र शरीर दुईतिर गिँडिएको ठूलो खसीको आँखा हामीतिर अकण्टक थिए, मानौं भनिरहेको थियो —‘मलाई किन यसो गरेको ।’ घाँटीमुनिको स्वासनली भने अझैँ हल्लिँदै थियो । सायद डरले कामेको !
थिङटोलका थिङ, घ्लान टोलका घ्लान र रघुचौरका गौतमहरु केराको काइँयो, पाकेका अम्बा र दहीको ठेकी बोकेर हाम्रो दसैं ल्याउँदै थिए । हामीले गरिखान दिएका खेत र बारीको साङ्केतिक बाली बुझाउने क्रममा उनीहरुले दसैंको सगुन ल्याएका हुन् । आमा भने सकी–नसकी मासु, चिउरा र सेलरोटीमा उनीहरुको स्वागत गर्दै हुनुहुन्थ्यो ।
हामीहरु भने दुधसँग भात खाएर रोशीतिर नुहाउन गयौं । मनभरि दसैं आएको हर्ष र मनको अर्को कुनामा मने काटिएको विस्मात् ! पाइलाहरु पनि बिस्तारै चलेका थिए ।
रोशीखोलाको बीचमा रहेको ठूलो ढुङ्गाको वरिपरि हामीलाई डुबाउने घुमाउने परको दह थियो । जिउमा साबुन लगाएर ढुङ्गामाथिबाट फालहाल्दै पौडिँदै घुमाउने र मुल्को काट्ने प्रतिस्पर्धाको खेलमा चार भाइ समावेश थियौ । म र नारायण भने घुमाउनेमा प¥यौं । पौडिन सकेनछौं । दुई मिनेटजति घुमाउनेमा पानीले घुमाउँदा हामी भने पानीपानी भइसकेका थियौं । बल्ल देव र रामले दिएको हात समातेर बाहिरिन सक्याँै । झन्डै रोशीले लगेको । सायद मने काटेको भनेर रोशी रिसाएको हुनुपर्छ ।
एकातिर मने काटिएको पिर अर्कोतिर घुमाउनेमा फसेको थकाइ, घरसम्म पुग्न पनि निकै बेर लाग्यो ।
घरमा सबै खुसी मुद्रामा थिए । केरा, दही र अम्बा ल्याउनेको लर्को थियो । ठूल्दाजु थिङमाइला, सुब्बासिंह र रघुचौरका गौतमलाई बर्दियाको जागिरबारे सुनाउँदै हुनुहुन्थ्यो । सबै छोराछोरी वरिपरि पाउँदा परिश्रमले ख्याउटे भएकी आमामा थकावटको छनक पटक्कै थिएन । सबै खुसीले मस्त ।
नवमी विशेष पूजाको दिन । कालिका मन्दिरमा पञ्चेबाजा, ध्वजासहित कुलायन पूजा गर्नेको लर्को जाँदैछ । मन्दिर सत्तल मालसिरी र दुर्गा सप्तशतीको पाठले गुन्जिएको छ । गोरे काकाको मालसिरी निकै तेजिलो स्वरमा सुन्न सकिन्छ । हजुरबुबा न्यासमा व्यस्त हुनुहुन्छ । न्यास नसकी विशेष पूजा र भोग नदिने चलन छ । गाउँका ठूलाबुबा र काका पूजाको पालो पर्खाइमा कानपुरलाई विकास गर्ने योजनाको गफ मार्दैछन् ।
कानपुरमा पाठशाला त थियो, पछि बुवाले छ कक्षासम्म पढ्ने स्कुल खोल्नुभो तर पानीको हाहाकार छ । नीर फाट्नुअगि नै पातल (जङ्गल) को कुवामा लाइन नबसी एक गाग्री पानी पनि पाइँदैन । पहिला हजुरआमा, अहिले कान्छीआमा र भाउजूहरु पानीको लाइनमा बस्न आजित छन् । गत वर्ष पनि यस्तै योजनाको गफ भएथ्यो रे । कुन्नि कति वर्षसम्म यस्ता योजनाका गफ बन्ने हुन् । पुरुषले पिएको पानी पनि महिलाको पसिना र रगतसरि !
