काठमाडौँ- काभ्रेपलान्चोक जिल्लामा जारी अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पुन: बगाएपछि बिपी राजमार्ग मङ्गलवार साँझदेखि फेरि पूर्ण रूपमा बन्द भएको छ। सोमबार साँझ मात्र मर्मत गरेर आंशिक रूपमा सञ्चालनमा ल्याइएको यो सडक २४ घण्टा नबित्दै पुनः अवरुद्ध हुन पुगेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मङ्गलवार साँझ परेको भारी वर्षाले खोलामा पानीको सतह बढेपछि निर्माण गरिएका डाइभर्सनहरूमा क्षति पुगेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि सवारी आवागमनमा रोक लगाएको हो। यसअघि शनिवार पनि बाढीले सडक बगाउँदा यो राजमार्ग अवरुद्ध भएको थियो।सडक बन्द भएसँगै काठमाडौँबाट पूर्वी नेपालतर्फ जाने र पूर्वबाट राजधानी आउने सयौँ सवारी साधन तथा यात्रुहरू बिच बाटोमै रोकिएका छन्। प्रतिकूल मौसमका कारण सडक मर्मतमा समेत चुनौती थपिएको छ। प्रहरीले मौसममा सुधार आएपछि र सडक सुरक्षित भएपछि मात्र अर्को सूचनामार्फत यातायात सुचारु गरिने जानकारी दिएको छ।
प्रहरीले यात्रा तय गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आपत्कालीन अवस्थामा १०० वा १०३ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
