तर्सो
आफ्नो सामान फिर्ता पाउने आशमा वर्षदिन बित्याे तर उसले पाउन सकेन। घरबाटै चोरी भएको सुनको सिक्रीको बारेमा प्रहरीले अनुसन्धान गर्याे । प्रहरीले पक्राउ गरेको चोर धरौटीमा रिहा भयाे र ऊ विदेश गयाे । चोरको मुद्दा वकिलले लडिरहेको थियो । चाेरी भएकाे माल फेला पर्दा र चोर पक्राउ पर्दा ऊ निकै खुसी थियो । यहाँको प्रशासन, अनुसन्धान, सुरक्षा, सिस्टमको बारेमा निकै विश्वास र भरोसा गरेको थियो ।
समय क्रमसँगै उसले सामान प्राप्तिका लागि भोग्नु परेको उल्झन र ढिला सुस्तीका कारण उसको दृष्टिकोण र सोँच बदलिएको थियो । उसको विश्वास र भरोसा टुटेको थियो । धाउँदा धाउँदै उसकाे सामान पाउने आशा पनि क्रमशः क्षिण हुँदै गएको थियो । ऊ बेला बखतमा तर्सन थालेको थियो ।
फैसलाकाे मिति सरिरहने तर सामान फैसला पछि मात्र फिर्ता हुने भएपछि ऊ निरास भएर फर्किन्थ्यो । मनमा आशा कम निराशा ज्यादा आइरहँदा ऊ विक्षिप्त बनेकाे थियो । उसले साेच्थ्याे,”हैन यार! बरू केही नभएको नङ्गा भएको भए ,न चोर, न अड्डा, न अदालत, न प्रहरी, न प्रशासन । बिहान ल्यायो बिहानै खायो । नपायो भने उपाय लगायाे । साला इमानदारीले काम गर्नेलाई किन तर्साउछ यो सिस्टम ?
यहाँ उत्थानहिन सुरक्षा छ । बरु विचौलिया बन्न पाएको भए नि हुन्थ्यो । न लगानी चाहीने, न जाेखिम ! आनन्दले कमिसन खायो, बस्यो । साला किन इमानदार भए हुँला !?
चोरले लगेको सिक्री नभेटिएको भए पनि हुन्थ्यो ! समय र सास्तीको बर्बाद त हुने थिएन । साला के गरूँ? के गरूँ ? न कोपर्न मिल्छ । न एक्लै पर्छान सकिन्छ !
कस्तो ठाँउमा ? कस्तो बेलामा ? कस्तो देशमा ? जन्मिएछुँ । हे भगवान !” ऊ एक्लै बरबराउँदै थियो । कसैको घरकाे पाल्तु कुकुर घाँटीमा साङ्लो सहित आएर उसलाई झम्टला जसरी भुक्यो। भ्याउ भ्याउ —भ्याऊ हुँ –! ऊ तर्सियो र भन्यो तर्सा साला कुकुर ! त पनि तर्सा इमानदारलाई नतर्साउने त को छ र ? यो प्राणको धर्सो रहुन्जेल सबैले तर्साइ रहन्छौ । तर्साउ साला कुकुरहरू सबैखाले …! उसले ढुंगा खाेज्न आँखा दाैडायाे तर चारैतिर धुलैधुलाे केवल विशाक्त धुलाे —!
-गाेपीराम भण्डारी ‘बटुवा’