शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समयसँगै दशैं


  • गोपी मैनाली
  • सोमवार, अशोज १७, २०७९
  • 595
    SHARES

समयसँगै दशैं

दशैैं बाल्यकालमै रमाइलो । दशैं मात्र कहाँ हो र, सबै चाडवाडहरु बाल्यकालमै रमाइला ।

बाल्यकालमा दशैं रमाइलो हुनुका धेरै करण थिए । सँधैभरि काममा खट्नुपर्ने आमा दशैंमा हामीलाई वरिपरि राखेर मीठामीठा खाना बनाउनुहुन्थ्यो । सँधैभरि बाहिर जाने डुल्ने बुबा फूलपातीदेखि घरमै बस्नुहुन्थ्यो । भाउजुहरु आँपका हाँगामा बाबियोले पोयो बुनेको पिङ्ग हालिदिनुहुन्थ्यो । गाऊभरिका साथीहरु पिङ्गमा झुमिन्थे । हामीहरु पालो पर्खेर पिङ्गमा मच्चिन्थ्यौं ।

स्कुल जान नपर्ने भएपछि दशैैमा अर्को रमाइलो थपिन्थ्यो । स्कुल विदा भएपछि गुरुले दिएको पाठ बुझाउनु पर्दैनथ्यो । गृहकार्य बुझाउन नसक्दा, गणित नमिल्दा सिर्कनो खान पर्दैनथ्यो । रोशीखोलामा डुवुल्किएर, चौरमा दौडिएर, मन्दिरका सत्तल र रुखहरुमा खेलेर विताउन पाइन्थ्यो ।

विदामा भाइ–बैनीसँग खेल्ने, झगडा गर्ने, आमासँग दुख पोख्ने, विलौना गर्ने समय दशैैले ल्याउँथ्यो ।

दशैंसँगै जागिरमा भएका दाजुहरु घर आउनुहुन्थ्यो । दाजुहरु आएपछि दशैं झनै आउँथ्यो । दाजुहरु भेट्न पनि दशै नै आउनुपथ्र्यो । उहाँहरुले बास्ना आउने नयाँ लुगा ल्याएपछि दशैको महक नै छुट्ट्रै ।

फुल्नफुल्न खोजेका, अलिअलि फुलेका फूलहरु, रुखमा निख्रन लागेका अम्बा, बाला लागेर बास्ना आउन थालेका धानका वाला, बर्षाभरिको धमिल्याइपछि सँग्लिएको रोशीखोलो, अर्थुङ्गे फुलेका धारे र अम्बटेका पाखा सबै नै दशैका रमाइला थिए । न गर्मी न जाडो, न पूरै हरियो न पूरै पाकेको प्रकृति । शरद संस्कृतिले प्रकृति नै ढकमक्क हुन्थ्यो ।

नेशनल पानासोनिक रेडियोले लगातार मालसिरी गाइरहन्थ्यो । फुलपाती पर्सेपछि दैनिक गर्नुपर्ने बलीपूजा, नैबेद्य, फूल अक्षता, पूजापाठ । हजूरबुबा दुर्गा शप्तसती कण्ठ पाठ गर्नुहुन्थ्यो । ‘ऊँ ऐम् हृम् क्रिम चामुण्डाय बिच्चे’ । ती संस्कृतका श्लोक नबुझेर के भो र ? ध्वनिले नै मन ओजिलो बनाउँथ्यो । लाग्थ्यो, ती श्लोकहरु ज्ञानका सूत्र थिए । पवित्र वातावरण, पवित्र सोचमा दुर्गासप्तसतीका पवित्र श्लोकहरु १

