काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मुलुकमा निम्तिएको बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै थापाले सङ्घीय सरकारलाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभयो । स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उहाँको तर्क छ । मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहले सार्वजनिक उत्सव र कार्यक्रम नगर्न थापाले निर्देशन दिनुभयो । अबको सम्पूर्ण ध्यान उद्धार, राहत सङ्कलन र वितरणमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सोमवारदेखि सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्ने भएको छ । फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाब दिइने उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल
