उपलब्धि
खोकिलामा राखेको औँठी हराइन्— पवित्राले । आएको कोही पनि देखिएको होइन, कसैलाई दोष दिऊँ भने । भुलेर कतै राखेकी छु कि आफैमाथि शङ्का गरिन् उनले । कोठाका कुनाकुना छामिन्, अहँ पाउँदै पाइएन । लामो सुस्केरा हाल्दै पुर्पुरोमा हात राखेर बसिन् ।
चार दिनपछि मावलमा श्राद्ध थियो । उनी पनि श्राद्धमा गइन् । आफ्नो जस्तै औँठी उनले फुपूको औँलामा देखिन् । डरैडरले फुपूलाई सोधिन्— ‘‘यो औँठी राम्रो छ हगि !’’
‘‘अस्ति भर्खर गगनगहना घरबाट किनेको’’— फुपूले भनिन् । अरू सोध्ने आँट आएन उनलाई । भोलिपल्ट त्यही पसलमा पुगेर सोधपुछ गरिन् । पसलेबाट थाहा भयो त्यसको बिल पनि हराएकी रहिछन् उनले । बिलको साथमा बेहोसीले खसेको परिचय–पत्रको फोटोकपी टाँस्सिएर आयो । त्यसलाई पनि हेरिन् अनि उनी अवाक बनिन् । परिचय–पत्र अरू कसैको थिएन, उनले पुल्पुल्याएर हुर्काएको आफ्नै छारो मनिषको थियो ।
-युवराज मैनाली