आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 39
    SHARES

काठमाडौँ – रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ ।

 

 

 

सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो । जैसीकाअनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि–स्ट्रेस्ड ब्रिज हो । बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्याधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाईमा उठेको उहाँले जानकारी दिनुभयो । पुल आफ्नो बियरिङमा बस्नुपर्ने भएपनि हाल स्टपरमा आएर बसेको उहाँको भनाई छ । यसका कारण पुलले डिजाइनअनुसारको भार वहन गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार पुललाई तत्काल चारैतिर ज्याक राखेर उचाली पुनः बियरिङमा सही स्थानमा राख्ने तयारी भइरहेको छ । यसका लागि गल्छी–बेत्रावती सडक आयोजनाले ठेकेदारसँग समन्वय गरेर आवश्यक प्राविधिक टोली खोजिरहेको उहाँले जानकारी दिनुभयो । पुल मर्मत नभएसम्म हालका लागि हलुका सवारीसाधन मात्र सञ्चालन गर्न दिने तयारी विभागको छ । पुलमा असन्तुलित रूपमा भार पर्दा स्टपरमा थप क्षति हुनसक्ने भएकाले भारी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको उहाँले बताउनु भयो । नुवाकोटको देवीघाटमा बेली ब्रिज निर्माण गरेर भारी सवारीसाधन सञ्चालनको वैकल्पिक व्यवस्था गर्नेबेलासम्म कोल्पुखोला पुललाई पनि उचालेर बियरिङमा पुनःस्थापना गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनु भयो ।

 

उहाँले भन्नुभयो, ‘यो ४० मिटरको प्रि–स्ट्रेस ब्रिज हो । त्रिशूलीबाट ब्याकफ्लो आयो, त्यसपछि बाढीको फ्लोका कारण पुलमाथि बेयरिङमा धेरै दबाब परेछ । यो पुल करिव ५००–६०० टनको होला, त्यसले पुललाई उचालिदिएछ । एकातिर धेरै उचालिएको छ भने अर्कोतिर निकै कम उचालिएको छ, त्यसैले पुल बाङ्गिएको छ । पुल बेयरिङमा बस्नुपर्नेमा स्टपरमा आएर बसेको रहेछ । अब यसलाई हामीले तुरुन्तै चारैतिर ज्याक राखेर उचाल्नुपर्छ । ब्रिज उचाल्ने मेकानिजम हुन्छ, त्यसका लागि हामीले कन्ट्र्याक्टरहरूसँग भेटेर आवश्यक प्रक्रिया अघि बढाउँछौँ । गल्छी–बेत्रावती योजनाले तुरुन्तै यसलाई उचालेर आफ्नो ठाउँमा बेयरिङमा प्लेसमेन्ट गर्नुपर्छ । त्यसपछि मात्रै यसले डिजाइनअनुसारको लोड लिन सक्छ । अहिले यसले अलिकति असुरक्षित तरिकाले लोड लिइरहेको छ । धेरै लोड प¥यो भने स्टपरमा असर पर्न सक्छ । त्यसैले अहिले यसलाई सीमित रूपमा, लाइट भेहिकलका लागि मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ । देवीघाटमा बेली ब्रिज बनेर हेभी भेहिकल आउन थाल्ने बेलासम्म यो पुललाई उचालेर आफ्नो स्थानमा राखिसक्नुपर्छ । यसका लागि आवश्यक टोली खोज्छौँ, नेपालमा पुल उचाल्ने कामका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध छन् भने उनीहरूलाई परिचालन गर्छौ नभएमा भारतबाट ल्याएर भएपनि पुल उचाल्नुपर्छ ।’
उहाँले गल्छी–स्याफ्रुबेसी बेत्रावती सडकखण्ड पनि दुईहप्ताभित्र सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको बताउनु भयो । बाढीका कारण करिब ४० किलोमिटर सडक वासआउट भएको छ । नुवाकोटको सदरमुकाम विदुरभन्दा माथि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये चारदेखि पाँच किलोमिटर सडक त्रिशूली नदीमा मिसिएको उहाँले जानकारी दिनुभयो । बगेको सडकखण्डमा तत्काल अस्थायी रूपमा सडक सञ्चालन गर्ने उपाय खोजेर काम अघि बढाइएको उहाँको भनाई छ । उहाँले रसुवाको सदरमुकाम धुञ्चे जोड्ने वैकल्पिक मार्ग पहिचान गरिएको जानकारी दिनुभयो । बेत्रावतीतर्फबाट धुन्चे जोड्ने वैकल्पिक बाटो पहिचान गरिएकोले सो मार्ग सञ्चालनमा ल्याउने तयारी भएको उहाँको भनाई छ । तर मैलुङ–स्याफ्रुबेसी खण्डमा भने तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको बिदुरभन्दा माथि बेत्रावतीसम्म करिव १० किलोमिटर सडक खण्डमध्ये ४–५ किलोमिटर सडक पूर्ण रूपमा त्रिशूलीमा गएर मिसिएको अवस्था छ । त्यहाँ हामीले वीपी हाइवेमा जस्तै सडकलाई सडकबाटै सञ्चालन गर्ने अथवा अन्य कुनै वैकल्पिक व्यवस्थाबाट सञ्चालन गर्ने भन्ने विषयमा काम गरिरहेका छौँ । त्यहाँ रनिङ कन्ट्रयाक्टर पनि हुनुहुन्छ । उहाँहरूसँग समन्वय गरेर सडक सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । अहिलेको अवस्था हेर्दा करिब दुई हप्ताको लक्ष्य लिएर हामी काम गरिरहेका छौँ । त्यसको अलावा धुन्चे जोड्नका लागि हामीले अर्को वैकल्पिक बाटो पहिचान गरेका छौँ । अहिले मैलुङतिर जाने अवस्था छैन । मैलुङ–स्याफ्रुबेसी खण्ड पनि सञ्चालन गर्न सकिने अवस्थामा छैन । त्यसैले अहिले धुन्चेलाई जोड्ने गरी बेत्रावतीतिरको सडक खण्ड छिट्टै खुलाउने तयारी गरिरहेका छौँ ।’
चीनको तिब्वतबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । सडक विभागले क्षतिको यकिन विवरण निकाल्न सकेको छैन । विभागले प्रारम्भिक चारण्मा कम क्षति भएका संरचनालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ । यस्तै तत्काल सञ्चालन गर्न नसकिने सडक तथा पुलको लागि वैकल्पिक सडकमार्ग पहिचान गर्ने काम भईरहेको विभागले जनाएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)