तन्त्र,मन्त्र र दिवस
हातमा लाठी र मुखमा सिटी भएको निलो पोसाक लगाएको मान्छेले आकासै खस्ने गरी चिच्याउदै भन्यो “ए उताबाट जा भनेको सुन्दैनस् “। ऊ आफ्नै तनावको धुनमा हिडिरहेको थियो । त्यो चर्को आवाजलाई उसले वास्तै गरेन । आफ्नै शुरमा अगाडि बढ्दै थियो । पड्काउने हलो बोकेको टाटे पाङ्ग्रे पोशाक लगाएको मान्छेले उसलाई रोक्दै भन्यो, “यता होइन, उता जा”।
अब भने उसलाई थाहा भयो त्यो अघि चिच्याएको पनि उसैलाई रहेछ । उसले बाटाे छेक्नेलाई सोध्यो । किन ? हिड्न पाइदैन र ? सधै त हिडिरहेकै हो नि ! आज के भयो र ? दौडदै आएको निलो पोसाकधारीले भन्यो,”त्यति पनि थाहा छैन, आज लोकतन्त्रको महत्वपूर्ण दिन संविधान दिवस अनि त्यसैको सवारी छ, सहस्र छाेटे••••••हरुकाे”। उसले नम्रस्वरमा भन्यो, ए त्यै भएर पो यो सुन्यता ?
संविधान दिवसको शुभकामना तपाइहरूलाई । ऊ आफ्नो बाटो हिडिरह्यो । भ्यानका मान्छेले उसलाई झ्याइकुटी पारेर गाडीमा हाले । उसले भन्यो, “छोड्नुस् न मेरा बा अस्तपतालमा रगत कुरिरहेका छन् । म समयमा पुगिन भने जे पनि हुनसक्छ”। उसले रगत बोकेको बाकस देखायो ।
“यहाँ जागिरको सवाल छ गाडिमा हाल”। काँधभरी झिलिमिलि भएको मान्छेले भन्यो । उसलाई गाडिमा जबरजस्ती कोचियो । सोधपुछ र अनुसन्धान पश्चात उसलाई छोडियो । ऊ हस्याङ् फस्याङ् गर्दै बीर अस्पताल पुग्यो । तेतिबेलासम्म उसका बाबुले संसार छोडिसकेका थिए। बिरामीहरुको चापले गर्दा लास समेत बीर अस्पतालको पेटीमा सारिएको थियो । उसले मृत बाबुलाई चिच्याउदै भन्यो, “तिमीले लोकतन्त्र ल्याउन र संविधान निर्माणमा गरेको योगदानको फल रगत चढाउन नपाएर मर्नु पर्यो ।
मैले त भनेकै थिए नि ! यो भोकाहरूको भोकतन्त्र हो! हुनेखानेहरूको शोकतन्त्र हो !निर्धाहरूलाई ठोकतन्त्र हो ! बिदेशी प्रभुलाई बोकतन्त्र हो ! तर तिमीले कहिलै सुनेनौ । तिमीले भनेको देश र जनताको नाम भजाएर ढाडिएका छन् किर्नाहरू! अब त बुझ्यौ नि। ए बा ! उठ! तिमीले प्रजाकाे तन्त्र हटायर ल्याएको लोकतन्त्र हेर्न उठ ! रूँदैरूँदै उसले बाबुको लास हल्लाइ रहेको थियो ।
नजिकै टुँडिखेलमा सं-बिधान दिवसको उपलक्ष्यमा राष्ट्रिय गीत बजिरहेको थियो । हेलिकप्टरले पुष्पवृष्टि गरिरहेको थियो । हावाको झोक्काले एउटा फूल उसको बाबुको छातीसम्म ल्यायो । छातीमा खसेको फूल उठाउदै आकासतिर हेर्यो र भन्यो धन्य प्रकृति तैले बुझेर के गर्नु ! यो लोकतन्त्रले आफ्नो परिभाषा कहिले बुझ्ने हो? दिबसमा बिवस मृत्युको क्रम कहिले रोकिने हो ? —– ऊ बर्बाइरहेको थियो ।
-गाेपीराम भण्डारी ‘बटुवा’