गाउभरिका मानिसहरु गफ गर्न पनि हाम्रै घरमा जम्मा हुन्थे । पढाइका कुरा, जागिरका कुरा, राजनीतिका कुरा, शहरका कुरा सुन्न पाइने भएर पनि होला । रेडियोले समाचारमा अमेरिकाका रिचर्ड नेक्सन, हेनरी किसिन्जर अनि शोभियत सङ्घका लियोनिद ब्रेज्नेभ र आन्द्र्राइ ग्रोमिकोको नाम पटक पटक बारम्वार भट्ट्याइ रहन्थ्यो । ती नामहरुले स्कुलको हाजिरी जवाफ जित्न सहयोग गथ्र्यो । कताकती त्यो शीतयुद्ध दशैैमा रेडियोले भन्ने रक्तबीज र चण्डमुण्डसंग देवीदेवताको युद्धसँग जोडेर हेर्थें । बाल मन त हो नि । कहिले के कहिले के कल्पना गर्ने ।

रेडियोले झलकमान गन्धर्वको ‘आमाले सोध्लिन नी…’ गीत बजाइरहन्थ्यो । मुग्लान गएका सन्तान सम्झेर होलान, मानिसहरु भक्कानिन्थे । गीतको दुखीभावका कारणले होला, आमा पनि रुनुहुन्थ्यो । ‘उकाली ज्यानको .. ज्यानको कान्छी मट्याङ् ट्याङ्’ बज्दा दशै मजेरीभरि पोखिन्थ्यो । ठूलो दाजु ‘काली पारे दाइ कति राम्रो’ मन पराउनु हुन्थ्यो । सबैका आआफ्नै फर्माइस न भए । म भने गीतभन्दा पनि जमघट र मीठामीठा कुरा कान ठाडो पारेर सुन्थेँ ।

बाटुले, घलान टोल र थिङ्टोलबाट मालपुवा र मार्चमाने कुरा आउँथ्यो । देख्दै मुख रसाउने अम्बा ल्याउथे । गाउ घरमा वल्लोघर पल्लोघर मीठामसीना कुराहरु बाँडेर खाने संस्कृति । आउनेलाई नखुवाई पठाउनु हुन्न भन्ने आमाको सोच थियो । आउनेहरु सेल र मासु चिउरा खाएर मात्र जान्थे । बर्षभरि दुख परिश्रम गरेर दशैमा हसिला खुसिला देखिएका गाउ टोलवासिन्दाहरु खाँदा पनि उन्मुक्त देखिन्थे । प्रकृतिको खुसी सवैको चेहरामा देखिन्थ्यो र

जमाना बदलियो । जमाना बदलियो भनौ कि आफै बदलिएको हो । मानिस बदलिएपछि न जमाना बदलिने हो । अब दशैमा आफू रमाउने होइन, बच्चाहरुलाई रमाइलो बनाइदिनपर्ने जिम्मेवारी आयो । शहरिया भै टोपलियो, शहर भनेको त सबै कुरा किन्ने ठाऊ पो रहेछ । गाउमा जस्तो अम्बा, दही, केरा कसले सित्तैमा दिन्छ र ? आउनेजतिलाई कसले ख्वाओस् । स्वागतको काम कतिञ्जेल हो चियाले धान्दैछ ।

घटस्थापनादेखि स्कुल बिदा, बच्चाहरु घरै छन् । तर कार्यालयको जिम्मेवारीले दशै र बच्चाको फर्मायस भन्दा कार्यालयको कामलाई नै महत्व दिन पर्ने । एक दिन त सुव्रतले सोधिहाल्यो, पापाको अफिस विदा कहिलेबाट हुन्छ ? जिम्मेवारीले पनि चाडवाडलाई बेग्लै बनाउने । एकतिर कार्यालयको जिम्मेवारी, अर्कोतिर परिवारको जिम्मेवारी । धन्न बच्चाको कपडा रेडिमेड नै पाइन्छ । रोशीको जस्तो थानको कपडा किनेर सिलाउन परेको भए बच्चाको दशंै कहाँ आउँथ्यो ?