मोटर बाटो त सपना । एकदिनको यात्रामा धुलिखेल नपुगी मोटर देख्न पाइँदैन । त्यो मोटर देख्न पाएको भए त्रैमासिक परीक्षाको ‘मोटर’ निबन्धमा म कत्ति नम्बर ल्याउँथे होला ? निबन्ध त सिनेमा, पशुपतिनाथ र स्वयम्भूनाथको पनि लेखें तर मोटर नचढी वास्तविक पशुपतिनाथ, स्वयम्भू, सिनेमा कसरी पुग्ने ? केवल कल्पनामा लेखियो । बस….!
भोलि नयाँ लुगा लगाएर टीका थाप्न कानपुर जानुछ । कति राम्रो कपडा । सधैं दसैं आए पनि हुने नि ! रेडियोले पनि मालसिरी धुन र दुर्गाकथा सुनाइरहेको छ । स्कुल जान पनि नपर्ने ।
बिहानै आमाले दुध दोएर चिया पकउनुभयो । कुँडेभरि उम्लिएको दुध हामी बच्चाजतिले पियौं । टीका लगाउने मध्याह्नको साइत, हामीलाई भोक लाग्ला भन्ने आमालाई चिन्ता । त्यसैले कर गरेर दुध पिलाउनुभयो ।
सात बजेछ । रेडियोले समाचार दिनुअगि राजाले देशवासीका नाममा सन्देश दिए । सन्देशको अन्त्यमा पशुपतिनाथले कल्याण गरुन् किन भनेका ? दसैंमा त नवदुर्गाले कल्याण गरुन् भन्नुपर्ने होइन ? दसैं त नवदुर्गाको चाड हो– सबै देवतालाई महिषासुरलगायतका राक्षसले सताएपछि नवदुर्गाले नै बचाएकी थिइन् । अनि जयचाहिँ कसरी पशुपतिनाथले गर्ने ? बाल कौतूहल मनभरि मडारियो ।
त्यसपछि हामी लस्करै झोलुङ्गे हुँदै रोशी त¥यौं । अस्ति यही रोशीले झन्डै ज्यान लिएथ्यो । रोशी पनि कहिलेकाहीँ रिसाउँदो रहेछ ।
अब एक कोश उकालो लाग्नुछ । बुबा, ठूलो दाजु, श्याम दाजु…. लस्करै हामीहरु । अम्बटे, सिमल चौतारो, मुडुली भन्ज्याङ, बहादुरे चौतारो, लास्कोट । कानपुरका लागि आधा बाटो भयो । दसैंले होला– बाटो पनि सुनसान छ । घट्ट, मेलापात र गोठालो आउने सबै बिदामा छन् । म नेसनल पानासोनिक रेडियो बोकेर बास्ना आउने लुगाका साथ हिँड्दैछु । लामालामा फड्का, मनको रौस, नयाँ कपडाको बास्ना…!
दुई घण्टाको यात्रापछि मूल घर पुगियो । हजुरबुबा दुर्गापूजा विसर्जन गर्दै हुनुहुन्छ । हजुरआमा सेलरोटी, झर, अचार, मासु, दही केराको भाग लगाउँदै हुनुहुन्छ, टीकापछि सगुन प्रसादका लागि ।
१०ः१५ बजे जोरनाले बन्दुक गडरम्म पड्कियो । ठूल्दाजुले टीकाको साइतमा बडाइँ गर्नुभाको रहेछ । चराहरु डराएर चारतिर उडे । हजुरबुबाले बैनीहरुलाई पञ्चकन्या पूजा गर्दै उनीहरुबाट टीका ग्रहण गर्नुभयो र क्रमशः टीका लगाउँदै आशिक दिनुभयो ।
आशिक पनि कति कण्ठस्थ भएको । आयुद्र्रोणसुते श्रियं दशरथे … मानञ्च दुर्योधने । के ती आशिक पूरा हुन्छन् ? त्यो शुभेच्छा हो– कर्मले नै आशिक पु¥याउने हो । हजुरबुबाका अभिव्यक्ति त्यसतर्फ पुग्ने प्रेरणा हुन् ।
के अब पनि त्यसरी नै दसैं मनाउन पाइन्छ ? फगत सम्झना । विस्मृत हुनलागेका सम्झना । हजुरबुबा, हजुरआमा, बुबा, आमा, काका, झ्याउँकिरी, बास्ना आउने कपडा, राजाको सन्देश, रोशीखोलाको निश्छल स्वरुपका दृश्य मधुरामधुरा हुँदैछन् ।
– गोपी मैनाली