बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुई दशकदेखि खानामार्फत पर्यटन प्रर्वद्धनमा रामकृष्ण पुडासैनी


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १६, २०८०
  • 565
    SHARES

विस २०३४ चैतमा काठमाडौँको तत्कालिन डाँछी गाविस वडा नं ५ (हालः कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४) मा बुबा स्वर्गीय गोपालप्रसाद पुडासैनी र माता स्वर्गीय शान्तादेवी पुडासैनीको जेठो छोरा रामकृष्ण पुडासैनी विगत २३ वर्षदेखि स्वदेश तथा विदेशका विभिन्न तारे होटलमा फुड एण्ड वेभरेज विभागमा रहेर काम गर्दै आउनुभएको छ ।

सुरुमा होटल व्यवस्थापन पर्यटन तालिम केन्द्र (एचएमटिटिसी) मा अध्ययन गरी सोही स्थानबाट होटल व्यवस्थापनमा तालिम समेत लिनुभएका पुडासैनी सुरुमा लि मेरिडियन होटल दुवईमा १० वर्ष काम गर्नुभएको थियो । सन् २०११ मा दुवईबाट नेपाल फर्कनुभएका पुडासैनीले नेपाल फर्केलगत्तै नेपालको पाँचतारे होटल ह्यात होटलमा आफ्नो काम सुरु गर्नुभयो ।

ह्यात होटल डेढ वर्ष काम गर्नुभएका उहाँले सो लगत्तै होटल द्धारिकामा काम गर्नुभयो । उहाँसँग १२ वर्ष द्धारिका होटलको फुड एण्ड वेभरेज विभागमा काम गरेको अनुभव छ । द्धारिका होटलमा काम गर्दागर्दै उहाँले बैँकक र भारतका विभिन्न तारे होटलमा हस्पिटालिटीको तालिम लिने मौका पाउनुभयो । हाल उहाँ एक वर्षदेखि मल्ल होटलको फुड एण्ड वेभरेज म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । आफ्नो जीवनको दुई दशकभन्दा बढी समय होटल क्षेत्रमा विताउनुभएका पुडासैनीसँग नेपालको पर्यटन क्षेत्र र होटल क्षेत्रको बारेमा गरिएको कुराकानीको सम्पादित अंश ।

नेपालमा पछिल्लोे पर्यटकीय गतिविधी कस्तो छ ?

नेपाल पर्यटकीय गन्तव्य भएको मुलुक हो । नेपालमा पर्यटक मुख्यतः प्रकृति र संस्कृति हेर्न आउने गर्दछन् । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म नेपालमा रहेको छ । यहाँ आउने पर्यटकमध्ये अधिकाशं पर्यटक पदयात्रामा जाने गरेका छन् । नेपालमा वार्षिक लाखौँ विदेशी पर्यटकहरु आउने गरेका छन् । कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन उद्योग विस्तारै लयमा फर्कँदै छ । सन् २०२० मा कोरोनाको कारण शुन्य अवस्थामा पुगेको नेपालको पर्यटन क्षेत्र सन् २०२३ को अन्त्यसम्म आउँदा सुधारात्मक अवस्थामा पुगेको छ । पछिल्लो समय पर्यटकीय गतिविधी सकारात्मक दिशामा अगाडि बढेको छ ।

होटलको अकुपेन्सी कस्तो छ ?

कोरोनाको समयमा शुन्यप्राय रहेको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कँदै छ । नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भएपनि पोखरा र भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा अधिकाशं बाह्य पर्यटक त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने गरेका छन् । नेपालको जुनसुकै क्षेत्रमा आउने पर्यटकपनि काठमाडौँ भएर जाने भएकाले तुलनात्मक रुपमा काठमाडौँका होटलहरु अहिले भरिएका छन् । गत वर्षको तुलनामा यसवर्ष होटलको अकुपेन्सी राम्रो हुँदै गएको छ । नेपालको पुरानो मध्येको एक पाँचतारे होटल मल्ल भएकाले पनि मल्ल होटलमा आउने पर्यटकको संख्या राम्रो नै मान्नुपर्छ । मल्ल होटलले क्यासिनोसमेत सञ्चालन गरेकाले क्यासिनोमा समेत विदेशी पाहुना आउने गरेकाले होटलको अकुपेन्सी राम्रो छ ।

कोभिड पछाडि मल्ल होटलको अवस्था कस्तो छ ?

मैले अघिपनि भनिसँके कोरोनाको समय भन्दा पछिल्लो समय नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किँदै गएको छ । संसारका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना महामारीले भयावह अवस्था लियो । सोही समयमा एक व्यक्तिले अर्को व्यक्तिलाई छुन समेत सक्ने अवस्था थिएन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको अवस्था थियो । तुलनात्मक रुपमा नेपालभन्दा विश्वका अन्य मुलुकमा कोरोनाको महामारी बढी हुँदा विदेशी पाहुना नेपाल आउने अवस्था बनेको थिएन । दुई वर्ष शुन्यप्राय अवस्थामा रहेको नेपालको पर्यटन क्षेत्र यसवर्ष आशालाग्दो अवस्थामा पुगेको छ ।

नेपालको ४९ वर्षे इतिहास बोकेको मल्ल होटलमा नयाँ व्यवस्थापन आएसँगै राम्रो हुँदै गएको छ । विगत चार वर्षदेखि केभिन मा मल्ल होटलको महाप्रबन्धक बनेसँगै पछिल्लो समय होटलले समेत राम्रो गति लिन थालेको छ । यहाँका कर्मचारीको समेत राम्रो व्यवस्थापन भएको छ । यस होटलमा पाहुनाका लागि १२५ कोठा रहेका छन् । पाँचतारे होटलसँगै क्यासिनोसमेत रहेको यस होटलको अवस्था कोरोनापछि यसवर्ष राम्रो भएको छ । यसलाई सन्तोषजनक नै मान्नुपर्दछ ।

तपाईँ लामो समयदेखि यस क्षेत्रमा संलग्न हुनुहुन्छ । नेपाली खानाको माध्यामबाट मुलुकको पर्यटन प्रवद्र्धनमा कस्तो योगदान गर्न सकिन्छ ?

राम्रो प्रश्न गर्नुभो । म यस क्षेत्रमा विगत डेढ दशकदेखि आवद्ध छु । विदेशी पाहुनालाई उनीहरुको देशको खानासहित नेपाली खानासमेत प्रदान गर्दै आइरहेका छौँ । नेपालमा थुप्रै जातजातीका मानिसहरु बसोबास गर्दै आउनुभएको छ । नेपालको टिपिकल खाना दाल भात र तरकारी भएपनि विभिन्न जातजातीको आ–आफ्नो खाना रहेको छ । जस्तै उदाहरणका लागि हिमाली क्षेत्रमा बस्ने थकाली जातीको आफ्नै खाना रहेको छ भने तराई क्षेत्रमा रहेका थारु चौधरीको आफ्नै खाना रहेको छ । काठमाडौँमा बस्ने नेवार समुदायको आफ्नै खाना रहेको छ । हामीले विभिन्न जातजातीको खानालाई समेत पर्यटकमाझ प्रदान गर्दै आइरहेका छौँ । नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजानका लागि नेपाली मेनुमा नेपाली खानालाई समेत समावेश गरेका छौँ । यसले गर्दा नेपाली खानाको माध्यामबाट समेत मुलुकको पर्यटन प्रवद्र्धन भइरहेको छ । भियतनाम, इटाली, बैँकक, इण्डिया, चाइनालगायतका विभिन्न मुलुकमा आफ्नो छुट्टै खानाको प्रवन्ध गरेका छन् र उनीहरुले सोही खानामार्फत पर्यटन प्रवद्र्धन गर्दै आएका छन् । नेपालले पनि आफ्नो खानामार्फत पर्यटन प्रवद्र्धन गर्न सक्छ ।

पछिल्लो समय नेपालमा खासगरी हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नीजि स्तरमा पनि धेरै कलेजहरु खुलेका छन् तर यति हुँदाहुँदै पनि नेपालका होटल क्षेत्रमा दक्ष जनशक्तिको अभाव कायम भएको सुनिन्छ कहाँ जान्छन् ती उत्पादित जनशक्ति ?

तपाईँले भनेजस्तो पछिल्लो समयमा नेपालमा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि नीजि स्तरमा कलेजहरु सञ्चालन भएका छन् । सुरुको समयमा नेपालको हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्तिको अभाव थियो । दक्ष जनशक्ति उत्पादन गर्नका लागि केही तालिमको व्यवस्था भएपनि पढाउनका लागि भने स्पेशल कलेजहरु थिएनन् । तर पछिल्लो समयमा नीजि स्तरमा कलेजहरु खुलेका छन् । यो सकारात्मक कुरा हो । पछिल्लो समयमा हस्पिटालिटी क्षेत्र पढेका धेरै युवाहरु स्वदेशमा काम नपाउने र विदेशमा गए धेरै पैसा आम्दानी गर्न सकिने उदेश्यका साथ वैदेशिक रोजगारीमा जान थालेका छन् । जसको कारण नेपालका होटल क्षेत्रमा जनशक्ति अभाव भएको हो । उनीहरु नेपालमा नै राम्रो आम्दानी गर्नसक्ने वातावरण निर्माण गरेको भए विदेश जानबाट रोकिन सक्थ्यो । दक्ष जनशक्तिलाई स्वदेशमै रोजगार दिलाउनका लागि तीनै तहका सरकारले विशेष नीति बनाएर कार्यान्वयनमा ल्याउन जरुरी छ ।

किन उनीहरुलाई नेपालमा उचित रोजगारी उपलब्ध गराउन सकिएन ?

मैले अघिपनि भनिसँके नेपालमा दिन प्रतिनिधी ठूला तारे होटलहरुसमेत खुल्दै गएका छन् तर दक्ष जनशक्ति भने राम्रो आम्दानी हुने आशमा विदेश गएका छन् । उनीहरुलाई राम्रो सेवा सुविधा र तलब दिएर स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्नुपर्छ । उनीहरुलाई नेपालकै हस्पिटालिटी क्षेत्रमा लगाउन सकिए देशको पैसा देशमै राख्न सकिन्थ्यो । यसबारे राज्यले सोच्नुपर्ने बेला आएको छ । कतिपय युवाहरु साथीको लहिलहिमा लागेर समेत विदेश गएका छन् । त्यस्ता युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्मााणमा होटलका लगानीकर्ता र राज्य लाग्नुपर्छ ।

दक्ष जनशक्ति रोक्न के गर्नुपर्ला ?

नेपालको हस्पिटालिटी क्षेत्रमा काम गर्नका लागि वार्षिक हजारौँ जनशक्ति उत्पादन हुँदै आएका छन् । उनीहरुलाई आवश्यक पर्ने तालिम प्रदान गरेर स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्नुपर्छ । नेपालमा पनि हस्पिटालिटी क्षेत्रको सम्भावना भएकोबारे उनीहरुलाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । आकर्षक तलब, सेवा सुविधा दिएर नेपालमै काम गर्ने वातावरण निर्वाह गर्नुपर्छ । यसका लागि राज्यले विशेष पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेपाली कलेजले हाल कस्तो जनशक्ति उत्पादन गरिरहेको छ ?

नेपालमा होटल क्षेत्रमा काम गर्नका लागि वार्षिक हजारौँ जनशक्ति उत्पादन गरिरहेको छ । तर दक्ष जनशक्तिको अभाव खड्किएको छ । उनीहरुलाई शिक्षा प्रदान गरेपनि प्रशस्त मात्रामा होटल तालिम नहुँदा काम गर्न समस्या परिरहेको छ । पढ्ने ठाउँमा तालिम प्रदान नगर्दा होटलमा गएर पुनः तालिम लिनुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण नयाँ उत्पादित जनशक्तिलाई तत्काल होटलमा काम लगाउन सक्ने अवस्था छैन । समस्या भएको छ ।

नेपालका तारे होटलले आफ्नो मेनुमा नेपाली परिकार राख्ने व्यवस्था गर्न के गर्नुपर्ला ?

एकदमै राम्रो प्रश्न गर्नुभयो । सबैभन्दा पहिले त नेपाल घुम्न आएका विदेशी पाहुनालाई नेपाली खानाको बारेमा बुझाउन जरुरी छ । मैले अघि नै भनिसकेँ नेपाल विभिन्न जातजाती भएको मुलुक हो । प्रत्येक जातीको आफ्नै खाना रहेको हुन्छ । उनीहरुको खानाको बारेमा विदेशीहरुलाई बुझाउनुपर्दछ । नेपालमा घुम्न जाँदा नेपाली खाना खानुपर्छ भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । जसको लागि होटल एशोसियशन अफ नेपाल (हान) लाग्नुपर्छ । हामीले तारे होटलका मेनुमा नेपाली खानालाई नै फोकस गर्नुपर्दछ ।

नेपाली खानाप्रति विदेशीहरुको रुची कस्तो पाउनुभएको छ ?

नेपाली खाना खानका लागि विदेशीहरुले विशेष रुची राख्ने गरेको पाईन्छ । नेपाल घुम्न आएको बेलामा नेपाली खाना नै खानुपर्छ भन्ने मान्यता धेरै पर्यटकहरुले राखेको पाउँछु । कुनैकुनै पर्यटक भने आफ्नै देशको खाना खान मन गरेका हुन्छन् । अघि नै भनेजस्तो नेपाल गएको बेलामा नेपाली खाना नै खानुपर्छ भन्ने सन्देश प्रवाह गर्नुपर्दछ । उक्त सन्देश दिने भनेको होटल एशोसियशन अफ नेपाल (हान) र होटल क्षेत्रमा कार्यरत सेफ्स तथा कर्मचारीकै हो ।

पर्यटकको बसाई लम्याउन र खर्च बढाउन के गर्नुपर्ला ?

विगत वर्षको तुलनामा पछिल्लो समय पर्यटकको औसत बसाई कमी आएको छ । उनीहरुको बसाईँ बढाउनका लागि सरकारले विशेष योजना ल्याउनुपर्दछ । एकपटक आएका पर्यटक पटकपटक नेपाल घुम्न आउने गरेका छन् । उनीहरुले पहिल्यै हेरेको कुराहरु फेरी हेर्न चाहदैनन् । सरकारले पर्यटकलाई नयाँपन दिन लाग्नुपर्छ । नयाँ नयाँ गन्तव्यस्थलको खोजी गर्नुपर्दछ । जसले गर्दा पर्यटकहरु नयाँ गन्तव्यस्थलमा गएर हप्तौँ विताउन सकुन् । पर्यटक जती बस्यो त्यति नै खर्च गर्ने क्षमतासमेत बढ्छ । यस्तै, सरकारले अन्तर्राष्ट्रिय हवाई भाडासमेत घटाउन पहल गर्नुपर्छ । नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्नुपर्छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }