काठमाडौँ – प्रख्यात कथावाचिका राधिका दासीले पछिल्लो समय आफू र आफ्नो फाउन्डेसनमाथि लागेका विभिन्न गम्भीर आरोपहरूको कडा शब्दमा खण्डन गरेकी छिन्। अमेरिकाको कथा वाचन कार्यक्रम सकेर नेपाल फर्किए लगत्तै एक टेलिभिजन अन्तर्वार्तामा उनले यी आरोपहरूलाई ‘भ्रामक’ र ‘नियोजित’ संज्ञा दिँदै आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको बताएकी छिन्।
उनले आफूमाथि लागेका आरोपहरूका बारेमा दिएका मुख्य स्पष्टीकरण र भनाइहरू यस प्रकार छन्:
१. ‘अघोषित श्रीमान्’ को आरोप र पारिवारिक सम्बन्ध अभियन्ता वेदिका केसीले लगाएको ‘अघोषित श्रीमान्’ र ‘लिभ-इन रिलेसनसिप’ को आरोपलाई अस्वीकार गर्दै राधिका दासीले उक्त व्यक्ति आफ्नो पारिवारिक सदस्य भएको स्पष्ट पारेकी छिन्। उनले भनिन्, “उनले प्रमाणित गरुन् त्यो कुरालाई म पनि पर्खाइमा छु । मेरो आमाबुवा पनि आउनुभएको छ, कहाँ हुनुहुन्छ त त्यो व्यक्ति भनेर खोज्दै आउनुभएको छ । त्यो जो व्यक्तिलाई भन्दै हुनुहुन्छ उहाँ हाम्रो घर भित्रको मान्छे हो, पारिवारिक रिलेसन छ हाम्रो, मेरो दाजुको जेठान हुनुहुन्छ ।”
२. सम्पत्ति र भारतमा घर भएको दाबी भारतको पानी ट्याङ्कीमा ११ तले घर रहेको भन्ने आरोपको खण्डन गर्दै उनले आफू नेपाली नागरिक भएको र भारतमा त्यसरी सम्पत्ति जोड्ने कुरा निराधार रहेको बताएकी छिन्। उनले आर्थिक अवस्थाबारे टिप्पणी गर्दै भनिन्, “११ करोडको घर छ भनेर हुन्छ र? ११ करोड भए त म त आश्रमका छ वटा बिल्डिङ बनाएर राख्थे नि, मेरा बच्चाहरूलाई त भाडाको घरमा त राख्नु पर्दैन थियो ।”
३. शिक्षा र वृन्दावनको अध्ययन ६ महिना मात्र अध्ययन गरेर कथावाचिका बनेको भन्ने आरोपका सम्बन्धमा उनले आफूले वृन्दावनमा चार वर्ष बिताएर अध्ययन पुरा गरेको दाबी गरेकी छिन्। उनले भनिन्, “मैले नेपालमा कुनै पनि आश्रममा ६ महिना बसेर पढेको रेकर्ड छैन । म वृन्दावन नै गएको हो… चार वर्षमा बल्ल मेरो अध्ययन पुरा भएको हो ।”
४. फाउन्डेसनको पारदर्शिता र बजेट राधिका फाउन्डेसन र माया घरका नाममा आर्थिक अनियमितता भएको भन्ने प्रश्नमा उनले सबै कुरा पारदर्शी रहेको र अडिट रिपोर्टहरू स्पष्ट रहेको बताएकी छिन्। उनले भनिन्, “नेपालमा ३ करोड जनता छन्, सबैले आएर छर्लङ्ग हेर्न सक्नुहुन्छ किनभने यो मेरो व्यक्तिगत केही पनि होइन ।” बर्दियामा आश्रम बनाउन नसकिएको विषयमा उनले जग्गाको प्राविधिक समस्याका कारण ढिलाइ भएको र सङ्कलित रकम खातामा सुरक्षित रहेको स्पष्टीकरण दिएकी छिन्।
५. स्वास्थ्य समस्या र व्यक्तिगत लाञ्छना मञ्चमा कथा वाचन गरिरहँदाको व्यक्तिगत मर्यादाका विषयमा लागेको आरोपलाई उनले आफ्नो स्वास्थ्य समस्या (थाइराइड) सँग जोडेर स्पष्ट पारिन्। उनले भनिन्, “म विगत चार वर्षदेखि थाइराइड भन्ने समस्याले ग्रसित छु… जसको कारणले गर्दा समयमा (रजस्वला) हुँदैन । यो भ्रामक कुरा हो, मलाई डाक्टरले जाँच गरिराख्नुभएको छ, उहाँलाई थाहा छ म के समस्यामा छु ।”
कानुनी चुनौती र सरकारलाई आग्रह आफूमाथि लागेका आरोपहरूलाई कानुनी रूपमा पुष्टि गर्न चुनौती दिँदै उनले भनिन्, “उहाँहरूसँग जे प्रमाण छ कानुनी रूपमा जानुस् म फेस गर्न तयार छु ।” उनले सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या रोक्न सरकारसँग कडा कानुनको माग समेत गरेकी छिन्। उनले थपिन्, “चरित्र हत्या एउटा मान्छेलाई मारे भन्दा पनि बडो डरलाग्दो कुरा हुँदो रहेछ ।”
राधिका दासीले यस्ता विवादले आफ्नो कथा वाचनको तालिकामा कुनै असर नगरेको र आगामी एक वर्षसम्मका लागि कार्यक्रमहरू पहिले नै बुक भइसकेको समेत जानकारी दिएकी छिन्।