शुभम, सुव्रत दुवै बाबुहरु चङ्गा उडाउन जान्दैनन्, तैपनि चङ्गाको हुटहुटी । लट्टाई र चङ्गा ल्याइ दिनै पर्ने । पिङ्गलाई चङ्गाले, रमाइलो मेलाले, बास्ना आउने लुगालाई फेन्सी कपडाले विस्थापित ग¥यो ।

बाबुहरु मालासिरी सुन्न होइन, नेशनल जियोग्राफी र कार्टून नेटवर्कमा आँखा टाँस्छन् । कमलालाई भ्याइ नभ्याइ भान्साको काम छ । नहोस् पनि किन, उसलाई पनि दशैं आएको छ । हामीसबै घरै छौं । आमाले हामीहरुलाई मीठोमीठो ख्वाएजस्तै शुभम, सुव्रत, अरु बच्चा र आउने पाहुनापातलाई मीठो मीठो बनाएर खुवाउने जिम्मेवारी ।

खुसी त सन्तुष्टि हो । काममा पनि सन्तुष्टि, व्यस्ततामा पनि सन्तुष्टि १ त्यसो नुहँदो हो त आमाहरु सँधै दुखी हुने थिए । तर आमाहरु दुखमा पनि खुसी हुन्छन् । सन्तानहरुलाई माया गर्न, मीठो ख्वाउन पाउँदा आमाहरु खुसी हुन्छन् । कहा, कता छरिएका सन्तानहरुसँग रमाउन पाउँदा खुसी हुन्छन् । हो, दशै आमाहरुका लागि खुसीको अवसर । आमा भनेकै खुसीको नाम हो, मानवको होस कि अरु प्राणीको १

बच्चाहरु पनि ठूला भए । हामी दाजु–भाइ, दिदी–बहिनी आआफ्नै कर्मममा विभाजित भयौं । अब खुसी पनि विभाजित छ । मनका सम्बन्धहरु भूगोलमा विभाजित छन् । दशैका केही दिन संगै मन खोलेर रहन पनि के केले छेक्छ, कहिले भूगोलले छेक्छ, कहिले कोभिडले छेक्छ । यसपालि त डेंगूले छेक्यो ।

शहर दशै रमाइलोको ओपचारिकतामा छ । किनमेल केन्द्रहरु बेस्सरी भिडभाडमा छन्, अन्यत्र सुनसान छ । रमाइलो होइन, सुनसान छ शहर, कोलाहलबीच पनि सुनसान छ । मन्दिरहरु जमघट जस्ता देखिए पनि पवित्रता छेकिएको छ, पुजाका थालीहरुभन्दा सेल्फी खिच्ने हातहरुको भीड छ । चङ्गा उड्ने आकाश खालि छ । घरका मजेरी, आँगन, कौशी र बार्दलीहरु पनि पर्वको रौनकमा छैनन् । सडकमा देखिनेहरु शुभकामना र खुसी साट्दैनन्, चटारोमा दौडिएका छन् ।

प्रविधिले पिङ्ग, मालासिरी, पूजापाठहरु लखेटिएका छन् । बच्चाहरु पनि ‘म्याथ’ मा बोल्न थाले, पिङ्, पौडी र डण्डिवियोका स्थानमा ग्याड्जेटहरु छन् । इष्टमित्रहरु पनि मोवाइलमा झुम्मिनै मस्त । बच्चाहरु पनि बाहिर गएपछि टिका पनि भाइवरमा सीमित छ । धन्न भूगोलका सीमा र समयलाई प्रविधिले खुम्च्याएको छ ।

अब त फुर्सद पनि छ तर त्यो रोशीखोला र कान्पुरको दशै छैन । दाजु–भाइ, छिमेकी र साथीहरुसँग रमाएको दशैं छैन, लट्टे पिङ्ग र बास्ना आउने लुगाले ल्याएको दशै छैन, शुभम–सुव्रतलाई खेलाउँदै चङ्गा उडाएको दशै छैन ।

समयसँगै स्वाद फेरिएको दशै,
औपचारिकतामा जवर्दस्त रमाएको दशैं

गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }